इन्डोनेसियामा नेपाली कला

काठमाडौँ — केही साताअघि मात्रै ठमेलस्थित मिथिला येँ ग्यालरीले तीन दर्जन भारतीय चित्रकारका सिर्जना प्रदर्शनीमा राखेका थिए ।

यति बेला यही ग्यालरीको पहलमा १७ नेपाली चित्रकारका कलाकृति इन्डोनेसियाको बालीस्थित उबुदमा प्रदर्शनरत छन् । तीमध्ये चार चित्रकार उबुदस्थित अगुङ राई म्युजियम अफ आर्ट (आरमा) मै पुगेका छन् । श्यामसुन्दर यादव, विभूषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईले प्रदर्शनीमा प्रत्यक्ष सहभागिता जनाएका हुन् ।


सत्र नेपाली र तीन इन्डोनेसियन गरी २१ जना कलाकारका तीन दर्जनभन्दा बढी सिर्जनाको प्रदर्शनी भइरहेको मिथिला येँ ग्यालरीका श्यामसुन्दरले इमेलमार्फत बताए ।


उनका अनुसार इन्डोनेसियाको विना ग्यालरीको सहकार्य रहेको प्रदर्शनीको नाम ‘टुगेदर’ (सँगसँगै) दिइएको छ । श्यामसुन्दरले मिथिला प्रभावका पाँच आधुनिक चित्र प्रदर्शनीका लागि कोरेका छन् भने विभूषणले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति उतारेका छन् ।


अनिताले प्रिन्ट माध्यममार्फत बुद्ध र हरिततारालाई उतारेकी छन् भने जयाले गणेशको डिजिटल आर्टका साथै मधेसको धार्मिक सांस्कृतिकता र रहनसहन झल्किने पाँच चित्रकृति राखेकी छिन् । ‘बढीजसो नेपाली चित्रकारहरूले संस्कृति, सम्पदा र नेपाली समाजको विविध आयामलाई क्यानभासमा सजाएका छन्,’ श्यामसुन्दरले भने, ‘सांस्कृतिक पर्यटन प्रवर्द्धनका लोभलाग्दो थलो बनिरहेको छ प्रदर्शनी ।’


उनका अनुसार प्रकाश मानन्धरको भक्तपुर दरबार क्षेत्र, कान्छाकाजी भसिमाको बौद्धनाथ महास्तूप र भिक्षुको चाललाई कैद गरेका छन् । त्यस्तै मञ्जु खडकाले तासको पत्तामा नारी वेदना कोरेकी छन् भने ज्योति खड्काले नारी सौन्दर्य, रसना बज्राचार्यले बालसुलभता, राकेश श्रेष्ठले कम्पोजिसन, प्रितम थापाले सगरमाथा उतारेका छन् ।


सुन्दर श्रेष्ठले गणेशलाई पौभामा उतार्नुअघि कोरिएको रेखा चित्र पनि प्रदर्शनीमा सबैको चासो बनेको उनले जनाए । विपना महर्जनको बुद्ध प्रिन्ट कला, किशोर नकर्मीको आधुनिक शैलीको बुद्ध, रोशन प्रधानको टुँडालमा मानव आकृति, रेणु यादवको लोक मिथिला कलासँगै कविता प्रधानको छाली कलाले नेपाली मौलिकता पस्किरहेका छन् ।


‘प्रदर्शनीका लागि लोक, परम्परागत र आधुनिक गरी तीनवटै विधाका सिर्जना छानेका थियौँ,’ श्यामसुन्दरले भने, ‘मिथिला, पौभा जस्ता परम्परागतदेखि डिजिटल र क्रिएटिभ आर्टजस्ता आधुनिक विधाले नेपाली कलाको विविधता प्रस्तुत गरिरहेको छ ।’


मिथिला येँ ग्यालरीले केहीअघि भारतको मध्य प्रदेशस्थित उज्जैन सहरमा पनि कला प्रदर्शनी गरेको थियो भने हालै सिरहाको सुखीपुरमा नेपाललगायत मलेसिया, जापान र थाइल्यान्डका कलाकारमाझ दुईदिने कार्यशाला पनि गरेको थियो ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?