कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नयाँ प्रतिभा, पुरानो स्वर

काठमाडौँ — मञ्चमा स्वरसम्राट नारायण गोपालको गीत ‘प्रियसीका यादहरू...’ जब गुन्जियो, संगीत पारखीले भरिभराउ हल सुनसान बन्यो । एकतमासले गीतको लय र तालमा डुबेका सबैले स्वरसम्राट सम्झे ।

गीतलाई दुरुस्तै प्रस्तुत गरिरहेका थिए, गायक तथा तबलावादक नगेन्द्रराज न्यौपाने । सिर्जना कलेज अफ फाइन आर्टसले राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गरिरहेको कला प्रदर्शनीअन्तर्गत बुधबार गायक तथा तबलावादक न्यौपानेले प्रस्तुत भएका हुन्, उनले नारायण गोपाललगायत अन्य ८ अग्रज स्रष्टाका गीत प्रस्तुत गरे ।


उनले ७ वटा गीत एकल सुनाए भने नारायण गोपाल र तारा देवीको स्वर रहेको ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो...’ चाहिँ गायिका सुजाता वर्मासँग गाए ।


‘सदाबहार नेपाली गीतहरूको जति चर्चा र सम्झना गरिन्छ, त्योभन्दा बढी चर्चा स्वरसम्राट नारायण गोफालको हुन्छ,’ कार्यक्रममा अथिति वत्ताको रूपमा रहेका प्रकाश सायमीले स्वरसम्राट सम्झँदै भने । उनका अनुसार ६० को दशकबाट छाएको नेपाली आधुनिक गीतसंगीतमा धेरै परिवर्तन र विकास भयो । धेरै कलाकारहरू जन्मिए तर गीतमा रहेको शब्दको मिठास भने अझै ‘साइला–साइली’ र कान्छा–कान्छी’ मा नै बसेको छ ।


कार्यक्रममा न्यौपानेले गोपाल योञ्जनको ‘बनेको छ, पहराले यो छाती मेरो...’ प्रेमध्वज प्रधानको ‘गोरेटो त्यो गाउँको...’ अम्बर गुरुङको ‘जिन्दगीको के कुरा, यो सपना हो...’, फत्तेमानको ‘मर्न बरु गाह्रो हुन्न...’ अरुण थापाको ‘चोट के हो, व्यथा के हो...’ जस्ता कालजयी गीत सुनाइरहँदा दर्शक मन्त्रमुग्ध बनेका थिए । न्यौपाने भने आफूले स्रष्टाहरूको गीत गाइरहँदा ‘न्याय दिन नसक्ला कि’ भन्ने डर लागेको बताए ।


अतिथि गायकको रूपमा शैलेश सिंहले नारायण गोपालकै गीत ‘ए मलाई माया गर्छु भन्ने हजुर...’ र ‘तिम्रो जस्तो मुटु मेरो...’ गाउँदा पनि दर्शकबीच मौनता छाएको थियो । सिंहको प्रस्तुतिमा तबलामा गायक न्यौपाने सघाएका थिए ।


उनको प्रस्तुतिमा भने तबलामा डङनदास चौधरी र गितारमा योगेनमान गार्खालीले साथ दिए । बिहीबारसम्म चल्ने कला प्रदर्शनीअन्तर्गत अन्तिम दिन कलाकार सौरगंगा दर्शनधारीको ‘पर्फमेन्स आर्ट’ प्रस्तुति रहनेछ ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?