सुरु भयो बालकुमारी

ललितपुर — नागको प्रतीकस्वरूप ५४ हात लामो लिंगो ठड्याउँदै सुनागुथिमा बुधबार बालकुमारी जात्रा सुरु भएको छ । लिंगो ठड्याउँदा इन्द्र गुठीयारहरूले बालकुमारी मन्दिर परिसरमा इन्द्र बाजा बजाए । चैत शुक्ल त्रयोदशीदेखि तीन दिन मनाइने जात्रामा बालकुमारीलाई इष्ट देवताका रूपमा पुज्छन् । 

सुरु भयो बालकुमारी

जात्राकै लागि भृगारेश्वर महादेव मन्दिर परिसरमा रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । बालकुमारी गुठीका जनकराज महर्जनका अनुसार लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र बिमिरो राख्ने चलन पुरानै हो । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित प्राचीन थान्का सजाउने चलन पनि छ ।


पूर्णिमाको दिन यो जात्रा निकै रोचक हुन्छ । गुठीकै पुणिराज महर्जनका अनुसार यस दिन लिंगोको टुप्पोमा राखिएको बिमिरो प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । त्यसैले बिमिरो खोस्न स्थानीयबीच तँछाडमछाड चल्छ । सुनागुथिमा १ हजार १ सय ४९ घरधुरी छन् । लिंगो ठड्याउन प्रत्येक वर्ष छुट्टाछुट्टै टोलको पालो हुन्छ । यस वर्ष च्वःकेबः टोलबासीको पालो हो । च्वःकेबः टोलका ८० वर्षीय सानुबाबु महर्जन ब्याङला आजु गुठीका थकाली हुन् । यस वर्ष उनको नेतृत्वमा लिंगो ठड्याइएको छ ।


जात्राको दोस्रो दिन बिहीबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिर बाहिर ल्याइन्छ । पूजा गरेर गरगहनाले सजाइन्छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी बाजागाजासहित नगर परिक्रमा गरिन्छ । महर्जनका अनुसार जात्रामा गणेश र कुमारको खट बालकुमारी पीठमा लानुपर्छ, यो पारिवारिक मिलनको प्रतीक हो । ‘आमाबुवालाई सेवा गर्नु भनेको संसारको सबै तीर्थ घुम्नुसरह भएको सन्देश दिन्छ जात्राले,’ उनले भने । अन्तिम दिन छ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । यो जात्राको मुख्य आकर्षण मानिन्छ ।


सिद्धिपुरबासीले पनि बालकुमारी जात्रा मनाइरहेका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन बुधबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराइयो ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?