विश्वविद्यालयमा 'लाइभ पेन्टिङ'

काठमाडौँ — केही विद्यार्थी मुहार चित्र बनाउँदै थिए, केही माटाका भाडा बनाउँदै त केही नाचगानमा व्यस्त । विभिन्न खेल र कला प्रदर्शनी पनि सँगसँगै भइरहेको थियो ।

विश्वविद्यालयमा 'लाइभ पेन्टिङ'

त्यत्तिकैमा चित्रकार किरण मानन्धर काठमाडौं विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट, सेन्ट जेभियर कलेज र नेसनल कलेजले नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजना गरेको 'मिट एन्ड गि्रट' मा देखिए ।


उनलाई विश्वविद्यालयले 'लाइभ पेन्टिङ' को लागि निम्त्याएको थियो । विद्यार्थी उनको लाइभ पेन्टिङ हेर्न उत्सुक थिए । उनले क्यानभासमा रङ पोत्न थाले । हेर्दाहेर्दै एउटा स्त्री आकृति बन्यो । 'म केही पनि होइन,' चित्र बनाउनुअघि मानन्धरले भनेका थिए, 'जब क्यानभासमा छुन्छु, छुट्टै खालको तरंग उत्पन्न हुन्छ, ऊर्जा निस्कन्छ ।'


काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका विद्यार्थी सञ्जु थापा मगरले 'वरिष्ठ' चित्रकारको काम प्रत्यक्ष हेर्दा चित्रमा देखाउन चाहेको भावभंगीअनुसारको रंगको प्रयोग कसरी गर्ने भन्ने सिक्न सकिने बताइन् ।


कार्यक्रममा विभिन्न विषयमाथि निर्माण गरिएको वृत्तचित्र र छोटा चलचित्र पनि प्रदर्शन गरिएको थियो । शैलेश आरसीको लेखन र विकास पोखरेलको निदेर्शनमा रहेको 'एट कलर इन द रेन्बो' फिल्मले नेपालको शिक्षा प्रणालीले सिर्जनात्मक क्षमता मारिरहेको सन्देश दिन खोजेको थियो । वृत्तचित्र 'सेल्टर' ले सुकुम्वासी समस्यालाई उठाएको थियो ।


विद्यार्थीले मानविकी शिक्षाको विषयमा छलफल कार्यक्रम पनि सञ्चालन गरेका थिए । उनीहरूले गीत गाए, नाचे, कविता वाचन गरे, नाटक देखाए, शैक्षिक प्रदर्शनी गरे । विद्यार्थी आफैंले तयार पारेका खाना र पेय पदार्थका विभिन्न परिकारको पनि स्टल राखिएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको कला र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वविद्यालयले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?