१०० वर्षमा जोसिला जोशी

‘यो वास्तवमा संस्कृति, साहित्य, नेपाली भाषा र मेरो मातृभाषा नेपालभाषाको लागि मैले गरेको कामको सम्मान ठानेको छु’
बग्गीमा नगरपरिक्रमा
कान्तिपुर संवाददाता

ललितपुर — संस्कृतिविद् सत्यमोहन जोशी सोमबार एक सय वर्ष पूरा गरेका छन् । तर उनको सक्रिय जीवनले भने जोशी अझै जोसिला छन् । उमेर उनका लागि केवल संख्या मात्रै भएको छ ।

उनलाई नजिकबाट चिनेजानेका पनि जोशी उमेरले सय वर्ष पुगेभन्दा अनौठो मान्छन् । यस्तो दीर्घजीवन बाँच्ने रहर कसलाई नहोला ? वाङमय शताब्दी पुरुष जोशीको जीवन पनि सबैका निम्ति लोभ लाग्दो छ ।

सोमबार शतवार्षिकोत्सवको अवसर पारेर ललितपुर महानगरपालिकाले जोशीलाई बग्गीमा राखेर नगरपरिक्रमा गरेको छ । उक्त परिक्रमामा हजारौं सर्वसाधारणको लर्कोले जोशीलाई सम्मान गर्‍यो । जोशीले नगरपरिक्रमामा सहभागी, आफूप्रति सद्भाव राख्ने, स्नेह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । भने, ‘यो वास्तवमा संस्कृति, साहित्य, नेपाली भाषा र मेरो मातृभाषा नेपालझाषाको लागि मैले गरेको कामको सम्मान ठानेको छु । व्यक्ति सत्यमोहन जोशीको सम्मान होइन । व्यत्ति सत्यमोहन त एक निमिक्त व्यत्ति न हो ।’

उनले चिन्तन गर्ने र चिन्ता नलिनाले दीर्घायु पाउने बताए । ‘आफूलाई प्राप्त भएको कुरामा सन्तुष्ट भएर सक्रियतापूर्वक जीवन बाँच्ने,’ उनले भने, ‘यो भएन, त्यो भएन भनेर धेरै गुनासो नगर्ने । छोरा, बुहारी, सन्तानबाट धेरै अपेक्षा नगर्ने नै जीवन जिउने कला हो ।’

सय वर्ष पार गर्दासम्म पनि जोशीले खासै औषधि खानुपरेको छैन । अझै हट्टाकट्टा नै छन् । दैनिक दालभात खान्छन् । साधारण जीवन बिताउँछन् । राति सुत्ने बेलामा घरमा नै बनाएको रक्सी एक पेग लिने गरेको उनले सुनाए । एक सय वर्षमा पनि स्वस्थ र सक्रिय जीवन जोशीका लागि वरदान सावित भएको छ ।

जोशीको जीवनलाई नेकपाकी नेतृ एवं ललितपुर क्षेत्र नं ३ की सांसद् पम्फा भुसालले लोभलाग्दो भनी टिप्पणी गरिन् । ‘म पनि सत्यमोहन दाइजस्तो दीर्घ र सक्रिय जीवन जिउन पाऊँ । मलाई पनि यस्तो जीवनप्रति लोभ छ,’ नगरपरिक्रमापछि महानगरको परिसरमा आयोजित विशेष सम्मान समारोहमा सांसद् भुसालले भनिन्, ‘अहिले अधिकांश संस्कृति हराउँदै गएका छन् । रातो मत्स्छेन्द्रनाथको जात्रा पाटनमा चलिरहेको छ । यस्तो जात्रा चलाउन दिनानुदिन कठिन हुँदै छ । यस्तो जात्रा बचाउन जोशीको सक्रियताबाट प्रेरणा लिनुपर्दछ ।’

भुसालले मात्र नभई नेपालका लागि भारतीय राजदूत मञ्जित सिंहले जोशीको जस्तो जीवन जीउन रहर भएको बताए । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगतमान गुरुङको भनाइ पनि भुसाल र राजदूत सिंहको भन्दा फरक छैन । समारोहमा जोशीलाई नेपाल सरकार, काठमाडौं उपत्यकाका १८ स्थानीय तहका मयेरको संयुक्त फोरम र ललितपुर महानगरसँगै विभिन्न संघसंस्थाले जोशीको योगदानको कदर गर्दै सम्मान प्रदान गरियो । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको जीवन सबैका लागि प्रेरणादायी रहेको बताए । ‘जोशीलाई सम्मान गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु,’ पोखरेलले भने ।

उनी बाबु शंकरदास (शंकरराज) र आमा राजकुमारी (नोगलदेवी) का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहालमा जन्मेका हुन् । जोशीले ‘हाम्रो लोकसंस्कृति’ का लागि पहिलो पटक २०१३ मा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रो पटक २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि तेस्रो पटक २०२८ मा मदन पुरस्कार प्राप्त गरेका थिए । जोशी साहित्यकार पनि हुन् ।

उनले त्रिचन्द्र कलेजबाट बीएसम्म अध्ययन गरेका छन् । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा गरेको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात क्रिशत्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनका अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा संग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक पनि हुन् ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कलामा प्रविधि र परम्परा

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना प्रविधिको द्रूतगतिमा विकाससँगै विश्वले कोल्टे फेरेको छ । नेपाल यसबाट अछुतो रहने कुरै भएन । नयाँनयाँ प्रविधि आगमनले व्यक्तिको जीवनयापनमै आमूल परिवर्तन ल्याइदिएको छ ।

तर विकाससँगसँगै विनाश पनि डोरिएर आउने ठान्छन्, कलाकार मन गुरुङ । त्यसैले त उनी यतिबेला प्रविधि विकासले प्राचीन जीवन शैलीमा के कति बदलाव ल्याएको छ, पहिचान र संस्कृति कतातिर ढल्किरहेका छन् ? पुरानो पुस्तामा नयाँ संस्कृतिले कति छोएको छ ? वा नयाँ पुस्तामा पुराना संस्कृतिको प्रभाव अझै बाँकी छ/छैन ? गुरुङले यस्तै जिज्ञासाको हल खोज्ने प्रयास गरेका छन्, आफ्नोएकल कला प्रदर्शनी ‘लस्ट इनट्रान्जेसन’ मार्फत ।

सिद्धार्थ आर्ट ग्यालरीमा बिहीबारबाट जारी प्रदर्शनीमा राखिएका पेन्टिङहरू विश्वव्यापीकरणले नेपाली समकालीन समाजमा पारेको प्रभावलाई चित्रण गर्न काफी छन् । प्रदर्शनमा राखिएका उनका २३ वटा चित्रकला, पेन्टिङमा पुरानो पुस्ता र उनीहरूले समयअनुसार समायोजन गर्दै आएका प्रत्येक पक्षहरू झल्काइएका छन् । खाली खुट्टा शिरमा पछ्यौरी राखेर उभिएका तीन वृद्धा, सँगैको पेन्टिङमा पृष्ठभूमिमा ढ्यांग्रोसहित परम्परागत भेषभूषामा देखिएकी महिलाले नेपाली पुरानो मौलिक परम्पराको प्रतिबिम्वित गरेको छ ।

अर्कोतिर, ठेकीहरू पृष्ठभूमिमा राखी चप्पल लगाएर उभिएकी महिलाको पेन्टिङले परम्परागत सामानहरू र मानिसको जीवनशैलीमा आएको परिवर्तनलाई इंगित गरेको छ । शिरमा पछ्यौरी ओढेकी महिलाको घाँटीमा क्रस अंकित लकेट लगाइएको अर्को पेन्टिङमार्फत नेपाली समाजमा रहनसहन मात्र नभई धर्ममा समेत परिवर्तन र परिमार्जन हुँदै गएको पक्षलाई देखाउन खोजेको गुरुङले बताए ।

‘पुरानो पुस्ताले समयको विकासक्रमअनुसार आफूलाई नयाँ कुरामा समायोजित गर्न खोजे पनि पुरानो शैली पूर्ण रूपले त्याग्न सकेका छैनन्’ कलाकार गुरुङले कान्तिपुरसँग भने, ‘पुरानो र नयाँ परम्पराको मझधारमा पुरानो पुस्ता रुमल्लिरहेका छन् । यही पक्ष मैले कलामा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’

उनले आफ्नै जन्मथलो गोरखाको खोरला गाउँ पनि दस वर्षअघिको जस्तो नरहेको जिकिर गर्दै थप्छन्, ‘आँगनमा गाउने रोदी भाका सुनिन छोडिसक्यो । गाउँघरमा लगाउने गुरुङ भेषभूषाका लुङ्गी र पटुकी, घलेक अचेल लगाउनै छोडिएको छ । हामीले मात्र होइन, गाउँमा विदेशीहरू आउजाउ भएपछि हाम्रा बाहरूले पनि दौरासुरुवालको सट्टा पाइन्ट, सर्ट र टिसर्ट लगाउन थाल्नुभएको छ । कहिल्यै चप्पल नलगाउने हाम्रा आमाहरूको खुट्टामा थरिथरिका चप्पल छन् ।’ यसरी पुरानो पुस्तामा आएको परिवर्तन र उनीहरूले स्विकारेको परिवर्तित संस्कृतिका कुराहरू नै आफ्नो पेन्टिङको मूल विषय रहेको कलाकार गुरुङ बताउँछन् ।

क्यानभासमा विभिन्न आकार प्रकार ठेकीहरू र अहिले प्रयोगमा ल्याइने प्लास्टिकका बट्टाहरू, पानीका बोक्तलहरू त्रमशः राखिएका छन् । यसको भावार्थबारे गुरुङ भन्छन्, ‘पहिले पहिले दुध, दहीका लागि माटो र काठका ठेकीहरू प्रयोग गरिन्थ्यो । अहिले मानिसहरू बजार झर्न थालेपछि ठेकीको विकल्पका रुपमा प्लास्टिकका सामानहरू प्रयोग गर्छन् ।

जुन सजिलै उपलब्ध हुनुका साथै चलाउन पनि सहज हुन्छन् ।’ गुरुङका अनुसार नयाँ पुस्ताले बाह्य संस्कारबाट भित्रिएका हरेक कुराहरू अवलम्बन गरिरहेका छन् ।

–सुशीला तामाङ

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT