१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कलामा दबिएका आवाज

सुशीला तामा‌ङ

काठमाडौँ — 'शब्दले भन्दा चित्रले धेरै प्रभाव पार्छ । जति चित्रकलामा विचार र भावना अभिव्यक्त हुन्छ, ती सबै शब्दमा व्यक्त गर्न सकिँदैन,' कलालाई मनको विचार प्रस्फुटन गर्ने माध्यमका रूपमा प्रस्ट्याउँदै थिए ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार ।

कलामा दबिएका आवाज

नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि जारी 'नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी' ले यतिबेला कलाप्रेमीको मन तानिरहेको छ । देशैभरिका कलाकारका कृतिमा कतै समाज, कतै धर्म, कतै प्रकृति बोलेको छ भने कतै वर्तमान परिस्थिति बोलिरहेको भान हुन्छ । प्रदर्शनीमा राखिएका महिला कलाकारहरूको 'विमेन्स फ्रिडम', 'प्युरिफिकेसन बाथ' शीर्षकका क्यानभासले महिला विचार र भावना अभिव्यक्त गरेका छन् । कलाकार भावना गोल्डीले उतारेको क्यानभासमा विवाहपछि महिलाले भोग्नुपर्ने चुनौतीलाई दर्साइएको छ ।


वैवाहिक जीवनको शुभारम्भसँगै महिलाले स्वतन्त्रता, अवसर, शिक्षा, समानता, सम्मान, परिचय लगायतका सबै कुराका लागि गर्नुपर्ने संघर्ष कलामा पोखिएको छ । त्यसैगरी महिलाले रजस्वला भएपछि तनमन शुद्धिका लागि तीजको भोलिपल्ट पञ्चमीको दिन दतिवन पानीले नुहाउने परम्परालाई कलाकार जस्मिन राजभण्डारीले कलाकात्मक र सुन्दर ढंगले प्रस्तुत गरेकी छन् ।


आँखाले देखेका र आफूले भोगेका सबै कुराको प्रतिकार गरेर चुनौती दिन सकिँदैन । त्यही मनभित्र रहेका कुण्ठित भाव प्रायः कलाका माध्यमबाट प्रस्फुटन हुने नेपाल कला परिषद्की लोककला विभागीय प्रमुख प्राज्ञ मिथिलादेवी यादव बताउँछिन् । उनी भन्छिन्, 'मेरो कलामा पनि तराईमा व्याप्त रुढीवादी परम्परा र त्यसमा पिल्सिएका नारीहरू नै प्रतिविम्बित छन् ।'


उनको एक क्यानभासमा माछा मार्ने जालभित्र माछा र नवविवाहित महिला संवाद गरिरहेको देखिन्छ । यसबारे यादव भन्छिन्, 'जालमा परेको माछा र विवाहित महिलाको अवस्था उस्तै उस्तै हो । दुवै अरूकै इसारामा चल्नुपर्छ । माछालाई मानिसले समातेर ल्याएपछि इच्छाअनुसार खान्छ । महिलालाई पनि एउटा पुरुषले विवाह गरेर आफ्नो घरमा ल्याएपछि बन्धनमा राख्छ । स्वतन्त्र हुन दिंदैन । पतिको अनुमतिमा चल्नुपर्छ ।'


प्रदर्शनीमा राखिएका परम्परागत, समकालीन र आधुनिक शैलीका प्रत्येक कलामा विविध विचार प्रस्तुत भएका छन् । कलाकै शैलीमा कार्टुन माध्यमबाट भए पनि कलाकारले मेलम्चीको पानीदेखि लिएर संघीयता, ओली सरकारको पानीजहाज, सडक, साक्षर नेपाल, सुखी जनता समृद्ध नेपालजस्ता पक्षलाई व्यंग्य गरेका छन् । व्यवहारमा देखाउन नसक्ने पक्ष कलामा अभिव्यक्त हुँदा कलाकारमा एक किसिमको सन्तुष्टि आउने विभागीय प्रमुख यादव बताउँछिन् ।


कलाकृतिले मानिसलाई मोहित पार्नुका साथै उत्तेजना पैदा गर्न सक्ने सामथ्र्य राख्ने उपकुलपति चित्रकार बताउँछन् । उनी भन्छन्, 'कलामा समाजको छाया, विचार र भाव झल्केको हुन्छ । देशको चिनारी कलाले बोकेको हुन्छ ।' देशको कठिन परिस्थितिमा पनि कलामा जति विकास र समृद्ध छ त्यसको तुलनामा कलालाई हेर्ने राज्यको नजरमा भने विकास हुन नसकेकोमा उनी दुःख व्यक्त गर्छिन् ।


प्रदर्शनीमा रहेका परम्परागत शैलीका पौभा, थाङका चित्रले पनि मन लोभ्याउँछ । परम्परागत शैलीका कलामा नयाँ पुस्ताको आधुनिकताको मिश्रण उत्कृष्ट रहेको प्रदर्शनी अवलोकनका लागि आएका स्याङ्जा वालिङका ७९ वर्षीय देवीप्रसाद वनवसीले बताए । नयाँ पुस्ताले आधुनिकता ल्याए पनि परम्परामा टेकेर हिंडेकोमा भने उनले खुसी माने ।


यात्रुहरू माइक्रो बसमा झुन्डिएको क्यानभासले अहिले आम मानिसले सार्वजनिक सवारी साधनमा भोगेको पीडालाई कलाकार सुरेश बस्नेतले सशक्त रूपमा उतारेका छन् । प्रदर्शनीमा यथास्थितिवाद झल्काउने र अमूर्त शैलीका सबैजसो क्यानभास, मूर्तिकला, चित्रमा सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राकृतिक भाव व्यक्त भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा देशभरका कलाकारको ५ सय १५ वटा कलाकृति राखिएका छन् । प्रदर्शनी जेठ २२ सम्म जारी रहनेछ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?