१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पश्चिमी बाजा, नेपाली धुन

काठमाडौं — संगीतको कुनै निश्चित भाषा र सिमाना हुँदैन । यो एउटा कला हो, जसले सबैको भावना समेट्न सक्छ । होटेल तिब्बत बौद्घमा स्वदेशी तथा विदेशी कलाकारहरूको संयुक्त अर्केस्ट्रा सांगीतिक प्रस्तुतिले संगीतको यस्तै परिभाषा दिइरहेको थियो भने साँझको झरीको मौसमलाई नै चुनौती दिँदै स्वदेशी तथा विदेशी कलाकारहरूको एकसाथको संगीतिक धुनले माहौल भिन्न बनाएको थियो ।

पश्चिमी बाजा, नेपाली धुन

रोचक भने भायोलिन, चेलो, भियोला जस्ता पश्चिमी बाजाबाट निस्केको गोपाल योञ्जनको सदाबहार गीत ‘च्याङबा होई च्याङबा...’को धुनमा भाषा नबुझे पनि कुम हल्लाउँदै रमाउनेहरू थुप्रै थिए ।

कार्यक्रममा स्वदेशी समूहलाई कन्डक्ट गरिरहेका ‘काठमाडौं स्ट्रिङ आन्सम्बल’ का संस्थापक सदस्य सञ्जय श्रेष्ठ अर्केस्ट्रा संगीतमा विदेशी धुन मिश्रण हुँदा अझ राम्रो धुनको आनन्द लिन पाउने बताउँदै थिए । ‘कोलाब्रेसनमा पहिलोपल्ट काम गर्दा म्युजिकको मेलोडी, टोन र नयाँ क्रिएसन आइरहेको छ । यसबाट दुवैतर्फको आइडियासमेत सेयर भइरहेको छ,’ उनी भन्दै थिए ।

‘भिभाल्डिज ग्लोरिया’ नाम दिइएको सांगीतिक साँझमा ‘काठमाडौं स्ट्रिङ’ समूह र ‘बौद्घ कम्युनिटी कोराल’ विदेशी समूहले संयुक्त रूपमा धुन सुनाउँदै गर्दा विदेशी अर्केस्ट्रा संगीतको धुनलाई अमेरिकी सेरल लेभिनले कन्डक्ट गर्दै थिइन् । कोराल समूहले एक वर्षदेखि नेपालमा नै समूह गठन गरेर अर्केस्ट्रा प्रस्तुति दिँदै आइरहेको छ ।

१२ औँ शताब्दीबाट विकास भएर १६ औँ शताब्दीतिरको पश्चिमी प्राचीन संस्कृतिलाई समेट्ने अर्केस्ट्रा संगीत मूलतः धुनप्रधान हुन्छ । भायोलिन, चेलो, डबल, भियोलाजस्ता बाजाहरूको संयोजनबाट निस्कने मधुर धुन आफैमा मनमोहक हुन्छ । संयुक्त प्रस्तुतिमा भने विदेशी समूहले धुनसँगै आवाजमार्फत थप रौनकता दिने कोसिस गरेको थियो । कोराल समूहका १६ जनाले ल्याटिन भाषामा नै गाएका गीतहरूसँगै त्यही समूहले बजाएका बाजाबाट निस्केका पश्चिमेली शैलीका धुनहरूमा संगीत पारखीहरू मन्त्रमुग्ध भएका थिए । त्यसरी नै गोपाल योञ्जनको रचना रहेको ‘च्याङ्बा होई च्याङ्बा...’ बोलको गीतमा स्ट्रिङ समूहका ८ जनाले बजाएको नेपाली अर्केस्ट्रा धुनमा विदेशी दर्शकको तालीले हल गुन्जयमान भएको थियो ।

‘संगीतको लागि कुनै भाषा बुझ्नुपर्छ भन्ने छैन । यसमा उत्पन्न हुने धुनले सबैको मस्तिष्कलाई छुन्छ,’ काठमाडौं स्ट्रिङका सदस्य बिनेस डंगोल भन्छन,् ‘पूर्वीय र पश्मिेली दुवैको संगीत संयोजनले अर्केस्ट्राको छुट्टै विशेषता झल्काएको छ ।’ कार्यक्रमको दुई घण्टा अवधिसम्म कार्ल जङिन्ज, थोमस मर्ली, गोपाल योञ्जन, रमिन डिज्वाडी, बेन्ज, जस्टिन पल आदिका रचनाहरूमा २० वटा अर्केस्ट्रा संगीतको धुन प्रस्तुत गरिएको थियो । ‘हाम्रो नेपाली अर्केस्ट्रा संगीतमा वेस्टर्न क्लासिकल शैलीमा धुन बन्दा अलिक केही नपुग भएको जस्तो हुन्छ,’ सञ्जय भन्छन्, ‘वेस्टर्न गीतहरूमा अर्केस्ट्राका बाजाहरूको प्रयोग गरिएका हुन्छन् भने नेपाली गीतहरूमा बढी मेलोडीलाई फोकस हुन्छ ।’

नेपालमा अर्केस्ट्रा संगीतको त्यति विकास नभइरहेको अवस्थामा यस्तो कोलाब्रेसनमा हुने कार्यक्रमले नेपाली संगीत चिनाउन निकै सहयोग पुर्‍याउने काठमाडौं स्ट्रिङ समूहकै भायोलिन वादक विकेश केसी बताउँछन् । उनका अनुसार अहिले यसमा खासै दर्शक छैनन् । यसमा बन्ने टोनमा जति रस छ, त्यो दर्शकले बुझ्न सकेका छैनन् । यस्ता खाले सहकार्यले दुवै पक्षको विचार र कला आदानप्रदान हुने उनको कुरामा सही थप्दै समूहकै भायोलिनावादक मनिकराज महर्जन बताउँछन् ।

प्रकाशित : वैशाख ११, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?