१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलिउडमा जाजरकोटे चेली

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन् । अभिनेत्री सिजनको 'हर जनम मे मिलेंगे' बलिउडमा चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । 

बलिउडमा जाजरकोटे चेली

मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र 'हर जनम मे मिलेंगे' को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन् ।

डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् । यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने 'आरम्भ' सिरियल र 'क्राइम स्टोरी लक अप' मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ । चलचित्रमा दुई नायकका साथमा सिजनले अभिनय गरिरहेकी छन् ।

चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेकोे सिजनले बताइन् । गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।

'गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीलाई युवतीको माया जालमा फसाएर उनीहरूलाई अपराधको सजाय दिन एक जना सुन्दर युवती सहरबाट गाउँमा गएको भूमिका निर्वाह गरेकी छु,' उनले भनिन्, 'भारतको मुम्बई र गुजरातका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ ।' पुनका अनुसार चलचित्र दुई घन्टा १० मिनेटको हुनेछ ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेकी सिजनले जाजरकोटकै छोरी भन्न मन पराउने गरेको बताइन् । 'भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई दुनियाँमा सफल अभिनेत्रीको रूपमा स्थापित गर्ने सपना बुनेकी छु । जीवनमा संघर्षको वास्तविकता कस्तो हुन्छ भनेर देखाउनेे रहर रहेको छ,' सिजनले हाँस्दै भनिन् ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?