१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

"अधुरो यात्रा" लाई पूरा पुरस्कार

प्रदीप मेयाङ्बो

सुनसरी — एउटी बालिकामाथि अन्याय हुन्छ । तिनलाई घरमालिकले पढाउने भनेर धर्मपुत्री बनाएर राखे पनि पटकपटक बलात्कृत हुन्छिन् ।

बलात्कारपछि गर्भ बस्छ । एक दिन अचानक उनको मृत्यु हुन्छ । मृत्यु भएको खबर घरमालिक र उनका सदस्यले छरछिमेकीलाई जानकारी नै नदिई कफिन बक्स बनाएर मसानघाट लैजाने तयारी गरेपछि छरछिमेकले थाहा पाउँछन् । घरमालिकले अन्तिम सयमसम्म आफूलाई बचाउन अनेक प्रयास गरे पनि अन्तत: ती घरमालिक दोषी बन्छन् र जेल सजाय भोग्छन् ।


बालकलाकारहरूले मञ्चमा आत्मा बनेर आएकी बाल कलाकार खामुना राई (अनुशा) को फक्रिन नपाउँदै निमोठिएको सपना, इच्छा र आकांक्षाहरू आफ्नी साथी रिन्की (विकिसा विष्ट) सँग गरेको मर्मस्पर्शी वार्तालापले दर्शकको आँखा रसाएको थियो । निर्णायकलाई भावुक बनाएको थियो । किनकी त्यो वास्तविक घटनामा आधारित कथा थियो । २०७३ फागुन १६ गते धरानमा हत्या गरिएकी १३ वर्षीय अनुशा राई हत्या प्रकरणलाई नाटकले फेरि तहल्का मच्चायो ।


धरान प्रज्ञा प्रतिष्ठानले मंगलबार धरान सभागृहमा आयोजना गरेको धरान बाल नाट्य महोत्सवमा मञ्चन गरिएको ‘अधुरो यात्रा’ बाल नाटकको कथा र दृश्य हो । युरेका आवासीय स्कुलका शान्तिराम राईद्वारा लिखित र निर्देशित बाल नाटक ‘अधुरो यात्रा’ कुनै काल्पनिक कथा भने होइन । अढाइ वर्षअघि धरान-१६ सखुवागाछीमा भएको वास्तविक घटना हो । जिल्ला अदालत सुनसरीले २०७३ चैत १४ मा अनुशा हत्या र बलात्कार गरेको अभियोगमा बलिमान र पदमकुमारी राई दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरेको घटनालाई नाट्य रूपान्तरण गरेर बालकलाकारहरूले मञ्चन गरेका थिए ।


समाज र परिवारमा बालबालिकामाथि हुने यस्ता हिंसा, यौन दुव्र्यवहार, घरेलु हिंसा, छोरा र छोरीमा हुने विभेद, बलात्कार जस्ता घटनालाई धरानका बालकलाकारहरूले बाल नाट्य महोत्सवमा कलात्कम रूपमा आधा दर्जन नाटक मञ्चन गरेर स्याबासी पाए ।


पूर्वेली रंगमञ्चमा स्थापित शोभा खजुम, शारदा शाक्य र कविता नेपालले मञ्चन भएको आधा दर्जन बाल नाटकमध्ये अधुरो सपनालाई प्रथम पुरस्कारका लागि सिफारिस गरे । नभन्दै अधुरो यात्राले प्रथम पुरस्कारसँगै नगद ४५ हजार रुपैयाँ र नाटकका लेखन निर्देशक शान्तिराम राईले उत्कृष्ट निर्देशकको पुरस्कारका साथ नगद १० हजार पाए । निर्देशक राईले उत्कृष्ट निर्देशक भएर पाएको रकम धरानमा थिएटर हल निर्माणका लागि महोत्सवका संयोजक गोपाल देवानलाई मञ्चमै हस्तान्तरण गरेका थिए ।


धरानमा आयोजित दोस्रो बाल नाटक महोत्सवमा बालबालिकाले समाजमा घटेका वास्तविक घटनाका आधारमा दर्शकको मनछुने नाटक प्रदर्शन गर्छन् होला भनेर कमै कल्पना गरेका थिए । दर्शकले सोचविपरीत बालनाट्य महोत्सवमा बालकालिकाहरूले आफूभित्रको कल्पनाशीलता, सृजनशीलतालाई वास्तविक घटनामा आधारित बाल नाटक प्रदर्शन गरे ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?