१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नुवाकोटमा सिन्दुरे जात्रा

कृष्ण थापा

नुवाकोट — पृथ्वी नारायण शाहले नुवाकोट जितेको खुसियालीमा सुरु गरेको सिन्दुरे जात्रा अझै पनि निन्तर छ । पुरानो सदरमुकाम नुवाकोटको भैरवीथानमा जात्रा सम्पन्न भएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि सिन्दुरे जात्रा सुरु भएको थियो ।

नुवाकोटमा सिन्दुरे जात्रा

‘नुवाकोट जित्यौ भन्ने सन्देश दिन देवीको जात्रासँगै सिन्दुर जात्रा गरेको इतिहास छ,’ शाहीले भने । जात्राअन्तर्गत विदुर नगरपालिका– ५ देवीघाटस्थित जालपादेवी मन्दिरबाट शनिबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमातृका, बाह्रभाइ गणको मुकुटसहितको खट भैरवीथानमुनि धारपानीमा बिसाउने चलन छ ।


आइतबार साइत हेरेर अपराहृन ३ बजेको समयमा गुभाजुले धामी र धमिनीलाई पूजाविधि गरे । सेनाले सलामी अपर्ण गरे । सरकारी पदाधिकारीसहित सेनाको ब्यान्ड बाजा, देवीको बजाइने बाजा, धिमे बाजासहित शक्ति पीठ भैरवीको खट, धामीधमिनीसहित भैरवीथान पुर्‍याए ।


कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामीधमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए । त्यसपछि राजप्रतिनिधि शाहीले धामी र धमिनीलाई सिन्दुर छरेर सिन्दुर जात्रा गरे । जात्रालुलाई सिन्दुर छर्किने, गाजल र सिन्दुरको टीका लगाउने चलन छ । जात्रा अवलोकन गर्न प्रदेश ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश सांसद उच्च पदस्थ पदाधिकारी उपस्थित थिए ।


भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित धामीलगायत झल्दरी छाता ओढाएर भैरवीको खट अघि लगाई साततले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । राजप्रतिनिधि शाहीको निवासमा हाँस बलि गर्दै भत्किएको पाँचतले तुलजा भवानीको प्रांगणमा सेनाले सलामी अर्पण गरे ।


धामी, धमिनी र गणेश र कुमारलाई तुलजा भवानीका उपासेहरूले भोज खुवाए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीको खट र धामी भैरवी मन्दिर प्रांगण लामपाटी राखिएको छ । सिन्दुर जात्रा गरेपछि काठमाडौंको वसन्तपुरबाट कँडेलचोक भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा एक रात बसेर फर्किएर लिंगो ढालेपछि १७ वैशाखमा सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?