परिस्थितिले बदलिएका पात्र

काठमाडौँ — साढे दुई वर्षअघि रिलिज भएको ‘जात्रा’ फिल्म आफू मात्रै सफल भएन, गीत र फाइटका सिनबिना फिल्म नै बन्दैन भन्ने फर्मुला सोच भएका नेपाली फिल्मकर्मीको पनि चेत खोलिदियो, दर्शकको रुचिको बढाउन फिल्म नै राम्रो हुनुपर्छ, गीत र फाइट तपसिल मात्रै हुन् भनेर । शुक्रबारदेखि सोही फिल्मको सिक्वेल ‘जात्रैजात्रा’ प्रदर्शन क्रममा छ । तर यसपालि भने फिल्मले दुई-दुई गीत बोकेको छ ।

परिस्थितिले बदलिएका पात्र

‘जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलताको विरासतलाई ‘जात्रैजात्रा’ ले धान्न सक्ला ? प्रश्न पेचिलो बनिरहेको छ, टिमलाई । फिल्मका मुख्य अभिनेता विपिन कार्की भने द्विविधामा देखिए । हालैको एक पत्रकार भेटघाटमा उनले भने, ‘पहिलेकै जस्तो कथा, तिनै चरित्र भएपछि फिल्ममा केही नयाँपन खोज्ने समीक्षकले एक चरण गाली गर्नुहुन्छ होला ।


तर कमर्सियल फ्याक्टर भने पहिलेभन्दा यसपालि धेरै छ । त्यसैले पनि दुई-दुईटा गीत राखिएको छ । दर्शकले भने फिल्म मन पराउनेमा म ढुक्क छु । पहिलेभन्दा दोब्बर मनोरञ्जन पाउनुहुनेछ । बुझ्न सजिलो र दृश्यपिच्छे हाँसेकोहाँस्यै गर्ने खालको बनेको छ ।’


जुन ठाउँमा पुगेर ‘जात्रा’ सकिएको थियो, त्यहीँबाट ‘जात्रैजात्रा’ को कथा अघि बढेको छ तर पुरानै चरित्रहरूको नयाँ यात्रासँगै । प्रदीप भट्टराईको लेखन, निर्देशन रहेको ‘जात्रैजात्रा’ मा विपिन, रवीन्द्र झा, रवीन्द्रसिंह बानियाँ, वर्षा राउतसहित यसपालि दयाहाङ राई पनि थपिएका छन् । मूल चरित्र फणिन्द्र तिमिल्सिनाको भूमिकामा रहेका विपिनको ‘जात्रा’ मा जुन रस, मिठास देखाएका थिए, यसपालि अझ बढी रुचिकर बनाउने प्रयास गरेको बताए । ‘चरित्रमा निखार ल्याउने प्रयास गरेको छु,’ विपिनले थपे, ‘फणिन्द्रको फिलिंग्सलाई ‘जात्रा’ मा अझ उचाइ दिन नसकेको जस्तो लागेको थियो, यसपालि त्यसलाई पूरा गर्न पाएको छु ।’


हिजोआज नेपाली फिल्मको बजार तरल बनिरहेको छ । गतवर्ष हिट फिल्मका एकाध सिक्वेल वा सिरिजले राम्रो व्यापार गरेपछि यतिबेला त्यसैको लहर चलेको छ । कतै ‘जात्रैजात्रा’ पनि यही लोभको उपज त हैन ? फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रविन्द्रसिंह बानियाँ त्यसलाई पूरै इन्कार गर्दैनन् । ‘अलिकति व्यावसायिक फाइदा हेरेर पनि सिक्वेल बनाइएको हो । तर पैसा मात्रै हेरेर बनाएको भने हैन,’ बानियाँले कान्तिपुरसँग भने, ‘सिक्वेल गर्दाका पनि फाइदा/बेफाइदा दुवै रहेछन् ।


‘चरित्र स्थापित गराइरहनु नपर्ने, फिल्मको बजारीकरण गर्न सहज र व्यावसायिक पक्षबाट पनि सुरक्षित त हुँदो रहेछ तर अघिल्लो फिल्मले सेट गरेको फ्रेमबाट बाहिर जानै नसकिने र त्यसैमा खुम्चिरहनुपर्ने बाध्यता पनि हुने रहेछन्,’ बानियाँकै भनाइमा सहमत हुँदै निर्देशक भट्टराईले थपे, ‘तर यो फिल्मले २० करोड रुपैयाँ नै कमाए पनि अब भने सिक्वेल नबनाउने । फ्रेस फिल्म नै बनाउने ।’


सिक्वेल बनाउने अवधारणासँग विपिन पनि सहमत रहेनछन् । ‘बरु यही टिमले अर्को छुट्टै पूर्ण फिल्म बनाउन सक्थ्यो । सिक्वेल चलिरहेको माहोलमा यसका निर्माताहरू पनि आकर्षित हुनु नौलो कुरा भएन । मैले त्यसमा साथ दिएको हुँ,’ त्यसो त सिक्वेल नै भए पनि यसपालि फणिन्द्र निकै फेरिएर आएकोले फरक स्वादको अनुभव भने दर्शकले गर्नेमा विपिन आशावादी देखिए ।


भने, ‘पहिले सफा, निष्कलंक, इमानदार फणिन्द्र समय, काल र परिस्थितिले पहिले जस्तो छैन । फटाहा बनिसकेको छ । एउटा इमानदार मान्छेलाई समाज वा समयले कसरी खराब बन्न बाध्य पार्छ भन्ने देखिन्छ । त्यो म आफैंलाई पनि राम्रो लागेको हो । अहिले फणिन्द्र आफैं योजना बुन्छ र अरूलाई त्यसमा लाग्न उक्साउने उग्र प्रवृत्तिको भइसकेको छ ।’ दयाहाङको प्रवेशले सिक्वेललाई अझ रोमाञ्चक बनाएको टिमको ठम्याइ रहेछ ।


‘जात्रा’ बाट डेब्यु गरेपछि ‘शत्रुगते’ बनाएका निर्देशक भट्टराई पुनः ‘जात्रा’ कै बाटोमा फर्किएका छन् । यसपालि उनले ‘जात्रैजात्रा’ चरित्रहरूमा आएको बदलाबबाटै दर्शकलाई फरकपना दिन खोजेको बताए । ‘तीन चरित्र फणिन्द्र, मुन्ना र जोयश जेल परेर निस्कँदा के सिकेर निस्किए भन्नेमा फिल्म अडिएको छ,’ निर्देशकले थपे, ‘त्यस्ता इमानदार मान्छेहरू पनि जेल बसेर निस्किएपछि कसरी फेरिए ? कति शक्तिशाली बनेर आए ? त्यो उतारचढावको सगरमाथा चरित्रहरूले चढेका छन् ।’


त्यसो त भट्टराई फिल्म सन्देशमूलक बन्नुपर्छ भन्ने धारणाबाट मुक्त छन् । ‘फिल्मले दिने पहिलो सन्देश भनेकै यो राम्रो बनेको छ है भन्ने हो । अर्को कुरा, फिल्म भनेको बच्चा हो भने निर्माता त्यसको आमा हुन् । बच्चा मात्रै हुर्केर पनि काम छैन, आमा पनि सँगसँगै बाँच्नुपर्छ । आमा पनि बच्ने र बच्चा पनि राम्रो हुने गरी मध्यम बाटोबाट फिल्म बनाउने कसरत गरेका छौं,’ उनले व्यावसायिक र कलात्मक पक्षको मझधारमा ‘जात्रैजात्रा’ रहेको इंगित गरे ।


अभिनेता कार्कीलाई नेपालका मेथड एक्टर मान्न सकिन्छ । उनी चरित्र चित्रणमा दिलोज्यान दिने कलाकार हुन् । ‘जात्रा’ मा उनी वर्षा राउतको अपोजिटमा पतिको भूमिकामा थिए । लजालु स्वभावका उनी वर्षासँग गर्नुपर्ने अभिनय सबै घरमा पत्नीलाई थाहै नदिई रिहर्सल गरिरहेका हुन्थे । पत्नीले पछि फिल्म हेरेपछि मात्रै आफू प्रयोग भएको थाहा पाएकी थिइन् ।


यसपालिको अनुभव पनि त्यस्तै रह्यो कि ? विपिन हाँसे । अनि बोले, ‘रियालिस्टिक एक्टिङ गर्न खोज्नेका लागि रिल र रियल लाइफ छुट्याएर हिँड्न गाह्रो हुने रहेछ । मैले नजान्दा नजान्दै पनि यो भइदिने रहेछ । रंगमञ्चमा छँदा सरहरूले यस्ता कुरा गर्दा नौटंकीजस्तो लाग्थ्यो तर अहिले बुझदै छु चरित्रहरू वास्तविक जीवनमा पनि मिसमास भएर दिमागमा आइदिने रहेछन् ।’


कहिलेकाहीँ घरका कुरा बाहिर र बाहिरका कुरा घरमा देखाउँदा विपिन सर्मिन्दा पनि हुनुपरेको रहेछ । ‘नट दुईतिर भए पनि बल्टु त म एउटै हो । घरी कता जोडिन पुग्दो रहेछ घरी कता,’ उनले भने ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?