मन जोड्दै मैथिली नाटक

विपिन श्रीस

काठमाडौँ — 'मिता आब कोना चलब' अर्थात् 'मितज्यू अब कसरी जाने ?' नाटकको नाममै प्रश्न छ । जवाफ पाउन होइन, दिन पनि नाटक हेर्नैपर्छ । निर्देशकले दर्शकबाट जवाफको अपेक्षा राखेका छन्, जुन नाटक राजधानीको मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

'मिता अब कोना चलब’ नाटक प्रस्तुत गर्दै कलाकार ।तस्बिर : कविन अधिकारी/कान्तिपुर

मधेशी परिवेश, कृषिकर्म गरीखाने परिवार छन् । मधेसी समुदायको फुलचन यादवको बयलगाडा हिलोमा फस्छ । गाडा निकाल्न उनले थुप्रैसँग सहयोगको याचना गर्छन् । पाउँदैनन् । त्यत्तिकैमा पहाडी समुदायको दिलबहादुरले फुलचनलाई मद्दत गर्छन् । दिलबहादुरको मद्दतबाट प्रभावित फुलचनले मित लगाउने प्रस्ताव गर्छन् ।

जवाफमा दिलबहादुर भन्छन्, 'मित त लगाउन हुन्थ्यो तर जातै मिल्दैन कहाँ हामी ढाका टोपी कहाँ तपाईंहरू धोती ।' यो संवादले जातीय र सामुदायिक भिन्नता इगिंत गर्छ । फुलचनले भने मित लगाउन मैथिलीमै जोड गर्छन्, 'कत्ा धोती टोपीके बात करै छियै तबो टोपी झपै छइ उपर आ धोती, झाँपै छइ निच्चा, दु त झाँपैयै के न काम करै छइ' -टोपी र धोतीको के कुरा गर्छौ, जब कि धोती तल र टोपी माथि हुन्छ) ।

यसरी फुलचनको जोडबल र दिलबहादुरको भित्री आकांक्षाका कारण ती दुई रीतपूर्वक मित बन्छन् । नाटकमा मित लगाउने पहाडी संस्कार र छठ मनाउने मधेसी संस्कृति आदानप्रदानको जीवन्त चित्रण राजनीतिक-सामाजिक रूपमै निकै अर्थपूर्ण लाग्छ । नाटकले मधेस आन्दोलनपछिको तराई मनोविज्ञान बुझ्न पनि नाटकले सघाउँछ ।

नाटकले भने केहीपछि नै नयाँ मोड लिन्छ । मधेसी र पहाडी समुदायबीच द्वन्द्वको बीजारोपण हुन्छ । राजनीतिक पार्टी र युवाहरू एक अर्को समुदायप्रति आक्रोशित हुन्छन् । आन्दोलनमा सहभागी नै नभएका मितका छोराहरू फरक समुदायको निसानामा पर्छन् । घाइते हुन्छन् ।

विषम परिस्थितिमा पनि सम्हालिएका मितज्यूबीच आन्दोलनबाट सुरक्षित हुन कस्ाको घरमा बस्ने भन्ने विवाद हुन्छ । आफ्नो समुदायको डरले एकअर्काको आवास स्वीकार्न सक्दैनन् । मित लगाउँदा साटेको ढाका टोपी र पगरी फालाफल गर्छन् । मित लगाएर जोडिएको जुठो बाराबारको सम्बन्धमा फाटो आउँछ । तर पनि पारिवारिक दबाबका कारण मिल्ने प्रयास गर्छन् । के उनीहरू मिल्न सक्छन् त ? नाटक हेर्नैपर्छ ।

दोस्रो जनआन्दोलन र मधेस आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको नाटकले पहाडी मधेसी समुदायको द्वन्द्वलाई प्रस्तुत गरेको छ । नाटक निर्देशक एवं कलाकार रामभजन कामत यो नाटकलाई पहिचानको खोजी र अहिलेको आवश्यकता भन्न रुचाउँछन् । 'देशमा विभिन्न राजनीतिक आन्दोलन हुनु अन्यथा होइन, त्यसकै बलमा गणतन्त्र र लोकतन्त्र पायाैं, तर के आन्दोलनको समयमा टुटेका मनहरूलाई जोड्याैं त ?'

नाटकको विषय र सन्देश प्रस्ट पार्न निर्देशक कामत भन्छन्, 'त्यही टुटेका मनलाई जोड्न एकअर्को समुदायको पहिचान स्वीकार्दै सम्मानको भावना जागृत गर्न चाहेका छौं, त्यही सेरोफेरोमा यो नाटक बनाएका हौं ।' नाटकले सामाजिक न्यायको निम्ति बाटो खोल्ने र मन्थन गर्ने अभिभारा बोकेको उनको भनाइ छ ।

उनले आन्दोलनको समयमा आफूमा पनि घृणाभाव उत्पन्न भएको अनुभव सुनाउँदै भने, 'हामी घृणा र निषेधमा अल्भिmएर बस्नु हुँदैन, परस्पर सहयोग र सामुदायिक सद्भावको विकास गर्नुपर्छ ।' नाटकमा निर्देशक कामतले फुलचनको भूमिका पनि निर्वाह गरेका छन् । फुलचन यादवको मित दिलबहादुरको भूमिका निभाएका कलाकार मिलन नेपालीले पनि आन्दोलनको समयमा पहाडी र
मधेसी समुदाय एकअर्काविरुद्ध लागेको स्मरण गर्दै नाटकमार्फत एकताको सन्देश दिन चाहेको बताए ।

'विराटनगरमा वर्णभेद कम भएको छ, छैन भन्दा पनि हुन्छ, हामी मिलेर बस्छौं,' नाटकको विषयलाई सामाजिक परिवेशसँग जोडदै कलाकार राजेश ठाकुरले भने । नाटकमा फुलचन यादवकी श्रीमतीको रूपमा देखिएकी कलाकार कौशिला कामतले काठमाडौंको नाटकघरमा आफ्नो पहिलो अनुभव भएको बताइन् ।

मोरङकी कौशिलाले आफूहरूले नेपाली भाषा बुझ्ने र बोल्ने गरेजस्तै पहाडी समुदायले पनि मैथिली भाषा जानिदिए नाटकको विषयवस्तु प्रस्ट हुने मात्र नभई सामुदायिक सद्भावको विकास हुने धारणा राखिन् । सात आठ वर्षदेखि नाटक क्षेत्रमा लागेकी ४३ वर्षीया कौशिलाले मधेसी समुदायमा महिलालाई हेर्ने दृष्टिकोण खुला नभए पनि आफूलाई भने श्रीमान् र परिवारबाट पूरै सहयोग रहेको बताइन् ।

नाटकको नाम नै मैथिली भाषामा भएकाले दर्शक कम भएको हुन सक्ने कलाकारहरू बताउँछन् । 'नामकै कारण दर्शकको मनमा यो त मैथली नाटक हो, बुझिँदैन कि भन्ने लाग्न सक्छ,' कलाकार सुनीता घिमिरेले भनिन् । दर्शकको रूपमा आएको चित्रकार वीरमान श्रेष्ठले नाटक हेरेपछि 'नेपाली समाजको समसामयिक विषय उत्थान नाटकमा पाएको' बताए ।

नाटकमा निर्देशक कामतसहित विकास पराजुली, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर, शंकर पोखरेललगायत १२ कलाकारले अभिनय गरेका छन् । जसमध्ये जम्मा तीन महिला कलाकार छन् । महिला कलाकारको कमी भएको स्वीकार गर्दै निर्देशक कामतले विराटनगरदेखि आउँदा आर्थिक लगायतका व्यवस्थापकीय पक्षका कारण त्यसो हुन पुगेको बताए ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

यौनहिंसाविरुद्ध योनिका कथाहरू

विपिन श्रीस

काठमाडौँ — 'म अन्त्यमा के भन्न चाहन्छु भने यो नाटकका सबै घटना सत्य हुन् तर तपाईं नपत्याउन पनि सक्नुहुन्छ, किन ?' नाटकभित्र नाटककै निर्देशन गरिरहेकी कलाकार लुनिभा तुलाधरले दर्शकसामु प्रश्न गर्दै एकछिन् रोकिइन् । दर्शकले भने सोच्न नभ्याउँदै नाटकीय शैलीमा आफैं जवाफ दिइन्, 'किनभने यो नाटक महिलाले बनाएको हो ।'

टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको नाटक 'प्राइभेट इज पोलिटिकल’ को एक दृश्य ।

यो संवाद आकांक्षा कार्की निर्देशित नाटक 'प्राइभेट इज पोलिटिकल' को अन्तिम संवाद हो । संवादले महिलाले सुनाउने कथामाथि पितृसत्तात्मक समाजले गर्ने सन्देह प्रस्तुत गर्छ । नाटक हेर्ने जोकोहीले ती हाम्रै समाजमा हुने वास्तविक घटना हुन् भन्ने महसुस गर्न सक्छन् ।

नाटकको सुरु छ जना रंगकर्मी महिलाले 'योनिका कथा' को रिहर्सल गरेको दृश्यबाट हुन्छ । उनीहरूले महिलाको व्यथालाई मनोवादको शैलीमा देखाउने तयारी गर्छन् । नाटकभित्र नाटकको रिहर्सलसँगै आफूमाथि भएका र भोगेका नमिठा यथार्थ दर्शकसामु पस्किन्छन् ।

कहिले निर्मला पन्त बनेर कथा भन्छन् त कहिले बालिका युद्धबन्दीले सहनुपरेको शारीरिक र मानसिक पीडा देखाउँछन्, आफ्नै दाजुबाट बलात्कृत हुँदाको घटना पनि नाटकमा देख्न सकिन्छ । रिहर्सल गरिरहँदा कलाकार आफैं पनि मैना सुनार, नमिता-सुनीतालगायत बलात्कारपछि ज्यान गुमाएकोमादुःखी बन्छन् । आर्थिक अभावले रंगमञ्चमा काम गर्दा हुने दुव्र्यवहार प्रतिकार गर्न नसकेको कथा तिनै कलाकारकोझैं लाग्छ ।

वास्तविक जीवनमा पनि यस्ता दुव्र्यवहार हुने गरेको स्वीकार गर्छिन् कलाकार रोशनी स्याङ्बो । निर्देशक आकांक्षाले पनि प्रत्येक महिलाले जीवनमा कुनै न कुनै दुव्र्यवहार भोग्न बाध्य हुने बताइन् । 'पितृसत्तात्मक सोचाइका कारण कतिपय दुव्र्यवहार न नलाग्न सक्छ,' उनले भनिन्, 'तर, आफूले नचाहँदै पनि हुने गलत नियतको व्यवहार नै दुव्र्यवहार हो ।'

नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय, कार्यस्थललगायत समाजका हरेक स्थानमा हुने यौन दुव्र्यवहारलाई थुप्रै पात्रमार्फत प्रस्तुत गरिएको छ । शक्तिको दुरुपयोग, अलग-अलग समुदायका महिलाको भोगाइ पनि नाटकमा देख्न सकिन्छ । पुरुष पात्रको संवादमार्फत उनीहरूले नारीलाई हेर्ने दृष्टिकोण पनि देखाइएको छ ।

विभिन्न पात्र र परिवेशमार्फत पितृसत्तात्मक सोचाइलाई प्रस्तुत गरिएको आकांक्षाले बताइन् । 'यो समतामूलक समाज निर्माणको अभियान, लैंगिक समानताको अभियान,' उनलेभनिन् । कार्कीले नाटकमा देखाइएको विषयवस्तु वास्तविक घटनामा आधारित भएको बताइन् ।

'अमेरिकामा झन्डै तीन दशकअघिदेखि सुरु भएको 'द भजाइना मोनोलग' (योनिका कथाहरू) नाटक अभियान चार वर्षदेखि काठमाडौंमा पनि देखाउँदै आएका थियाैं,' नाटकको पृष्ठभूमिबारे प्रस्ट पार्दै उनले थपिन्, 'पर्दाअघि नाटकका रमाइला, पीडादायी र अनौठा लाग्ने मनोवाद सुनाउँथ्यौं तर पर्दापछि आफ्नै वास्तविक अनुभव साटासाट गथ्र्यौं ।' तीनै वास्तविक अनुभव र कथालाई समेटेर नाटक 'प्राइभेट इज पोलिटिकल' तयार पारेको उनले बताइन् ।

आठ वर्षदेखि रंगकर्ममा लागेका कलाकार सुदाम सिकेले 'प्राइभेट इज पोलिटिकल' नाटक गर्दैगर्दा महिलामाथि हुने हिसंाको संवेदनशीलता बुझ्न सहयोग पुगेको बताए । नाटक गर्दैगर्दा आफैंप्रति र पितृसत्तात्मक संस्कारप्रति पनि रिस उठेको उनले सुनाए । 'हामीले बाहिर जतिसुकै ठूलो कुरा गरे पनि भित्री रूपमा हामी पितृसत्तात्मक संरचनाबाट सञ्चालित छौं,' नाटकको नाम कसरी 'प्राइभेट इज पलिटिक्स' राखियो भन्ने सन्दर्भमा निर्देशक कार्कीले भनिन्, 'पितृसत्ता आफैंमा राजनीति हो र सेकेन्ड वेव मुभमेन्टबाट पनि प्रभावित छ ।'

नाटक हरिसकेपछि दर्शक कृष्ण डंगोलले नाटकको विषयवस्तु राम्रो रहेको भन्दै अझै पीडित महिलासामु पनि पुर्‍याउन आग्रह गरे । अर्का दर्शक आयुशा चालिसेले नाटकमा उठाइएको विषयवस्तु राम्रो भए पनि कथा धेरै भएर गज्याङमज्याङ भएको दाबी गरिन् ।

उनले जान अन्जानमा आफूबाट भएका दुर्व्यवहार र दुव्र्यवहार गर्न सिकाउने समाजप्रति रिस उठेको पनि बताए । निर्देशक कार्कीले नाटकलाई पोखरालगायतका अन्य सहर र विद्यालय एवं विश्व-विद्यालयमा पनि मञ्चन गर्ने सोच बनाएको सुनाइन् ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्