३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भिसा घुम्ने, धन्दा कमाउने

नवीन पोखरेल

लन्डन — व्यक्तिगत निम्तोमा नेपाली नयाँ वर्ष मनाउन आएका गायकद्वय हिमाल सागर र आशिष सचिन बेलायतमा आधा दर्जनजति सांगीतिक कार्यक्रम गरेर भर्खर फर्किए ।

भिसा घुम्ने, धन्दा कमाउने

करिब तीन साताको बेलायत बसाइमा उनीहरूले नेपाली सांस्कृतिक समाज यूके, पिटरबरो नेपाली समाज यूकेसहित लन्डन, फोकस्टन, आसफोर्ड आदि सहरमा कन्सर्ट गरे । भिजिट भिसामा आएर छोटो समयभित्र घुमघाम अनि केही हजार पाउन्ड बटुलेर र्फकन पाउँदा दंग छन् कलाकारद्वय ।

भिजिट भिसामा बेलायत उत्रिएका कलाकारहरू भूमिका शाह, साहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेको व्यस्तता उस्तै छ । थर्ड आई र नेपाली भाषा तथा सांस्कृतिक केन्द्रको निम्तोमा पहिलो पटक बेलायत घुम्न आएका कलाकार यहाँ कमाउन व्यस्त छन् । हवाई टिकेटको व्यवस्था थर्ड आईका विकास देवकोटाले गरेका थिए, बस्ने खाने प्रबन्ध त स्थानीय आयोजकले गर्ने नै भए ।

बालबालिकालाई नेपाली भाषा सिकाइरहेको नेपाली भाषा तथा सांस्कृतिक केन्द्रको सहयोगार्थ एउटा कार्यक्रम निःशुल्क गरिदिएपछि कलाकारत्रयलाई अन्य कार्यक्रममा पाउन्ड बटुल्न भ्याइनभ्याई छ । लन्डन, फार्नबोरो लगायतमा कार्यक्रम गरिसकेपछि लन्डनमै फेरि कार्यक्रम गर्दै छन् उनीहरू ।

म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन -मोना) यूकेको निम्तोमा भिजिट भिसा लिएर नयाँ वर्ष शुभकामना साँझ गर्न आएका कलाकारहरू कुमार पुन, कुमारी चेपाङ र निखिता थापाको पनि चटारो निकै छ यहाँ । २५ अपि्रलमा लन्डन उत्रिएका कलाकारत्रयले मे २४ मा नेपाल र्फकनुअघि केही कन्सर्ट गर्ने तय भइसकेको छ ।

मोना यूकेको पहिलो कार्यक्रममा ती कलाकारले करिब २६ सय पाउन्ड कमाए । मोना यूकेका महासचिव लालबहादुर पुनका अनुसार बिदाई कार्यक्रम (१८ मे) मा प्रत्येक कलाकारलाई ५ सय पाउन्डका दरले पारिश्रमिक पनि दिइनेछ । 'हाम्रो संस्थाले पहिलो पटक एकैपटक तीन कलाकारलाई ल्याएकाले खर्च त धेरै भयो,' पुनले भने, 'दुई कलाकारको हवाई टिकट मात्र दुई हजार पाउन्ड जति खर्च भएको छ । घुमाउने, राख्ने त छँदै छ । अझ मोना कतारले कुमार पुनको हवाई खर्च बेहोरिदिएपछि संस्थालाई केही राहत भयो ।'

भिजिट क्याटेगोरी भएकाले ती कलाकार यदि बिरामी भए भने इन्सुरेन्स नहुँदा मेडिकलमा धेरै खर्च हुने पुन बताउँछन् । यी त पछिल्ला केही उदाहरण हुन् । अचेल चर्चितदेखि नामै नसुनिएका कलाकारको बेलायतमा लस्करै लागेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार, तीज अनि यहाँ खुलेका सयौं गाउँले समाजका समर जमघट आदिमा नेपाली कलाकारको आगमन बढेको बढ्यै छ । आवेदनमा तिनको उद्देश्य घुम्ने हुन्छ तर धन्दा कमाउने भएको छ । कति कार्यक्रम बलजफ्ती चल्छन्, कति दर्शक नपाएर आयोजक चुर्लुम्म डुबेका पनि सुनिन्छ । यद्यपि कलाकारलाई दान दक्षिणा, उपहार, पारिश्रमिक जोड्दा नाफै छ ।

कलाकार झिकाउनेमध्ये अग्रपंक्तिमा छन् सपन इन्टरटेनमेन्ट लिमिटेडका सपनकुमार राई । अढाई दशकयता उनले बेलायतमा सयौं कार्यक्रम गरे । राईले नाम चलेका करिब ८० कलाकार बेलायत ल्याइसके । उनको कम्पनीसँग टियर ५ लाइसेन्स छ, जसले सीओएस जारी गरेर नेपालबाट कलाकार झिकाउने गर्छ ।

टियर ५ र इन्टरटेनमेन्ट भिसामा मात्र कलाकारले यता आएर गीत गाउन पाउने राई बताउँछन् । 'अचेल त कार्यक्रम अत्यधिक भएर न कलाकारको भाउ छ न आयोजकको,' राईको अनुभव छ, 'बेलायत उत्रिइसकेपछि रेस्टुरेन्ट वा बर्थ डे पार्टीमा समेत गएर गाइदिने प्रचलनले कलाकारकै इज्जत घटेको छ ।'

घुम्ने भिसा लिएर आए पनि कलाकार कार्यक्रम नगरी बस्ने कुरै भएन । एउटा कलाकारले महिना दिन बस्दा कम्तीमा आधा दर्जन कार्यक्रम भ्याउँछ । एउटा कार्यक्रमबाट थोरै भए पनि ३ सय पारिश्रमिक र दुई सय पाउन्ड टिप्स जोडदा र्फकने बेला कम्तीमा ५ लाख रुपैयाँ बटुल्छ । बस्ने, खाने, घुम्ने त सामान्य भयो । यस अलवा दूतावासको रात्रिभोज प्रायः कलाकारको 'बोनस' हुन्छ ।

सोलिसिटर राजु थापा भिजिट भिसामा आएर गाउनु वा काम गर्नु गैरकानुनी भएको बताउँछन् । 'एउटा आयोजकको निम्तोमा आएर अर्काको कार्यक्रमतिर गाउनु पनि गैरकानुनी हो,' थापाले भने, 'अध्यागमन नियमको दुरुपयोग भएको थाहा पाए होम अफिसले सम्बन्धित कलाकारलाई डिपोर्ट गरी १० वर्षसम्म बेलायत आउन प्रतिबन्ध लगाउन र आयोजकलाई जरिवाना गर्न सक्छ ।' थर्ड आइका बिकास देवकोटा कलाकारलाई बेलायतले भिजिट भनेर भिजा नदिने दाबी गर्छन् । 'मलाई त नेपालबाट आएर कलाकारहरूले अलि अलि कमाउछन् भने सकारात्मक नै लाग्छ' देवकोटाले भने ।

टियर ५ वा इन्टरटेनमेन्ट भिसामा बेलायत आउने कलाकारको संख्या ज्यादै न्यून छ । संस्थागत वा व्यक्तिगत स्पोन्सरसिपमा आउने करिब ९० प्रतिशत कलाकारको भिसा वर्गीकरण 'भिजिट' हुने सम्बन्धित क्षेत्रका ज्ञाता बताउँछन् । भिजिटमा झिकाउन सजिलो हुने र यहाँ आइसकेपछि स्पोन्सर गर्नेलाई 'लाभ' हुने भएर पनि यसले प्रश्रय पाएको हो । कतिपय नयाँ कलाकार त आफैं टिकेट काटेर आउने गर्छन्, कति यतै लुक्छन् । यसको दुरुपयोग जारी रहे कलाकारलाई कडाइ गर्न बेलायत बाध्य हुने चिन्ता बढेको छ ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?