चलचित्रमा पञ्चायत कथा

कान्तिपुर संवाददाता

तनहुँ — मुलुकमा राजनीतिक परिवर्तनका लागि गुरुङ समुदायले खेलेको भूमिकालाई अहिलेको नयाँ पुस्तामाझ जानकारी गराउने उद्देश्यले गुरुङ भाषाको चलचित्र 'सवन मु' प्रदर्शनमा ल्याइएको छ । चलचित्रमा २०३६ देखि २०४६ सम्मको पञ्चायती व्यवस्था र त्यसको अन्त्यका लागि गुरुङ समुदायले झेलेभोगेका समस्यालाई चलचित्रमार्फत व्यक्त गर्न खोजिएको छ । 

भकारी इभेन्टस पोखराले नवौं प्रस्तुतिका रूपमा निर्माण गरेको उक्त चलचित्र शनिबार दमौलीमा प्रदर्शन गरिएको हो । दुई चरणमा प्रदर्शन गरिएको चलचित्र हेर्नेको घुइँचो थियो । चलचित्र हेरेपछि दमौलीकी ५३ वषर्ीया देउकुमारी गुरुङले धेरै दुःख र संघर्षपछि देशमा प्रजातन्त्र आएको बताइन् ।

'चलचित्रमा नीलो झन्डाका कुरा पनि गरिएको रहेछ,' उनले भनिन्, 'हाम्रो समुदायको भाषा, संस्कृतिका विषयमा तत्कालीन पञ्चायत व्यवस्थाले निकै अत्याचार गरेको रहेछ, त्यसको प्रतिकारका रूपमा नीलो झन्डा, नीलो कपडाको प्रयोग गरी हाम्रो भाषा, संस्कृति संरक्षणमा बाउबाजेले संघर्षगरेको कुरा आज चलचित्र हेरेर थाहा भयो ।'

गुरुङ समुदायको पुरानो वेशभूषा, रीतिरिवाज, संस्कृतिको प्रचारप्रसार तथा विगतमा झेल्नुपरेको चुनौतीका विषयलाई समेटेर यो चलचित्र बनाएको निर्देशक कृष्णकुमार गुरुङले बताए । उनी भन्छन्, 'गुरुङ समुदायको भाषा, संस्कृति तथा २०३६ पछिको एक
दशकमा भएका राजनीतिक परिवर्तन र तत्कालीन समयमा गुरुङ समुदायमा परेको मनोवैज्ञानिक प्रभावलाई मुख्य विषय बनाई देखाउने प्रयास गरिएको छ ।'

चलचित्रमा १५ प्रतिशत मात्र संवादको प्रयोग गरिएको छ । 'हामीले संवादलाई भन्दा आर्ट अफ फिक्सनलाई प्राथमिकता दिएका छौं, गुरुङ भाषाको भनिए पनि सबैले सजिलै बुझ्न सक्ने गरी आर्टको प्रयोग गरिएकाले बुझाइमा कुनै कठिनाइ छैन,' निर्देशक गुरुङले भने । चलचित्रमा प्रेमकथाको विषय पनि समावेश गरिएको छ । रमाइलोका लागि मात्र भन्दा पनि विगतको भोगाइलाई चलचित्रको कथावस्तुमा समावेश गरी अहिलेको नयाँ पुस्तालाई जानकारी गराउनु नै चलचित्रको मुख्य उद्देश्य रहेको कलाकार गल गुरुङ -दीपु) ले बताए ।

पर्वत जिल्लाको देउपुर र लाङदी गाउँका सुन्दर हरियाली पहाडमा छायांकन गरिएको चलचित्र २ घण्टा ३१ मिनेटको छ । चलचित्रमा निशा गुरुङ, विश्वात्मा गुरुङ, तारा गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ, दीपा गुरुङ, डीबी गुरुङ, पूर्ण गुरुङ, आमिर गुरुङ, गल गुरुङ, राजेन्द्र थापा, कमल भुजेल, सचिनथापा, अनीता गुरुङ, बाल कलाकार आरुशी गुरुङलगायतको अभिनय छ ।

राजनीतिक घटनाक्रम र लोपको संघारमा पुगेको पुरानो गुरुङ र नेपाली खस भाषालाई बुझेर अभिनय गर्दा केही गाह्रो भए पनि चलचित्रको कथावस्तुले आफ्नो समुदायले मुलुकमा राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका, झेल्नुपरेको दमन र अत्याचारका विषयमा बुझ्ने मौका मिलेको नायिका निशा गुरुङ बताउँछिन् ।

'हाम्रो मुलुकलाई यो अवस्थामा ल्याउन हाम्रा बाउबाजेले गरेको संघर्ष अहिले इतिहास बने पनि यसलाई जोगाइराख्न तथा नयाँ पुस्तालाई जानकारी गराउन 'सवन मु' राम्रो माध्यम बनेको छ,' उनले भनिन् । पर्यटन विकास समिति तनहुँका अध्यक्ष हरिसिं गुरुङले चलचित्र तथा डकुमेन्ट्रीले कुनै पनि ठाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

–सम्झना रसाइली

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

बोडो-मेचे सभामा छमछमी 

कान्तिपुर संवाददाता

काँकडभिट्टा — खाम (ढोलक), छिफुङ (बाँसुरी) र दोथ्रा (सारंगी) वाद्यवादक अघि लागेका छन् । दोस्रो पंक्तिमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई छन् । उनीपछि दोखना (मेचे पहिरन) लगाएका युवती । उनीहरूले बाजाको तालमा बोराइनाइ (स्वागत नाच) नाच्दै मुख्यमन्त्रीलाई स्वागत गरे ।

भारत असमबाट आएको बोरो सांस्कृतिक टोलीका युवती दोखना पहिरिएर जातीय नृत्य गर्दै -माथि) र प्रथम अन्तर्राष्ट्रिय मेचे बोडो साहित्यसभामा नृत्य गर्दै मेचे युवती । 

कुनै कार्यक्रम सुरु गर्नुपूर्व यो समुदायको जातीय विधि नै छ । विधि पूरा गरे । मुख्यमन्त्रीलाई राष्ट्रिय झन्डोत्तोलन गर्न लगाएपछि मञ्च चढाए ।

झापा यस्तो जिल्ला हो, जहाँ सरकारले अनुसूचित गरेका आदिवासी जनजातिमध्ये अधिकांशको बसोबास छ । यसमा लोपोन्मुख आदिवासी मेचे पनि छन् । मेचे समुदायले शनिबार नेपालमै पहिलो पटक बोडो-मेचे साहित्यसभा आयोजना सुरु गरेको छ । दुईदिने महोत्सवमा मेचेहरूको पुख्र्याैली थलो भारत असमबाट समेत दुई सय हाराहारीमा सहभागी छन् । सम्मेलनमा आफ्नो साहित्य र संस्कृतिको चर्चा गर्ने मानवशास्त्री सन्तलाल मेचेले जनाए । मेचे सिवियारी आफातले आयोजना गरेको सम्मेलनमा उनीहरूको भाषा, संस्कृति र रहनसहनबारे बहस हुनेछ ।

मुख्यमन्त्रीले नेपाल जातीय, भाषिक, सांस्कृतिक र धार्मिक रूपमा वैभवशाली रहेको चर्चा गरे । संघीयताले सबै जातजाति र भाषाभाषीको पहिचानको सपना पूरा गर्न सक्ने उनले बताए । मेचे समुदायको भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि सक्दो पहल गर्ने आश्वासन दिए । मानवशास्त्री सन्तलालले मेचे समुदायको संस्कृति र रहनसहनको जगेर्ना गर्न यस किसिमको कार्यक्रम सार्थक हुने जनाए ।

उनले भने, 'हाम्रो अधिकार प्राप्तिका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्न सक्छन् ।' सम्मेलनमा मेचे समुदायका भाषा, साहित्य, कला, संस्कृति आदि विभिन्न विषयमा छलफल गरिने अध्यक्ष रुपेश मेचेले जनाए । यी समुदाय झापाको मेचीनगर, दमक, धाइजन, ज्यामिरगढी, चकचकी, जलथल, भद्रपुरलगायत स्थानमा छन् । २०६८ को जनगणनाअनुसार मेचेको संख्या ४ हजार ८ सय ६७ रहेको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्