१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाम सरल, स्वाद चर्को

सुशील पौडेल

काठमाडौँ — दिनहुँ पकाउने भए पनि सधैंको दालभात उस्तै मीठो हुँदैन । चिज उही भए पनि पाकशैली फरक पर्‍यो भने खानाको स्वादमा फरक पर्छ । हास्य क्षेत्रका दर्शकका लागि गुलियो जोडी हो, मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ।

नाम सरल, स्वाद चर्को

यस जोडीले पस्किएका प्रहसनदेखि टेलिफिल्म, सिरियल प्रायः लोकपि्रय छन् । व्यंग्यलाई हास्यको चास्नीमा घोलेर दर्शकलाई खुवाउन सक्ने यो जोडीको महसंचार ब्यानरबाट बनेको फिल्म 'दालभात तरकारी' शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्मको पटकथा हरिवंश आफैंले तयार पारेका भए पनि यसको निर्देशनको जिम्मा भने सुदन केसीले गरेका हुन् । यो उनको पहिलो

प्रयास हो भन्ने छनक फिल्म हेरेपछि प्रशस्त पाइनेछ ।


रामहरि र उर्मिला दम्पतीमा अमेरिका जाने भूत सवार छ । उर्मिला -निरुता) सहरकै एक बैंकको राम्रै तलब खाने कर्मचारी हुन् भने रामहरि -हरिवंश) पनि जागिरे हुन् । छोरा राहु -पुष्प) पिंकी -आँचल) को प्रेममा छ । प्रेम गर्नुबाहेक उसको खास काम देखिँदैन । न त पिंकीकै । फिल्मको पूरा कथा रामहरि र उर्मिलाको अमेरिका जाने हुटहुटीमा केन्द्रित छ ।


अमेरिका जानका लागि करोड रकम जोहो गर्नेदेखि दलालले फसाउने र त्यसबाट मुक्त हुन गर्ने संघर्षमा 'दालभात तरकारी' को सहायक कथा निर्भर छन् । फिल्मको ९० प्रतिशत फिल्मको सेटअप रामहरिकै घरभित्र सीमित छ । 'दालभात तरकारी' मा हास्यरसको प्रस्तुति दिन खोजिएको भए पनि लम्बेतान दृश्यहरूले दर्शकलाई निरश बनाइदिएको छ ।


यसअघि महसंचारले नै बनाएको 'शत्रु गते' मा पनि कलाकारहरूको अभिनय 'लाउड' भनिएको थियो । यसपटक भने लाउडको चरमरूप 'दालभात तरकारी' मा देखिन्छ । अझ निरुता र हरिवंशबीचको दाम्पत्य सम्बन्ध, संवाद सम्प्रेषणको शैली र अभिनय सबै चर्को लाग्छ । उर्मिला पात्र यतिविधि चर्किन्छिन् कि झिँजो नै लगाउँछ ।


नवनिर्देशक केसीले कलाकारलाई चरित्रअनुसार पकडमा राख्न नसक्नुको समस्या पनि हुन सक्छ । त्यसो त चड्किलो भडि्कलो अभिनयमा रुचि हुनेका लागि भने यस फिल्मले थोरबहुत हसाउँछ नै । लाउड हुँदाहुँदै पनि हरिवंशको कमिक टाइमिङ र संवादले दर्शकलाई राहत दिन्छ । देख्दा फिल्ममा चल्तीका कलाकारको भीड नै छ, तर फिल्मलाई काँधमा राखेर हिँड्ने एक्लो भूमिका हरिवंशले मात्रै पूरा गरेका छन् भन्दा अन्याय हुँदैन ।


महसंचारबाट दर्शकले सस्तो र तुक नभएको कमेडीको आशा सायदै राख्छन् । किनकि यो जोडीले सुरुवातदेखि नै पेचिलो हास्यव्यंग्य पस्केर हास्यक्षेत्रमा आफूलाई उचाइ दिएका हुन् । सानो पर्दामा जति सशक्त छ, फिल्मी यात्रामा भने मह जोडी जम्न सकेको देखिँदैन ।


'दालभात तरकारी' को पटकथासमेत लेखेका हरिवंशले फिल्ममा रंगमञ्चको प्रभाव रहेकोले अभिनय लाउड भएको तर्क गरेका थिए । एउटा कुरा सत्य हो, फिल्मका दृश्य नाटककै शैलीमा थोरै र लामा खिचिएको छ । कलाकारहरू एउटा मञ्चबाट मुस्किलले मात्रै बाहिरिएका छन्, बरु एकपछि अर्को गरी कलाकारहरू मञ्चमा थुप्रिँदै जान्छन् । तर अभिनयको सन्दर्भमा, रंगमञ्चमा समेत परिवर्तन आइसकेको छ । मञ्च र दर्शकबीच दूरी घट्दै जाँदा पात्र र तिनले बोल्ने संवाद यथार्थको नजिक रहेर डिजाइन गर्न थालिएको छ ।


यस्तोमा फिल्मका मुल पात्रलाई नै चर्को गरी संवाद बोल्न लगाइनुले कर्कश बनाउँछ । 'दालभात तरकारी' नाम जति सरल छ, स्वाद त्यति नै चर्को बनेको छ । फिल्मको सबैभन्दा ठूलो कमजोरी पटकथामा देखिएको छ । मूल पात्रहरूको दिमागमा अमेरिकी सपना सवार हुनुको ठोस कारण, त्यसका लागि गर्ने संघर्ष र निचोडमा फिल्म प्रस्ट छैन । संवादकै बलबुतामा दर्शकलाई होल्ड गराउने प्रयास त गरिएको छ तर काफी छैन । फिल्म कमेडी टीभी सोको संरचनाबाट खासै माथि उठ्न सकेको छैन । 'भिजिट भिसामा..' बाहेक गीतको फिल्ममा सान्दर्भिकता पुष्टि गरेका छैनन् ।


फिल्मलाई कलाकार प्रधान त बनाइयो तर चरित्रप्रधान बनाइएन । कलाकारको भीड जम्मा गरिएको फिल्ममा त्यसअनुरुप चरित्र निर्माण हुन सकेको छैन । मुख्य कलाकार भनिएका पुष्प, आँचल, वर्षा नै प्रभावहीन भुमिकामा छन् । खासमा फिल्म पतिपत्नीको घरेलु गन्थनमन्थनमा सीमित बनेको छ । तर अभिनेता हरिवंशलाई हेरेरै वा उनका भागभंगी र लवजले नै तपाईंलाई कुतकुती लगाउँछ र यसका अघि कथा, पटकथा वा फिल्मका अन्य पाटो गौण लाग्छ भने 'दालभात तरकारी' चाख्न सक्नुहुनेछ । निर्देशक सुदनको पाक शैलीमा खान्की केही चर्को भए पनि हानि नै गर्ने खालको भने छैन ।



फिल्म समीक्षा

दालभात तरकारी

निर्देशक : सुदन केसी

कलाकार : हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, पुष्प खडका, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, वर्षा राउत आदि

प्रकाशित : वैशाख २१, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?