२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पानी माग्दा मोही दिने...

कुम्भराज राई

ओखलढुंगा — चार दिनदेखिको झरी र हावाहुरीले मौसम खुलिरहेकै थिएन । बुधबार मौसम खुलेपछि भने ओखलढुंगा महोत्सवमा दर्शक आउने क्रम बढ्यो । त्यतिखेरै स्टेजमा लोक दोहोरी गायक नवीन पौडेल देखिए ।

‘मुसुमुसु हाँस्यौ मानिछौ र कि सरम, हाई भनौं कि गुड गरम...’ गाउँदै उनी स्टेजमा उक्लिनेबित्तिकै दर्शकले हुटिङ सुरु गरे । ‘बहिनी कति जाति, पानी माग्दा मोही दिने, एक्लै हुँदा रोइदिने...’ बोलको गीतसँगै उनले दर्शकलाई जुरुक्क उचाले । पाँच दिनदेखिको मौसमले साथ नदिएर निराश बनेका दर्शकसमेत पौडेलको साथमा रमाए ।


उनले चोटिलो व्यंग्यसहितको लोक गीतमा सँगसँगै गाएर दर्शकले साथ दिए । ‘पल्ला घरका जेठाजुले आईए बीए पढ्छन्, हाम्रा घरका त भर्‍याङ चढदा लड्छन । के सम्झिनु छ र, जान्न म त त्यो घर...’ जस्ता शब्दका कारण उनले वान्समोर पाए । ‘जोगाउनै गाह्रो फुलेको तोरीलाई, बैंस आको छोरीलाई, मन परेरै हो...’ लगायतका गीत उनले गाए ।


त्यसैगरी, अर्का गायक प्रकाश कटवालले स्टेजलाई थप तताए । छिमेकी जिल्ला रामेछापकै गायक भएकाले पनि उनलाई दर्शकले कुरेर बसेका थिए । ‘फूल फुल्यो केशरी...’ गीतबाट स्टेजमा प्रवेश गरेका उनले आफ्ना लोकप्रिय गीतहरू, ‘ढाडे बिरालो...’, ‘सुन्दर रामेछाप...’ लगायत गरी आधा दर्जन गीत गाए ।


कटवालसँगै दर्शक पनि पसिनापसिना भए । चैत ३० देखि सुरु भएको ओखलढुंगा महोत्सवमा दिनहुँ राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिएरहेका छन् । हालसम्म शिव परियार, नवीन ढुंगेल, खुमन अधिकारी, बालकुमार श्रेष्ठ, हेमा राना मगर, हास्य कलाकारद्वय बले, कक्रोजलगायत गरी दर्जनौंले प्रस्तुति दिइसकेका छन् । वैशाख १० सम्म चल्ने महोत्सवमा थुप्रै कलाकारको प्रस्तुति बाँकी रहेको आयोजक ओखलढुंगा उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?