जीवन भोगाइ बोल्ने “ब्रिफ क्यान्डल”

सुशीला तामा‌ङ

काठमाडौँ — जीवनमा सबैको आ–आफ्नै किसिमको भोगाइ हुन्छ । जीवन जिउने यात्रामा अगाडि बढिरहँदा सुख–दुःख, हाँसो–आँसुको पनि अनुभव गर्ने क्षण आइरहन्छन् । सबैसँग आफ्नै सपना, विगतका स्मरण हुन्छन् ।

राजधानीको मण्डला थिएटरमा ॅब्रिफ क्यान्डल’ मा अभिनय गर्दै कलाकार । तस्बिर : कविन अधिकारी/कान्तिपुर

हर्ष र दुःख मिश्रित क्षणहरूमा आफूलाई जसरी ढाल्न खोजे पनि आखिर मानिस जीवन र मृत्युबीचको चक्रमै रुमलिरहेकै हुन्छन् । मानिसले हरेक निराशालाई आशामा परिवर्तन गरी कसरी हाँसोमा परिणत गरिरहेका हुन्छन् भन्ने मूल विषयलाई उठान गरेको छ नाटक ‘ब्रिफ क्यान्डल’ ले ।

मण्डला थियटरमा मंगलबार सुरुनाटकमा पात्रहरूको जीवन र मैनबत्तीलाई उस्तै रूपमा तुलना गरिएको छ । जसरी मैनले आफू समाप्त हुँदै अन्तिम समयसम्म पनि अरूलाई प्रकाश दिन्छ, त्यसरी नै मृत्युसँग लडिरहँदा पनि नाटकभित्र पात्रहरू अरूको खुसी र केही राम्रो काम गरेर जीवनबाट बिदा लिन लागिपरेका छन् ।

यसमा हरेक मानिसका जीवनका भोगाइलाई उतार्न खोजिएको छ । नाटकमा रहेका ८ पात्रहरूमा आ–आफ्नै किसिमका जीवनका पीडा र भोगाइ छन् । सबैजनामा आफ्नै जीवनका तीतामीठा स्मरण र सपनाहरू छन् । नाटकको कथा क्यान्सर हस्पिसमा रहेका क्यान्सर पीडितहरू र तिनीहरूको हेरचाहमा रहेका मानिस, डाक्टर, नर्सको वरिपरि नै घुम्दै जान्छ ।

पात्रहरूमा कसैलाई स्तन क्यान्सर, कसैलाई ब्लड, कसैलाई प्रोस्टेट क्यान्सर छ । मृत्युसँग लडिरहेका सबै पात्रलाई जीवन कतिखेर के हुन्छ थाहा छैन । सबैजना मृत्यु र त्यसको विकल्पकै लागि भौंतारिरहेकै भेटिन्छन् । नाटक मञ्चनका समयमा नाटकको पुष्ठभूमिमा बज्ने हिन्दी मधुर गीतहरूले कथामा भारतीय परिवेश रहेको ज्ञात हुन्छ ।

नाटक रिहर्सलका क्रममा देखिने उत्साहित र हँसिला पात्रहरूले दर्शकलाई रोमाञ्चित बनाउँछ । उति नै खेर नाटकमा देखिने पात्रहरू क्यान्सरपीडित बिरामीहरूको रुपमा मञ्चमा देखिँदा दर्शक दुःखी हुन्छन् । एउटा नाटकको कथामा उही पात्रहरूलाई दोहोरो भूमिकामा बाँधिन सहज तुल्याउने निर्देशक रोज स्विट्जको निर्देशनको पाटो तारिफयोग्य छ । कथाभित्रै नाटकका पात्रहरूलाई फेरि अर्को रूपमा परिवर्तन गरी नाटकमा कतै दुःखान्त, कतै मायाप्रेम, कतै खुसीका क्षणहरू र कतै पात्रहरूको मनोभावयुक्त परिवेश हेर्दा कथा लेखनमा महेश दत्तानीको क्षमता स्पष्ट हुन्छ ।

नाटकमा देखिने पात्रहरूमा विकास तिवारी (सुरज मल्ल) को पहिले नै कापोसिस सार्कोमा क्यान्सर र एचआईभी संक्रमणबाट मृत्यु भइसकेको हुन्छ । नाटकभित्र देखिने उसलाई एउटा आत्माको रूपमा मात्र प्रस्तुत गरिएको छ । विकास र डाक्टर दीपिका (सुरभी सापकोटा) को प्रेमसम्बन्धलाई एउटा विगतको स्मरणको रूपमा नाटकमा सुन्दर ढंगबाट देखाइएको छ । विकासको जीवनको अन्तिम समयमा पुनः दीपिकासँग भेटेर मृत्युको अन्तिम क्षणको दृश्य निकै नै कारुणिक छ । दीपिकाको स्मरणमा छाइरहने विकास र उनको प्रेमले नाटकमा मायाप्रेमको दुःखान्तलाई प्रस्तुत गर्छ ।

क्यान्सरपीडित अर्को पात्र अमोल घोष (विकास जोशी) को मृत्युपछि झन् पीडा थपिन्छ । कोष स्थापना गर्नकै लागि भए पनि अरूलाई हँसाएर हस्पिसका सदस्यहरूले नाटक देखाउँछन् । नाटकमा शान्तिको भूमिकामा रहेकी विनीता थापामगरले स्तन क्यान्सरपीडित भूमिका देखिएकी छन् । तर नाटकको पात्रहरूले बनाउने नाटकमा भने उनी होटलको बारमा नृत्य गर्ने एक नृत्याङ्गनाका रूपमा प्रस्तुत हुन्छिन् । बारमा देखिँदा उनको मुहारमा देखिने झलकले दर्शकलाई जति हसाउँछ ,त्यति नै उनी शान्तिको रूपमा फर्कंदा दर्शकमा रोदन छाउँछ ।

नाटकको पात्रहरूमा विगतले जसरी सताउँछ र पीडा दिन्छ, त्यसरी नै हरेक मानिसलाई उसको विगतले सम्झना बनी
पछ्याइरहेको हुन्छ । जुन असाध्यै पीडादायी हुन्छ । यसरी नाटकमा मानिसको जीवनको विभिन्न उत्तारचढावहरूलाई देखाउनु नै मुख्य विषयवस्तु रहेको निर्देशक रोज बताउँछिन् ।

‘मानिसमा जति पीडा भए पनि हरेक पल ऊ हाँस्ने र अरूलाई खुसी दिन खोजिरहेको हुन्छ । पात्रहरू आफैंमा क्यान्सर छ । जसले मृत्यु कुरिरहे पनि पीडा लुकाएर स्टेजमार्फत अरूलाई हँसाएर कोष स्थापना गर्न खोजिरहेका छन्,’ उनी भन्छिन् ।

अंग्रेजी भाषामा प्रस्तुत गरिएको नाटकमा विनीता, सुरभी, सन्दिप श्रेष्ठलगायतका नेपाली कलाकारहरूको अभिनय उत्कृष्ट त छँदै छ, अझ उनीहरूले बोल्ने संवादहरूमा नेपाली भाषाशैलीको कुनै लवज नआउँदा विदेशी कलाकारहरू हुन् कि भनेर दर्शकहरू झुक्किन्छन् । विनीता थापामगर, सुरभी सापकोटा, सन्दिप श्रेष्ठ, परिक्षित विक्रम राणा, विकास जोशी, विम्बा अधिकारी, मदन पराजुली र सुरज मल्ल आदि कलाकारहरूको मुख्य भूिमका रहेको नाटक जेठ १३ सम्म मण्डलामा मञ्चन हुनेछ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मीन भामको फिल्मलाई ६० हजार डलर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’ ले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ । सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट उत्कृष्ट ६ प्रोजेक्ट छानेको जनाएको छ । जसमा चार कथानक फिल्म र दुई डकुमेन्ट्री रहेका छन् ।

निर्णायकले छनोट भएका छ प्रोजेक्ट दमदार अवधारणा, चाखलाग्दा चरित्रहरू र विशिष्ट दृष्टिकोण भएकैले फिल्म निर्माणका लागि सहयोग रकम दिन लायक भएको जनाएका छन् । नेपालबाट भामसागै अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्री र जर्जियाको भेनिसले ६० हजार डलरकै ग्रान्ट जितेका हुन् ।

भामको निर्देशन रहने ‘अ इयर अफ कोल्ड’ हराएको पतिको खोजीमा निस्किएकी एक गर्भवती महिलाको यात्रा वर्णन हो । उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजीको लागि हिमालय यात्रामा निस्किन्छिन् । जुन व्यथापूर्ण यात्राबाट उनीहरूको जीवनले नैकोल्टे फेर्नेछ ।

भामको फिल्मबारेमा निर्णायकले पितृसत्तात्मक सोचले गहिरो गरी जकडिएको समाजमा आफ्नो अधिकार र परिचयको लागि दैनिक संघर्ष गरिरहेका महिलाहरूको जीवनलाई सूक्ष्म तरिकाले देखाएको टिप्पणी गरेका छन् । साथै, निर्णायकलेभामको पटकथाले नेपालको स्वास नै अड्कने खालको दृश्य र त्यहाँको सांस्कृतिक चालचलनलाई फिल्मका मुख्य पात्रमार्फत काव्यात्मक शैलीमा प्रस्तुत गरिएको जनाएका छन् ।

सरफन्ड नर्वेजियन फिल्म इन्स्टिच्युटबाट सञ्चालित अन्तर्राष्ट्रिय सहनिर्माण फन्ड हो । यस फन्डमा ८५ देशका निर्माताहरू सामेल छन् । यस फन्डको मुख्य उद्देश्य विकासोन्मुख देशका फिल्म निर्माणका लागि सहयोग रकम जुटाइदिनु हो ।

सांस्कृतिक अभिव्यक्ति, विविधता र कलात्मकताका साथै स्वतन्त्रताको आवाज बोल्ने खालका फिल्म प्रोजेक्ट सरफन्डको छनोटमा पर्ने गर्छन् ।

यसअघि पनि भामको फिल्म कालो पोथीले बर्लिन फिल्म फेस्टिभलअन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत ३९ लाख रुपैयाँ, स्विट्जरल्यान्डको भिजन सुदबाट ५५ लाख रुपैयाँ बराबरको फन्ड रकम जितेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT