मीन भामको फिल्मलाई ६० हजार डलर

काठमाडौँ — नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’ ले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ । सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट उत्कृष्ट ६ प्रोजेक्ट छानेको जनाएको छ । जसमा चार कथानक फिल्म र दुई डकुमेन्ट्री रहेका छन् ।

मीन भामको फिल्मलाई ६० हजार डलर

निर्णायकले छनोट भएका छ प्रोजेक्ट दमदार अवधारणा, चाखलाग्दा चरित्रहरू र विशिष्ट दृष्टिकोण भएकैले फिल्म निर्माणका लागि सहयोग रकम दिन लायक भएको जनाएका छन् । नेपालबाट भामसागै अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्री र जर्जियाको भेनिसले ६० हजार डलरकै ग्रान्ट जितेका हुन् ।


भामको निर्देशन रहने ‘अ इयर अफ कोल्ड’ हराएको पतिको खोजीमा निस्किएकी एक गर्भवती महिलाको यात्रा वर्णन हो । उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजीको लागि हिमालय यात्रामा निस्किन्छिन् । जुन व्यथापूर्ण यात्राबाट उनीहरूको जीवनले नै कोल्टे फेर्नेछ ।


भामको फिल्मबारेमा निर्णायकले पितृसत्तात्मक सोचले गहिरो गरी जकडिएको समाजमा आफ्नो अधिकार र परिचयको लागि दैनिक संघर्ष गरिरहेका महिलाहरूको जीवनलाई सूक्ष्म तरिकाले देखाएको टिप्पणी गरेका छन् । साथै, निर्णायकले भामको पटकथाले नेपालको स्वास नै अड्कने खालको दृश्य र त्यहाँको सांस्कृतिक चालचलनलाई फिल्मका मुख्य पात्रमार्फत काव्यात्मक शैलीमा प्रस्तुत गरिएको जनाएका छन् ।


सरफन्ड नर्वेजियन फिल्म इन्स्टिच्युटबाट सञ्चालित अन्तर्राष्ट्रिय सहनिर्माण फन्ड हो । यस फन्डमा ८५ देशका निर्माताहरू सामेल छन् । यस फन्डको मुख्य उद्देश्य विकासोन्मुख देशका फिल्म निर्माणका लागि सहयोग रकम जुटाइदिनु हो ।


सांस्कृतिक अभिव्यक्ति, विविधता र कलात्मकताका साथै स्वतन्त्रताको आवाज बोल्ने खालका फिल्म प्रोजेक्ट सरफन्डको छनोटमा पर्ने गर्छन् ।


यसअघि पनि भामको फिल्म कालो पोथीले बर्लिन फिल्म फेस्टिभलअन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत ३९ लाख रुपैयाँ, स्विट्जरल्यान्डको भिजन सुदबाट ५५ लाख रुपैयाँ बराबरको फन्ड रकम जितेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?