चर्चित कलाकार ल्याउनै गाह्रो

आनन्द गौतम

ताप्लेजुङ — दिनेश लिंखिम नेतृत्वको पाथीभरा युवा क्लबले दर्जन बढी कलाकारलाई जिल्लामा निम्त्याए । नेपाली सेनाको गुल्मको प्रांगणदेखि तोक्मेडाँडासम्म सांगीतिक कार्यक्रम गरे ।

ताप्लेजुङको फुङलिङस्थित सैनिक ब्यारेकमा बनाइएको मञ्चमा गीत गाउँदै कलाकार ।तस्बिर : आनन्द/कान्तिपुर

नाम चलेका कलाकारहरू राजेशपायल राई, दीपक लिम्बू, प्रमोद खरेल, शिव परियार, जगदीश समाल, इन्दिरा जोशी, रामचन्द्र काफ्लेले सेनाको गुल्मभित्र बनाइएको मञ्चबाट प्रस्तुति दिए । अञ्जु पन्त, एलिना राई, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई लगायतका कारलाकारलेपनि बेलाबखत ताप्लेजुङ आएर प्रस्तुति दिए ।

पाँचथरका मित्र लिङदेन नेतृत्वको टोलीले ताप्लेजुङ आएर पटक/पटक कार्यक्रम आयोजना गरे । नायक राजेश हमाललाई ताप्लेजुङ ल्याए । फिल्म ‘माटो’ को सन्दर्भमा ल्याइएका हमाल उपस्थित कार्यक्रम टिकट काटेर आयोजना गराइएको थियो ।

हमालबाहेक जगत राना मगर, सुदीप ठाकुर, रजिना रिमाल, सुरेश अधिकारी, विरेन लिम्बू, हिमाल सागर, दिनेश भारतीजस्ता कलाकारलाई मित्रले ताप्लेजुङ भिक्र्याए र कार्यत्रम गरे । ताप्लेजुङ आइडलको पहिलो र दोस्रो दुवै संस्करणमा आउने कलाकारमा रजिना रिमाल, अनु शाह, सत्यकला शाही, पूर्ण कांवाङ लगायतका कलाकार थिए । माता पाथीभरा फिल्मको ब्यानर राखेर कार्यक्रम आयोजना गरिएको थियो ।

दिनेश र मित्रको अलावा क्षितिज सुनुवार नेतृत्वको दोखु युवा क्लब, केशव आचार्य नेतृत्वको सोसियल युथ गाइज लगायतका संस्थाले राष्ट्रिय कलाकार भित्र्याए । तर २ वर्षयता कलाकार भित्र्याएर कसैले पनि कार्यक्रम गरेका छैनन् । पहिलाका आयोजकहरू कार्यक्रम गर्नै हम्मे भएको र घाटामा गएको बताउँछन् ।

दिनेशले भने, ‘एउटा कार्यक्रम गर्न कम्तीमा ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । तर त्यो पैसा उठाउनै सकिँदैन ।’ उनले पहिला लहैलहैमा लागेर राष्ट्रियस्तरका कलाकार बोलाएर कार्यक्रम गरे पनि अहिले थाकेको तीतो अनुभव सुनाउँछन् ।

सोसियल युथ गाइज पनि अब कलाकार ल्याउने योजनामा छैन । संस्थाका उपाध्यक्ष संगीता कार्कीले आयोजनाको तनाव धेरै हुने तर लाभ नहुने भएकाले अहिले त्यो विषयमा छलफलै हुन छोडेको बताउँछिन् ।

दिनेशका अनुसार एउटा कार्यक्रममा चलेका कम्तीमा २ जना कालाकार निम्त्याउनुपर्छ । उनीहरूलाई पारिश्रमिक नै तीन लाख रुपैयाँसम्म दिनुफर्छ । घरदेखि कार्यक्रम स्थलसम्म र कार्यत्रम स्थलदेखि घरसम्मको खर्च व्यहोर्नुपर्छ ।

कार्यक्रमको अघिल्लो दिनदेखि बिदा हुदाँसम्मको होटल खर्च एक लाख रुपैयाँको हाराहारीमा उठ्छ । कलाकारसँग बसेर खाने र हिँड्नेहरू धेरै हुन्छन् । स्टेज निर्माण,साउन्ड सिस्टम, प्राविधिक, स्थानीय एफएम, पत्रिका, ब्यानर, पोस्टर पम्प्लेटमा हुने खर्च पनि उच्च हुन्छ ।

अतिथि सत्कारमा लगाइने ब्याच, खादा, टिकट कटाउन हिँड्ने स्वयंसेवकको खाना तथा खाजा खर्चजस्ता कारण व्ययभार उच्च हुने भएकाले कार्यक्रम गर्नै नसक्ने अवस्था भएको दिनेशले बताए । कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भए पनि महँगीका कारण गर्ने अवस्था नभएको उनी बताउँछन् ।

‘अहिले कलाकार ल्याउँछु र कार्यक्रम गर्छु भन्ने भावना अधिकांश पूर्वआयोजकको मानसपटलबाट हराएको छ,’ दिनेशले बताए । जिल्लामा २०५८ देखि बाहिरबाट कलाकार ल्याएर कार्यक्रम गरेको पाइन्छ । याक्थुङ कलाकार संघले सामुदायिक भवनमा किशोर थुलुङ लगायत कलाकारलाई ल्याएर कार्यक्रम गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नेपालभाषामा सिर्जना घट्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालभाषा (नेवारी भाषा) साहित्य सिर्जना कार्यक्रम घट्दै जान थालेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपालभाषा परिषद्ले संयुक्त रूपमा आयोजना गरेको ‘नेपालभाषा साहित्यमा काव्ययात्रा गोष्ठी’ मा ऊक्त विचार व्यत्त गरेका हुन् ।

नेपालभाषाको काव्यिक इतिहास ४ सय ६८ वर्षअघि सुरु भएको हो । मल्ल कालमा नेपालभाषा राजकीय भाषाका रूपमा प्रयोग गरिन्थ्यो ।

‘नेपालभाषा साहित्य प्राचीनकालदेखि अहिलेको अवस्थासम्म हेर्दा सबैभन्दा बढी लेखिएको, बढी पुस्तक प्रकाशन भएको तथा बढी सर्जक भएको विधा कविता नै हो,’ नेपालभाषाको कविता यात्रा शीर्षक कार्यपत्र प्रस्तुत गर्दै राजेन मानन्धरले भने, ‘प्रजातन्त्रपछि गणतन्त्र आयो । मानौं जनताले चाहेको सबै थोक आयो । यस्तो अवस्थामा नेपालभाषा काव्य क्षेत्र फेरि एकपल्ट खुलेर हुर्कनुपर्ने थियो । तर त्यो पनि अपेक्षाकृत सक्रिय बन्न सकेन । न नयाँ सिर्जनाले नयाँ रंग देखाउन पायो न पुराना हस्तीहरूले आफूलाई समयसापेक्ष बनाएर पस्कन सकेँ ।’

काव्य विधाअन्तर्गत गद्य र पद्य कविता, मुक्तक, गीत, गजल, हाइकु, खण्डकाव्य, महाकाव्यलाई लिइएको मानन्धरले उल्लेख गरेका छन् । राजनीतिक आन्दोलनसँगै जातीय मुद्दाले भाषालाई पहिचानको विषयका रूपमा उठाइएकोले भाषा बाँचिरहेको भान मात्र परेको तर सम्बन्धित समुदायका स्रष्टाहरूको प्रवर्द्धन हुन नसकेको दाबी गरे ।

‘अर्कोतर्फ अबको समाज पहिलेजस्ता साँघुरिएको परम्परावादी वा यथास्थितिवादी रहेन,’ कविहरू प्रविधिको प्रभावबाट मुक्त नरहेको उल्लेख गर्दै मानन्धरले भने, ‘विज्ञान र प्रविधिको विकाससँगै मोबाइल, इन्टरनेटमा व्यक्तिगत पहुँच बढेकाले समाजलाई व्यापकपरिवर्तन गरिदिएको छ ।’

समालोचक पूर्ण ताम्राकारले कार्यपत्रमाथि टिप्पणी गर्दै शुक्रराज शास्त्रीले नेपालभाषामा कृति लेखन र ग्रन्थ प्रकाशन गरेकैले तत्कालीन राज्यसत्ताले फाँसी चढाएको बताए । उनले भने, ‘यो भाषा नेवार जातिले बोल्छन्, लेख्छन् पढ्छन्, साहित्यको संरक्षण गर्छन् । तर, सरकारले मुलुकमा बोलिने भाषाहरूलाई उचित स्थान नदिएकाले आज ह्रासोन्मुख स्थितिमा पुगेका छन् ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT