संग्रहालयमा सुनसान ‘दाप्चा बजार’

विपिन श्रीस

काठमाडौँ — दुई दशकअघिको व्यस्त बजार अहिले सुनसान छ । मानिस सुरक्षित र सहज जीवनयापन गर्न अन्य स्थानमा बसाइँ सरेका छन् । यो कथा काभ्रेको दाप्चा बजारको हो, जहाँ पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजयी हासिल गरेपछि बसाइँ सरेका मानिसले बस्ती बसाएका थिए ।

पछिल्लो दुई दशकको अवधिमा द्वन्द्व र सहरीकरणको प्रत्यक्ष मारमा परेको दाप्चा बजारको मौलिक रौनकता हराउँदै गयो । द्वन्द्व सकियो, तैपनि रौनक फर्किएन ।

चित्रकार मुना भँडेलले दाप्चा बजारको यही स्थितिको चित्रण गरेकी छन्, ‘द मिसिङ सोल्स’ मा । तारागाउँ संग्रहालयको ‘ओपन स्टुडियो’ को दोस्रो सेसनमा चित्रकार मुनाले मल्लकालीन वास्तुकलाबाट प्रभावित दाप्चा बजारको घरका बन्द झ्यालढोका देखाएकी छन्, बजारको अहिलेको वास्तविकता पनि यस्तै छ ।

दाप्चा बजारसँग जोडिएको आफ्नो बाल्यकालको सम्झना गर्दै ‘स्क्र्याच अन फोटोग्राफी’, ‘पेन एन्ड वाटरकलर’ र ‘ओयल पेस्टल’ माध्यममार्फत हालको परिवेशलाई पेन्टिङमा देखाएकी मुनाले बजारको पुरानो व्यस्तताको झल्को दिँदै अब त्यस्तो अवस्था नभेटिने भन्दै निराशा व्यक्त गरिन् । वाटर कलरमार्फत उनले दाप्चाबासीलाई घर फर्कन आग्रह गरेकी छन् ।

‘म सानोछदाँ दाप्चा बजार गतिशील र जीवन्त थियो, मानिस बजारमा व्यस्त हुन्थे । अहिले न भीडभाड छ न त बजार जीवन्त नै,’ मुनाले बाल्यकालीन अवस्थाको स्मरण गर्दै अहिलेको दाप्चा बजारको अवस्था बताइन् ।

उनका चित्रहरूमा पुरानो जीवनशैली, कलात्मक तर बन्द झ्यालढोका र त्यसमा लागेका ताल्चाहरू देख्न सकिन्छ । बुद्धिसागरको ‘कर्णाली ब्लुज’ बाट प्रभावित भँडेलले त्यस पुस्तकमा वर्णन गरिएको कतासे बजारजस्तै आफूले बाल्यकालीन समय बिताएको दाप्चा बजारले पनि आफ्नो पहिचान गुमाएको बताइन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

पुरानो कार्पेटमा ‘न्युड आर्ट’

विपिन श्रीस

काठमाडौँ — प्रयोग गर्दागर्दै पुरानिएको कार्पेट तपाईं के गर्नुहुन्छ ? सजाउनुहुन्छ कि फ्याँक्नुहुन्छ ? यस्तै अवस्था न्युड आर्टिस्ट कपिलमणि दीक्षितलाई आइलाग्यो भने के गर्लान् ? यति बेला दीक्षितले यसको जवाफ लिएर आएका छन्, फरक शैलीको काममार्फत् ।

कवाडीमा पनि नबिक्ने पुरानो कार्पेटलाई दीक्षितले भने रंग भरेर लाखौं मूल्यको कलामा परिणत गरिदिएका छन् । ‘अब्जेक्ट इन फोकस’ सिरिजअन्तर्गत राखिएको ‘न्युड कार्पेट’ नामक एक्लो पेन्टिङको मूल्य १० लाख रुपैयाँ तोकेका छन् । किन्न वा हेर्न
चाहने कलापारखीका लागि दीक्षितले उक्त पेन्टिङ राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा प्रदर्शनीका लागि राखेका छन् । पेन्टिङमा दीक्षितले महिलाको ‘ब्याक साइड’ देखाएका छन् ।

कार्पेटमा पेन्टिङ गर्ने सोचाइ कसरी आयो त ? दीक्षित भन्छन्, ‘पुरानो भइसकेको कार्पेटलाई के गर्ने भन्ने सोचिरहेको बेला त्यसमै भएका बुट्टा देखेपछि पेन्टिङ गर्ने सोच आयो ।’ उनले पुरानो वस्तुको पुनः प्रयोग गर्दै वातावरण प्रदूषण केही भए पनि घटाउन सन्देश प्रवाह गर्न पनि यस पेन्टिङ बनाएको बताए । पेन्टिङ प्रयोगको हिसाबले नयाँ र चुनौतीपूर्ण भए पनि बनाइसकेपछि सन्तुष्टि मिलेको उनले सुनाए ।

चित्रमा महिला आकृति उतार्नुको कारण पनि दीक्षितले खुलाए । भने, ‘मैले ‘मस्कुलिन’ र ‘फेमिनाइन’ दुवै पेन्टिङ गर्छु तर कार्पेट हेर्नेबित्तिकै मेरो दिमागमा ‘फेमिनाइन’ भाव आयो ।’ कार्पेट उद्योगमा महिलाको शोषण हुने सुनेकाले उनीहरूको अवस्था प्रतिविम्बित गर्न ‘ब्याक साइड’ देखाएको उनको भनाइ छ ।

‘यद्यपि मैले सुनेको सत्य नहुन पनि सक्छ । यसलाई कलाकै रूपमा मात्र बुझ्दा पनि फरक पर्दैन,’ दीक्षितले भने । कलाकार दीक्षित भने हरेक चित्रमार्फत सन्देश नै दिनुपर्छ भन्ने ठान्दैनन् । ‘हरेक कलाकारले सन्देश दिन काम गर्छन् भन्ने हुँदैन । मैले चित्र बनाउँदा आनन्द प्राप्त गर्छु, ऊर्जाप्राप्त गर्छु,’ उनी भन्छन्, ‘कला आफैंमा अभिव्यक्ति हो ।’

तारागाउँ म्युजियम पुगेकी चित्रकार विधाता केसीले विषयवस्तुको हिसाबले ‘न्युड पेन्टिङ’ को निरन्तरता भए पनि प्रयोगको हिसाबले नयाँ भएको प्रतिक्रिया दिइन् । ‘पेपर र क्यानभासमा त पेन्टिङ गर्दै आइएको छ तर दीक्षितले कार्पेटमा पेन्टिङ गर्नुभएको छ । ‘डेड अब्जेक्ट’ कार्पेटलाई ‘लाइफ’ दिनुभएको छ,’ केसीले यो आफैंमा नयाँ प्रयोग भएको बताइन् ।

चित्र नियाल्दै गरेका समीरमणि दीक्षितले कार्पेट आफैंमा पेन्टिङ भएको बताउँदै कार्पेटमाथि पनि पेन्टिङ गर्न सकिन्छ भन्ने आफूले कहिल्यै नसोचेको बताए । भने ‘मैले उहाँका यसअघिका काम पनि हेरेको छु । पहिले स–साना पाँच सय न्युड पेन्टिङको प्रदर्शन गर्नुभएको थियो । यो त एउटै पाँच सय पेन्टिङ जति छ ।’

म्युजियमका निर्देशक रोशन मिश्रले एउटा मात्र ‘अब्जेक्ट’ को प्रदर्शनीले दर्शक र कलाकारलाई एउटै कलालाई धेरै तरिकाले बुझ्न सहज हुने बताए । उनले एउटै वस्तुमा केन्द्रित भई गहिरिएर समकालीन कला हेर्न, बुझ्न र सोच्न सकिने बताए ।

‘वान आर्टिस्ट, वान अब्जेक्ट एन्ड वान बिग आइडिया’ भन्ने सोचसहित सुरु भएको ‘अब्जेक्ट इन फोकस’ को पहिलो शृंखलामा चित्रकार मनीषलाल श्रेष्ठको इन्स्टलेसन आर्ट राखिएको थियो । यो सोच कन्टेम्पोररी आर्ट नेपालका लागि नयाँ र प्रभावकारी भएको श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्