कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मगरको पहिचान खुर्पेटो

गणेश राई

काठमाडौँ — पुरुषले भाँग्रा र महिलाले घलेक । दुवै पहिरनमा कलात्मक खुर्पेटो (घोरप्याक) बुट्टा कुँदिएको छ । देख्दै थाहा हुन्छ, लगाउने मान्छे मगर नै हुनुपर्छ । खुर्पेटोमा हँसिया हालेर बोकिन्छ । 

मगरको पहिचान खुर्पेटो

हुन त भेषभुषा यसभन्दा धेरै छन् । पुरुषले भोटो, इस्टकोट, कछाड, गलबन्दी, भरकली लगाउँछन् । महिलाले चौबन्दी चोलो, छिटको गुन्यू, टिकी, पटुका, घलेक, पछ्यौरा र गहनाका रूपमा शिरबन्दी, शिरफुल, फुली, कण्ठमाला, पहेंलो पोते, रैया, बाला, जन्तर लगाउँछन् । खुर्पेटो भने पछिल्लो दशकमा साझा प्रतीक बनेको छ ।


'खुर्पेटो संस्कृतिलाई सामूहिक बनाउन धेरै दशक खर्चियौं,' लेखक नरु थापा भन्छन्, 'आज मगर संस्कृति विश्वव्यापी रूपमा चिनिएको छ । यति गर्नुमा मेरो पनि सिर्जनात्मक हिस्सा रहेको ठानेको छु ।'


शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु दुईदिने 'मगर गोष्ठी' मा सहभागी लेखक थापाले यसरी आत्मसन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल मगर बुद्ध सेवा समाज र मगर लेखक संघले गोष्ठीको आयोजना गरेका हुन् । 'हुन त यो गोष्ठीमा मलाई कसैले चिन्दैनन् जस्तो लाग्छ,' ७१ वर्षीय थापा भन्छन्, 'देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनलाई वर्तमान पुस्ताले रुपान्तरणको प्रयास गरेकामा खुसी लागेको छ ।'


थापा तीन दशकअघि प्रकाशित 'सीमारेखा' ऐतिहासिक उपन्यासका लेखक हुन् । प्रकाशनको केही समयपछि यो उपन्यासलाई लिएर 'सीमारेखा' चलचित्र नै बन्यो । 'द्रव्य शाहले मगरलाई हटाएर कसरी शाहवंशको विस्तार गरे भन्ने मुख्य विषय उपन्यासमा छ,' उनी भन्छन्, 'इतिहासलाई केलाएर पुर्खाको विरासतलाई उपन्यासमा उतारियो र त्यसैलाई फिल्म बनाएर देशविदेशमा प्रदर्शन गरेपछि सांस्कृतिक एकता कायम भएको छ । खासमा सीमारेखा उपन्यास कृतिको आवरणमा खुर्पेटोको चित्र कुँदिएको थियो ।


त्यही खुर्पेटो आज साझा प्रतीक बनेको छ । फिल्म निर्माण गरिँदा कलाकारले प्रयोग गरेको परम्परागत भेषभूषा, गरगहनाले मगर सांस्कृतिक एकीकरण भएको छ ।' लेखक थापाका इतिहास, संस्कृतिमा मगरको भूमिका र राज्यबाट भएको उत्पीडनलाई लिएर आधा दर्जन कृति प्रकाशित छन् ।


नेपालका सूचीकृत ५९ आदिवासी जनजातिमध्ये मगर एक हो । मुलुकको तेस्रो जनसंख्या अर्थात् क्षेत्री र बाहुन (पहाडे) पछि मगर छ । यो जनसंख्या १८ लाख ८७ हजार ७ सय ३३ हो । सामाजिक विकास तथा सामूहिक पहिचान प्रवर्द्धन कार्य नेपाल मगर संघले २०४८ सालदेखि गर्दै आएको छ । संघको लोगो नै खुर्पेटो (घोरप्याक) राखिएको छ ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?