चीनमा संस्कृति साट्दै नेपाली

फूलमान वल

बेइजिङ — बंगलादेशी कलाकारले माछा मार्ने ढडियासँगै डुंगा खियाउने शारीरिक चालढाल नृत्यमा मिसाउँदै गर्दा नेपाली कलाकारले भने दुई हात एकपटक भुँइतिर त अर्कोपटक निधारतिर ल्याउँदै ढोगेको अभिनय गरे ।

चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा सहभागी नेपाली टोली । तस्बिर : फूलमान/कान्तिपुर

चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा यसरी मारुनी नृत्यको स्टेप मिसाउने आइडिया रचेका हुन् नृत्य निर्देशक प्रशान्त तामाङले ।

'लोक जीवनबाट हराउँदै गएर झन्डै झन्डै स्टेज कार्यक्रमतिर मात्रै सीमित हुने अवस्थामा रहेको मारुनीलाई एसियाली सभ्यतासँग एकाकार गराउन पाएको क्षण सधैं सम्झनामा रहनेछ,' धरानका प्रशान्तले भने । परेडमा प्रशान्तले थारू नृत्यका लागि समेत काम गरेका छन् ।

उनलाई मारुनी र थारूमा पूजा पन्त, सृष्टिका बिसंखे, नेहा चौधरी, दीपिका पाठक, निशा श्रेष्ठ, अनिशा न्यौपाने र मिलन मगरले सघाएका छन् । सुसन लामाले भारतको नयाँदिल्लीबाट कत्थक नृत्य सिके । नेपाल फर्केपछि केही समय उनी यही नृत्यको प्रवर्द्धनमा पनि लागि परे । तर, जसै उनी आफ्नै समुदायको संस्कृतिभित्र पसेर खोज अनुसन्धान गर्न थाले, उनको परिचय बन्यो तामाङ सेलोमा ।

मौलिक सेलो गायन र संगीतमा मात्रै उनी चिनिएका छैनन्, नृत्य निर्देशक र रंगकर्मीको रूपमा पनि उनले आफ्नो परिचय सुरक्षित पारेका छन् । एसियाली सिभिलाइजेसन परेडका लागि सेलो नृत्यको स्टेप उनकै अवधारणामा मिसाइएको हो । तामाङ मौलिक परिधानसँगै डम्फु बोकेर ओलम्पिक पार्क उत्रिएका उनलाई शान्ति वाइबा, सम्झना लामा र सागर तामाङले पनि नृत्यमा सघाएका छन् ।

'स्टेजको परिष्कृतभन्दा पनि गाउकै मौलिक स्टेप टिपेका छौं,' सेलो थिएटरका तर्फबाट टोली प्रमुख सुसनले भने । सुसनका अनुसार तामाङ सेलोबाट अचेल डम्फु हराउँदै गएको छ र धेरैजसो व्यावसायिक स्टुडियोहरूले किबोर्डको डिजिटल साउन्डबाट काम चलाउन थालेका छन् । साँच्चिकै डम्फु प्रयोग गर्दा महँगो पर्ने भएकोले यस्तो भएको हो ।

परेडमा एसियाका विभिन्न १७ मुलुकका कलाकारले आआफ्ना वाद्ययन्त्रसहितको प्रस्तुति दिँदै गर्दा मौलिक बाजागाजाको महत्त्व प्रकाशमा आएको छ । भक्तपुरको मौलिक नेवार परिधानमा सजिएका बालमुकुन्द प्रजापती वर्ष दिनअघि सत्यमोहन जोशीको नाटक 'अरनिको' गर्दा लिड रोलमा थिए । झन्डै आठ सय वर्षअगाडि थुप्रै नेपाली कालिगढ लिएर तिब्बत हुँदै बेइजिङ आइपुगेका अरनिकोको भूमिका गरेका उनी यसपटक आफैं यहाँ आइपुगे ।

नाटकमा भादगाउँले टोपी लाएका बालमुकुन्द एसियाली सिभिलाइजेसन परेडमा पनि क्रस खुकुरीसहितको त्यही टोपी लाएर नाचिरहेका छन् । उनलाई इना साागाछें, शनिबारे, पूजा गिरी, श्रेया प्रधान, अनुशा सिञ्जालीले सघाएका छन् । परेडमा सनी र अनुशाले सन्थाल नृत्यका लागि पनि काम गरेका छन् ।

दुई दशकभन्दा बढी समय भयो, पोखरामा हिमाली सांस्कृतिक परिवार संस्थागत भएको । गुरुङ समुदायलाई केन्द्रमा राखेको भए पनि विभिन्न समुदायको लोकनृत्यमा समान ढंगले काम गर्दै आएको यो समूहको नेपाली लोकनृत्य संरक्षणसम्बन्धी आफ्नै नीति बनाएका छन्, सित्तैमा सिक्ने, अनि सित्तैमा सिकाउने ।

'सिक्न आउनेसग पैसा लिनुभन्दा सिकिसकेपछि उसैले अर्को ब्याचलाई सिकाउनुपर्ने भएपछि त सजिलो भयो नि,' यो समूहका तर्फबाट कौरानृत्य लिएर आएका युवराज गुरुङले भने, 'नयाँ पुस्तामा पनि सजिलै संस्कृति हस्तान्तरण हुने भयो । पैसाकै कारण रोकिने भएन ।'

पश्चिम र मध्य पश्चिम भेकको गुरुङ र मगर समुदायमा प्रचलित कौरा नृत्यका लागि खैंजडीसहित उनको टोली परेडमा सहभागी छ । टोलीमा सीमा गुरुङ, यमकला गुरुङ, तारा थापामगर, संगीता आले, विराज मगर, मीनप्रसाद गुरुङ र सञ्जय गुरुङ छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पीबी शेली र रातो गुलाब चर्चा

पोखरा साहित्य महोत्सव
दीपक परियार

लेखनाथ — बैजनी रंगको फूलले ढकमक्क छ काठमाडौं । पारिजातको 'शिरीषको फूल' कि जकारान्डा भन्ने बहसले सामाजिक सञ्जाल रंगिएको छ । फेवाताल किनारमा भएका दुई-तीन बोट जकारान्डाले त्यो बहस पोखरासम्म ल्याएको छैन ।

पोखरा साहित्य महोत्सवमा शनिबार पारिजातको कविता 'रातो गुलाब’ बारे बोल्दै साहित्यकार खगेन्द्र संग्रौला । तस्बिर : दीपक/कान्तिपुर

बरु, पारिजातकै 'रातो गुलाब' कवितामाथि विमर्श भएको छ, शनिबारको पोखरा साहित्य महोत्सवमा ।
दर्शकदीर्घामा मन्त्रमुग्ध भएर बसिरहेका थिए उनै खगेन्द्र संग्रौला, जसले वर्षाैं पहिले पारिजातको अंग्रेजी कविता 'रेड रोज' अनुवाद गरेर 'रातो गुलाब' बनाएका थिए । उनको पहिचान जनाउने सेतै कपाल थियो । ढयाके चस्मा थियो ।

'रातो गुलाब' माथि बोल्न आउँदा रातो झोला थिएन । हम्मेसी साथै हुने रातो झोला उनले कहाँ राखे ? १५ मिनेटको आफ्नो सेसनमा उनले खुलाएनन् । रातो गुलाब अनुवादको सन्दर्भ सुनाए । 'कविता मैले बिर्सिसकेको थिएँ ।

आयोजकले भनेपछि धमिलो सम्झना मलाई के आयो भने पारिजातको दुईवटा कविता मैले अंग्रेजीबाट नेपालीमा अनुवाद गरेको थिएँ, एउटा 'रेड रोज' र अर्को 'डेथ (मृत्यु)',' उनले सम्भिए, 'रेड रोजमा के थियो मलाई थाहा थिएन । निस्सारताकालीन कविता हो कि, राल्फाकालीन कविता हो कि, अवसानको बेलाको कविता हो । मलाई थाहा थिएन ।'

पारिजातको २०४८ मा देहान्त भएपछि सुकन्याले आफूलाई अनुवाद गर्न दुई कविता दिएको उनले स्मरण गरे । कविता अनुवादका बारेमा भने आफ्नो मत अलि अप्ठेरो भएको उनले बताए । कविता अभिव्यक्तिका विधामध्ये सबैभन्दा कठिन, संक्षिप्त, सूत्रबद्ध, सूक्ष्म र तीक्ष्ण हुने भएकोले जोहोकीले लेख्न नसक्ने र लेखिएकाको अनुवाद गर्न नसक्ने उनको तर्क छ ।

महोत्सवमा पारिजातको विद्रोही कविता मात्रै सुनिएन, अंग्रेजी कवि पर्सी बयसी (पीबी) शेलीका प्रेमिल कविता पनि सुनिए । स्वच्छन्दतावादी ती महान् कविका कविता अर्का युवा कवि त्रिवेणीले वाचन गरे । शेलीका कविता 'ओजिमेन्डियस', 'फिलोसोफी अफ लभ' र 'ज्युज (यहुदी)' मा त्रिवेणी उम्दा सुनिए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT