२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अश्लील चलचित्रविरुद्ध बेलायत

नवीन पोखरेल

लन्डन — बेलायतले विश्वमै पहिलो पटक इन्टरनेटमा अश्लील चलचित्र हेर्ने प्रवृत्ति नियन्त्रण गर्न उमेर परीक्षण गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ । आउँदो १५ जुलाई देखि उक्त नियम लागू हुने अधिकारीहरूले बताएका छन् ।

अश्लील चलचित्रविरुद्ध बेलायत

यो नियम लागू भएपछि व्यावसायिक रुपमा अनलाइन पोर्नोग्राफी उपलब्ध गराउने कम्पनीहरूले अनिवार्य रूपमा अश्लील सामग्री हेर्न आउने मानिसको उमेर परीक्षण गर्नुपर्नेछ र ती व्यक्ति कम्तीमा १८ वर्ष पुगेको निश्चित गर्नुपर्नेछ ।


७ देखि १७ वर्ष उमेर सन्तान भएका ब्रिटिस अभिभावकहरूमध्ये ८८ प्रतिशतले बालबालिकाले इन्टरनेटमा अश्लील सामग्री हेर्न नसकून् भनेर कडा नियम बनाउनुपर्ने बताएपछि ब्रिटिस सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।


बीबीसीका अनुसार उमेर जाँच्ने प्रविधि प्रयोग नगर्ने सेवा प्रदायकहरूको भुक्तानी प्रणाली रोकिदिने वा उनीहरूको सेवा ब्रिटेनमा बन्द गरिदिने अधिकारीहरूले जनाएका छन् । यस अलवा अढाइ लाख पाउन्ड (करिब ३ करोड ६० लाख रुपैयाँ) जरिवानासमेत तिर्नुपर्ने हुन सक्छ ।


नयाँ कानुनको अनुगमन गर्ने जिम्मा ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसनलाई दिइएको छ । डिजिटल मामिला हेर्ने मन्त्री मार्गोट जेम्सले भने, ‘बालबालिकाहरूले इन्टरनेटमा सजिलै वयस्कले हेर्ने सामग्री हेर्न सक्छन् । उमेर परीक्षण प्रविधि अनिवार्य बनाएर हामी ब्रिटेनलाई इन्टरनेटमा संसारकै सबैभन्दा सुरक्षित मुलुक बनाउन चाहन्छौं र नयाँ कानुनले हामीलाई सघाउनेछ ।’


सरकारले ल्याएको नयाँ नियम जनरल डेटा प्रोटेकसन रेगुलेसनसग पनि मेल खाने अधिकारीहरूले जनाएका छन् । अश्लील साइट नियन्त्रण गर्ने प्रस्ताव सर्वप्रथम सत्तारूढ दल कन्जरभेटिभले सन् २०१५ मा चुनावी घोषणापत्रमा ल्याएको थियो । पछि यो ‘डिजिटल इकोनोमी एक्ट २०१७’ कानुनका रूपमा पारित भयो । सरकारले गत वर्ष अप्रिलदेखि नै नयाँ नियम लागू गर्ने योजना बनाए पनि विविध कारणले ढिलाइ भएको हो ।


अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो एवं ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका अध्यक्ष डा. कृष्ण अधिकारी अश्लील साइटबाट बालबालिका यौन सिकार हुने घटना बढिरहँदा बेलायतको नयाँ नियम चुनौतीपूर्ण तर स्वागतयोग्य

भएको बताउँछन् ।


‘यसबाट नेपालजस्तो विकासोन्मुख देशले पनि पाठ सिक्नुपर्छ,’ डा. अधिकारीले भने, ‘आफ्ना बालबालिकालाई सही बाटोमा हिँडाउन अभिभावकको पनि प्रमुख भूमिका हुन्छ ।’ बेलायतमै जन्मी हुर्किएका बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्दै आएको नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओकका अध्यक्ष सुमन प्रधान नयाँ नियमले बालबालिका गलत बाटोमा जान निरुत्साहित हुने बताउँछन् ।


‘बेलायतको खुल्ला समाज भए पनि हामीले आफ्नो धरातल कदापि भुल्नुहुन्न,’ प्रधानले भने, ‘नयाँ पुस्तालाई नेपाली भाषा, कला संस्कृति सिकाउने हाम्रो अभियान पनि बालबालिका सही दिशामा अगाडि बढून् भन्ने उद्देश्यले हो ।’


बेलायतका करिब १४ लाख बालबालिकाले मासिक पोर्न साइट हेर्ने गरेको अनुमान बेलायत सरकारको छ । ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसनका अनुसार अहिले विश्वभर करिब ५० लाख अश्लील साइट चालू छन् ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?