१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामान्य कथामा अब्बल

सुशील पौडेल

काठमाडौँ — भोक मीठो कि भोजन ? चर्को भोक लागेको बेला जुनसुकै भोजन पनि स्वादिलो लाग्छ भने अघाएको बेला जतिसुकै मीठो भोजन पनि रुच्दैन । नेपाली दर्शकमा राम्रा फिल्मको भोक ठूलो छ । तर बर्सेनि प्रदर्शनमा आउने सय हाराहारीका फिल्मले पनि उक्त भोक मेटाउन सकेका छैनन् ।

सामान्य कथामा अब्बल

तीन वर्षअघि निर्देशक प्रदीप भट्टराईले पहिलो प्रयास गरे, दर्शकलाई 'जात्रा' चखाउने । फिल्म प्रशंसित बन्यो । तिनै निर्देशकले दोस्रो प्रयास गरे, 'शत्रुगते' । मीठो भोजनको अपेक्षा गरेका दर्शकको आँत भर्न नसकेका भट्टराईले

आफ्ना भोकाएका दर्शकलाई 'जात्रैजात्रा' को भोजन लिएर आएका छन् ।


भोकमा अझ भोजन पनि स्वादिलो भयो भने के होला ? यसको उत्तर 'जात्रैजात्रा' हेर्ने दर्शकले पाउन सक्नेछन् । 'जात्रा' कै सिक्वेल र त्यही स्वादसहित आएकोले 'जात्रैजात्रा' नौलो नलाग्ला तर नमीठो छैन । भट्टराईले दर्शकको भोक र भोजनबीचको तारतम्य मिलाएर पस्केका छन् ।


'जात्रा' मा अचानक भेटिएको तीन करोड रुपैयाँ पचाएर धनी बन्ने लालचामा प्रहरी फन्दामा जेल पुगेका थिए, फणिन्द्र -विपिन), मुन्ना -रवीन्द्र झा) र जोयश -रवीन्द्रसिंह) । ३ वर्षपछि अदालतले क्लिन चिट दिएर जेलबाट छुटेपछि उनीहरू फेरि दस किलो सुनको 'जात्रैजात्रा' मा फसेका छन् ।


तर तस्करहरूको सुन हात लागेपछि सोच बदलिन्छ । त्यसलाई पचाएर गुमेको सामाजिक स्टाटसलाई फेरि उठाउन धनी बन्न खोज्छ । यात्रामा मुन्ना र जोयश सामेल हुन्छन् । 'जात्रा' मा ३ करोड पचाउन नसकेर जेल पुगेका यी तीनले यसपटक सुन चक्करमा पार पाउलान् ? वा फेरि फस्छन् ? 'जात्रैजात्रा' को सुनको 'हाइड एन्ड सिक गेम' जति रोचक छ, उति नै यसको रिजल्ट अथवा क्लाइमेक्स पनि ।


'जात्रा' देखि 'जात्रैजात्रा' सम्म आइपुग्दा विषयवस्तु पैसाबाट सुनमा बढोत्तरी भए पनि पात्र, सेटअप र द्वन्द्वमा बदलाव छैन । बरु थपिएका छन्, सुन तस्कर दावा (दयाहाङ) र उनको समूह अनि बदलिएका छन्, फणिन्द्र र उनको समूह । निष्कलंक फणिन्द्रलाई सामाजिक र पारिवारिक दबाबले रकमी र केही चलाख बनाएको छ ।


पहिले नै देखे-चिनिसकेका पात्रलाई फेरि रोचक बनाइरहन सक्नुमा पटकथा र निर्देशन दुवैमा भट्टराईले बाउन्ड्री हानेका छन् । 'शत्रुगते' मा कमजोर बनाएको स्टाटसलाई 'जात्रैजात्रा' मा पुनर्उत्थान मात्रै गरेका छैनन्, आफूलाई प्रमाणित गर्न सफल छन् । लेखकका रूपमा उनले महिला हिंसा, खुलेआम हुने तस्करी, सम्बन्धविच्छेदले सन्तानमा पर्ने असर, विवाहेत्तर सम्बन्धका उपकथामार्फत पनि गतिलो सामाजिक व्यंग्य गरेर फिल्मलाई खदिलो बनाएका छन् ।


विपिनले फेरि आफूलाई एकपटक अब्बल कलाकार सावित गरिदिएका छन् । नैतिकवान् र इमानदारबाट ढुलमुल हुन खोजेको चरित्र, परिवारप्रतिको मायामा फणिन्द्रको चरित्रमा उनी जमेका छन् । दृश्यमा धेरै कलाकार हुँदा पनि दर्शकको दृष्टि आफूतर्फ खिचिरहन उनी सफल छन् । डार्क कमेडीदेखि हाउभाउ र हर्कतमा दर्शकलाई कुत्कुताइरहन सक्नु उनको सबल पक्ष हो । त्यसो त फिल्ममा कुनै पनि पात्र र चरित्र फितलो लाग्दैनन् ।


मुन्नाको भोलापनले जगाउने हास्यरस र जोयशले दिने पन्च लाइनले दृश्यपिच्छे दर्शकलाई रमाइलो बनाइरहन्छन् । बालकलाकारका रूपमा अरबिन खड्का थोरै समय दृश्यमा देखिए पनि विस्फोटक पारी खेलेर जान्छन् । कमेडी फिल्मको लेप लागेको 'जात्रैजात्रा' लाई मर्मको आँसुले पखालेर जान्छन् । दयाहाङले 'जात्रैजात्रा' मा आफू हुनुको अर्थ स्थापित गरिदिएका छन् । सबै पात्रलाई न्याय गर्नु र चरित्रलाई बलियो बनाउन सक्नु पनि फिल्मको अब्बल पक्ष हो ।


राम्रो फिल्मका लागि राम्रो कथा हुनुपर्छ वा राम्रो पटकथा ? यसको गतिलो जवाफ 'जात्रैजात्रा' हो । कथा सामान्य हो । अझ भनौं, 'जात्रा' को भन्दा खास फरक केही छैन । तर यसको चुस्त पटकथाले पात्रलाई मूलकथाबाट बहकिन दिएको छैन भने लक्ष्य उन्मुख यात्रा पट्यारलाग्दो छैन ।


यसलाई कलाकारहरूले सजीव रूपमा पर्दामा उतारिदिएका छन् । छायांकन, पृष्ठभूमि संगीतले द्वन्द्वको मुडलाई राम्रोसँग बुझेर पछ्याएका छन् भने फिल्मका दुई गीत प्रायः नेपाली फिल्ममा हुनेजस्तो शौचालय जाने बहाना बनेका छैनन् । समग्रमा 'जात्रैजात्रा' अभिनय, प्रस्तुतीकरण र मनोरञ्जनका लागि उपयुक्त खुराक बन्न सक्छ । गतिलो फिल्मको भोक लागेको छ भने, 'जात्रैजात्रा' उपयुक्त भोजन हुन सक्छ ।


फिल्म समीक्षा

जात्रैजात्रा

निर्देशक :प्रदीप भट्टराई

कलाकार :विपिन कार्की, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, राजाराम पौडेल

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?