१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मनिषाकाे सगरमाथा आधार शिविर अनुभव – 'पृथ्वीमै स्वर्ग देखें'

काठमाडौँ — अभिनेत्री मनीषा कोइरालाले नेपालदेखि बलिउड पुगेर करिअरको शिखर चुमिन् । क्यान्सरसँगको लडाइँ पनि जितिन् । ४८ वर्षीया कोइरालाले जिन्दगीमा धेरै संघर्ष गरेर सफलता हात पारिन् । यस पटकको उनको सफलता केही फरक रह्यो ।

मनिषाकाे सगरमाथा आधार शिविर अनुभव – 'पृथ्वीमै स्वर्ग देखें'

शारीरिक र उमेरका कारण चुनौतीपूर्ण अवस्थामा पनि सगरमाथा आधार शिविरसम्मको आठदिने पैदलयात्रा गरी उनी हालै फर्केकी छन् । बिहीबार उनले पत्रकार सम्मेलन गरी आफ्ना अनुभव साझा गरिन् ।


धेरै समय उनी विदेशमै रहिन् । जहिले पनि मनमा आफ्नो देश कहिले हेर्न पाउँछु होला भन्ने लागिरहन्थ्यो । ‘मेरा साथीहरू, विदेशीहरूले नेपालको ट्रेकिङ गरेर आएर सुनाउँथे । आफूलाई भने कहिले जान पाउँला भन्ने लागिरहन्थ्यो । यसपालि मेरा स्कुले साथीहरूले सगरमाथा बेसक्याम्प जाने प्रस्ताव राखे,’ मनीषाले भनिन् ।


यस्तो प्रस्तावले उनमा अलिकति उत्साह अनि अलिकति डर पनि मिसिएको थियो  स्वास्थ्यका कारण । ‘यस्तो अवस्थामा सम्भव होला र भन्ने लाग्यो । तर मौका छोड्न चाहन्नथें,’ केटाकेटी बेलादेखि नै सगरमाथा जाने कल्पना गर्ने गरेको सुनाउँदै उनले भनिन्, ‘एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले एउटा टेन्ट बीपी (कोइराला) बालाई दिनुभएको थियो । हामीले बनारसमा त्यसलाई छतमा हाल्थ्यौं । त्यो बेलादेखि नै मेरो मनमा सगरमाथाको तस्बिर बसेको थियो, एक दिन हेर्छु भन्ने लागेको थियो ।’


यस पटक भने मनीषा सगरमाथा हेर्ने भनेरै चैत २३ मा लुक्ला उडिन् । लुक्लादेखि आठ दिनको ट्रेकिङमा सगरमाथा आधार शिविर पुगेकी उनले त्यहाँ सगरमाथा मात्रै देखिनन् । भनिन्, ‘यस्तो अद्भुत दृश्य हेर्‍यौं, आहा, कति राम्रा हिमाल, पहाड अनि खोला ! पहिले मैले रातो गुराँस मात्रै देखेको थिएँ, यसपालि गुलाबी, सेतो रंगका थुप्रै गुराँस देखें । धेरै सिक्न पाएँ । त्यहाँको शेर्पा संस्कृति, स्थानीयको इमानदारिताबाट पग्लिएँ ।’


आफू एक्लो ज्यान लिएर हिँड्नसमेत हम्मेहम्मे परेका बेला ठुल्ठूला भारी बोकेर पनि ठमठम्ती हिँड्ने शेर्पा दाजुभाइको सामर्थ्य देखेर छक्कै परेको मनीषाले सुनाइन् । ‘उहाँहरू त ठूलो उपहार हो हाम्रा लागि । मलाई गर्व छ, म पनि यही देशको एक हिस्सा हुँ,’ मनीषाले शेर्पा समुदायका लागि केही गर्नुपर्ने भन्दै कारण खुलाइन्, ‘किनभने उहाँहरूले नै देखाउने हो हाम्रा हिमाललाई, उहाँहरूले नै विदेशीसमक्ष बुझाउने हो ।’


नेपालकै भएर पनि मनीषाले ट्रेकिङमा नेपाली कम विदेशीचाहिँ बढी देखिछन् । उनले नेपालीलाई आफ्नै देशका मनोरम दृश्य हेर्न अनुरोध गर्दै भनिन्, ‘तब न थाहा हुन्छ, हामी कति भाग्यमानी छौं, हामीले कति धेरै प्राकृतिक वरदान पाएका छौं भनेर ।’ सगरमाथा क्षेत्रका हरेक दृश्यले मन छोएको उनको अभिव्यक्तिमा स्वतः झल्किन्थ्यो । ‘मेरो मनको भोगाई अहिले देखाउन त सक्दिनँ । तर हामीले यस यात्राको डकुमेन्ट्री पनि बनाउने छौं । विश्वभर देखाउने छौं । सायद त्यसले पनि धेरैको मन छुन सक्छ,’ मनीषाले भनिन् ।


उनले एक विदेशीलाई यात्राको अनुभव सोधेकी रहिछन् । ‘उहाँले यात्रा कठिन तर हरेक पाइला वजनदार भएको प्रतिक्रिया दिनुभयो,’ मनीषाले भनिन् । त्यसो त मनीषाका अनुभव पनि कम छैनन् । ‘यदि पृथ्वीमा नै कतै स्वर्ग छ भने त्यो मैले देखें । जब म फर्केर आएँ । ममीले मलाई तिमीप्रति गर्व छ भन्नुभयो । मैले पनि उहाँलाई साँच्चै यति बेला म आफैंप्रति गौरवान्वित छु ममी भनें,’ भनिन्, ‘त्यहाँ पुगेपछि मलाई असम्भव भन्ने केही चिज नै छैन भन्ने लाग्यो ।’


उनले सगरमाथा क्षेत्रका स्थानीय सुन्दरतामा कोही भन्दा कम नभएको तर्क गर्दै भनिन्, ‘आन्तरिक रूपमा उहाँहरूको इमानदारिता, माया एकदमै सुन्दर पाएँ ।’ तर पानी, स्वास्थ्य र सुरक्षाको अभाव भने त्यहाँका बासिन्दाले भोग्दै आउनुपरेको भन्दै मनीषाले यसका लागि केही गर्नुपर्नेमा सरकारको पनि ध्यानाकर्षण गरिन् ।


अब बर्सेनि कुनै न कुनै ट्रेकिङमा निस्कने संकल्प गरेकी यी अभिनेत्रीले अबको योजना अन्नपूर्ण आधार शिविर जाने रहेको बताइन् । आफ्नो ट्रेकिङलाई आध्यात्मिक यात्रा भन्न रुचाएकी मनीषाले थपिन्, ‘यो यात्राले मलाई धेरै सिकायो । एक पटकमा एक पाइला मात्रै चाल्न सिकायो । गन्तव्य ठूलो हैन, यात्रा महत्त्वपूर्ण हो, यसमा मज्जा लिन सक्नुपर्छ भन्ने सिकायो ।’

प्रकाशित : वैशाख ६, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?