कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'पर्यटन प्रवर्द्धनमा सघाउन मिस नेपाल'

काठमाडौँ — मिस नेपाल ग्रान्ड फिनालेको मञ्च व्यवस्थापनमा 'केही कमीकमजोरी' भए पनि पहिलो पटक आउटडोर हुन सकेकोमा आयोजक हिडन ट्रेजरले उपलब्धि मानेको छ ।

'पर्यटन प्रवर्द्धनमा सघाउन मिस नेपाल'

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले 'सीमित स्रोतसाधनका कारण चाहना हुँदाहुँदै पनि स्टेज भव्य बनाउन नसके' पनि यसपटक दर्शक संख्या बढाउन सफल भएको दाबी गरे ।


'हामीले पहिलो पटक आउटडोर प्रोग्राम गर्‍यौँ, पहिले कार्यक्रम स्थलमा सात आठ सय दर्शक स्वागत गर्न सक्थ्यौँ, यस पटक १८ सय दर्शक अट्ने कार्यक्रम स्थलको व्यवस्थापन गर्‍यौँ,' कक्षपतीले भने, 'यो धेरै ठूलो प्रगति हो ।' सौन्दर्य प्रतियोगिता मिस नेपाल सुरु भएको २५ वर्ष बित्दा पनि स्टेज व्यवस्थापनको उस्तै कमजोरीबारे सोधिएको प्रश्नमा उनले भने 'अपेक्षा अन्तर्राष्ट्रिय स्तरको होस् भन्ने छ तर हामीसँग स्रोतको अभाव छ, जति छ त्यतिमै गर्नुपर्ने हुन्छ, त्यसैले अपेक्षिप प्रगति हुन नसकेको हो ।' यद्यपि, विगतको तुलनामा धेरै सुधार भएको र स्रोत जुटाउन पनि सजिलो हुँदै गरेको उनले बताए ।


मिस नेपालले अन्तर्राष्ट्रिय ताज पहिरिएको हेर्ने जनअपेक्षा स्वाभाविक भएको उनको ठहर छ । 'त्यसका लागि योजना बनाएर अघि बढ्नेछौ, सँगसँगै हामीलाई पब्लिक सपोर्ट, सरकारको समन्वय र सहयोगको पनि खाँचो छ,' कक्षपतीले भने । यद्यपि, व्यक्तिगत क्षमताको आधारमा मिस नेपालका ताज विजेता अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम रहेको कक्षपतीले दाबी गरे ।


'एक सयभन्दा बढी देशको प्रतिस्पर्धी हुन्छन्, ताज जित्ने त एउटैले हो नि,' उनले प्रतिप्रश्न गरे, 'के त्यसो भए बाँकी प्रतिस्पर्धी अक्षम हुन्छन् त ?' हिडन टे्रजरका निर्देशक सुवर्ण क्षेत्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन, पर्यटन प्रवर्द्धनमा सघाउन मिस नेपालले योगदान गर्न सक्ने भए पनि सरकारबाट समन्वय नभएको गुनासो गरेका थिए ।


मिस नेपालको छनोटपछि पहिलो पटक भएको पत्रकार सम्मेलनमा मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती, मिस नेपाल सुप्रनेसनल रोज तामाङ, हिडन टे्रजरका अध्यक्ष कक्षपती र डाइरेक्टर सुवर्ण क्षेत्री उपस्थित थिए ।


यसैबीच, मिस नेपालका ताजधारीले पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरी योजना बनाएर अघि बढ्ने बताए । उनीहरूले आफ्नो कदममा सहयोग गर्न सञ्चारजगत्लाई आग्रह पनि गरे ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?