कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रंगमञ्चमा मीटू : सहकर्मीमाथि यौनहिंसाको आरोपमा कारबाही

काठमाडौँ — रंगमञ्चमा महिला सहकर्मीमाथि यौनहिंसा गरेको आरोप खेपेका दुई रंगकर्मीलाई सम्बन्धित संस्थाले कारबाही गरेको छ । वान वर्ल्ड थिएटरका राजकुमार पुडासैनी र मन्डला थिएटरका राजन खतिवडालाई जिम्मेवारीबाट मुक्त गरिएको हो ।

यस्तै आरोप खेपेका आरोहण गुरुकुलका प्रमुख सुनील पोखरेलका विषयमा भने गुरुकुलले आफ्ना धारणा सार्वजनिक गरेको छैन ।


रंगकर्मी अनु दाहालले वान वर्ल्ड थिएटरको नाटक ‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ को रिहर्सल क्रममा उक्त नाटकका निर्देशक राजकुमार पुडासैनीले आफूलाई शारीरिक तथा मानसिक यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । निर्देशक पुडासैनीले रिहर्सलका क्रममा कलाकारबाट पर्याप्त काम लिन विभिन्न गतिविधि गर्नुपर्ने भए पनि आफूले यौनजन्य गतिविधि नगरेको जिकिर गर्दै आएका थिए ।


कलाकार अनुले आफू यौनहिंसाबाट पीडित हुनुपरेको घटनाहरू सार्वजनिक गरेपछि वान वर्ल्ड थिएटरले निर्देशक पुडासैनीलाई एक वर्षसम्मका लागि ‘सुधारवादी निलम्बन’ मा राखिएको जनाएको छ । वान वर्ल्डकी संस्थापक निर्देशक समेत रहेकी अमेरिकी रंगकर्मी डेबोरा मेरोला र प्रबन्ध निर्देशक सुश्रुत आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै निर्देशक पुडासैनीलाई एक वर्षसम्म कुनै पनि निर्देशन वा प्रशिक्षणको कामबाट हटाइएको उल्लेख गरिएको छ । साथै, उनलाई वान वर्ल्डको आगामी उत्पादन ‘ब्रिफ क्यान्डल’मा समेत कुनै पनि हैसियतमा नरहने गरी हटाइएको छ । ‘यस अवधिमा काम दिनुपरेमा कम्पनीका वरिष्ठ निर्देशकको सूक्ष्म निगरानीमा केवल कलाकारका रूपमा मात्रै राखिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।


मण्डला नाटक समूहका महासचिवसमेत रहेका रंगकर्मी खतिवडालाई पनि आइतबार उनी सम्बद्ध संस्थाले एक वर्षका लागि जिम्मेवारीमुक्त गरेको छ । संस्थाकी अध्यक्ष सृजना सुब्बाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘खतिवडाविरुद्ध आरोप आएको सन्दर्भमा स्वयंले आफूबाट अञ्जानमा गल्ती भएको हुन सक्ने बताउँदै आत्मालोचना गरी घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहेर सामाजिक नैतिकताका आधारमा राजीनामा दिएका कारण उनलाई एक वर्षका लागि पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।’


मण्डलाले सहकर्मी महिलामाथि यौनजन्य हिंसा भएका घटना उजागर भइरहँदा घटनाको छानविन र आवश्यक कारबाही गर्दै त्यसका लागि बृहत् छलफल गर्नसमेत संस्था तयार रहेको उल्लेख गरेको छ ।


वान वर्ल्डले भने अनुचित व्यवहार अनुभव गरेका महिलाहरूसँग समेत प्रत्यक्ष कुराकानी गरेका आधारमा पुडासैनीले पहिलेदेखि नै महिला सहकर्मीमाथि अनुचित व्यवहार गर्ने गरेको र मानसिक तनाव दिने निष्कर्ष निकाल्दै दुराचारयुक्त तथा पदको दुरुपयोग भएको उल्लेख गरेको छ । पुडासैनी वान वर्ल्डका सहनिर्देशकसमेत हुन् ।


वान वर्ल्डले आफ्नो संस्थामै रहेर काम गर्दा कलाकार दाहालले दुर्व्यवहार भोग्नुपरेको र काम गर्दा असहज स्थिति वा अनुचित व्यवहारको महसुस गरेका सबै पीडितप्रति क्षमायाचनासमेत गरेको छ । पछिल्लो साता रंगकर्मी अनु दाहालले खुला रूपमै आफू पुडासैनीबाट यौनहिंसा व्यहोर्नुपरेको बताएकी थिइन् भने अन्य महिला कलाकारले आफ्नो परिचय लुकाएरै पीडकका व्यवहार उदांगो पारिदिएका थिए ।


यस घटनालाई यति बेला रंगमञ्चमा मीटू अभियानका रूपमा हेरिएको छ भने यौनहिंसाजन्य अन्य गतिविधिबारेमा पनि पीडितहरूले विस्तारै मुख खोल्न थालेका छन् । घटनाबारे ‘शुक्रबार’ साप्ताहिकले समाचार प्रकाशन गरेको थियो । गुरुकुलले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?