कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवकाशमा लीलबहादुर

पर्वत पोर्तेल

गुवाहाटी, असम — गुवाहाटी रेल्वे स्टेसन र अन्तर्राष्ट्रिय खेलमैदान नजिकैको मराखली (स्विपर कोलोनी) मा नेपालीको एक्लो घर छ । करिब ४० वर्ष पुरानो त्यहीँ घरमा बस्छन् चर्चित नेपाली उपन्यास ‘बसाइँ’ का सर्जक लीलबहादुर क्षेत्री । ‘प्राध्यापक क्षेत्री’ भनेपछि यो टोलमा नचिन्ने कमै छन् ।

अवकाशमा लीलबहादुर

लीलबहादुर अहिले पूर्वोत्तर भेगकै ‘जेठा सर्जक’ हुन् । उनका धेरै समकालीन बितिसके । साहित्यकार लीलबहादुर कुनै बेला गुवाहाटी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक थिए । करिब तीन दशकजति प्राध्यापन पेसा सम्हालेका उनी यति बेला अवकाश जीवन बिताइरहेका छन् । पढाउने पेसाबाट अवकाश लिएकै अढाइ दशक बितेछ ।


यति बेला उनी गुवाहाटीकै नेपाली (गोर्खार्) हरूले आयोजना गर्ने साहित्यिक सभासमारोहमा पनि प्रायः सहभागी हुन सक्दैनन् । घरमा लेखपढ गरेर दिन गुजार्छन् । ‘नेपाली समुदायले कार्यक्रममा आइदिन हत्ते गर्छन्,’ ८६ वर्ष पूरा गरेका लीलबहादुर हैरानी व्यक्त गर्छन्, ‘तर, खै जाने आँट नै आउँदैन ।’ उनलाई घरमै हिँडडुल पर्न पनि साथी चाहिन थालेको छ ।


तर, उनले वृद्धवयमा पनि लेखपढ भने छाडेका छैनन् । असममा नेपाली भाषा र साहित्य बाँचिरहनुमा लीलबहादुर क्षेक्रीहरूजस्ता साहित्यकारहरूको सत्रियता ठान्नेहरू धेरै छन् । उनी साहित्य सिर्जनामा पनि सक्रिय छन् । केही समयअघि ‘सिमलको भुवा’ निबन्ध प्रकाशित गरे । त्यसपछि भने सिर्जनात्मक लेखनमा त्यति ध्यान जान छाडेको छ । ‘सिर्जनात्मक लेखन त ठप्प छ,’ उनी बुढ्यौली व्यथा सुनाउँछन्, ‘लेख्न बस्यो, लेख्नै सक्दिनँ ।’


उमेरले डाँडा काटिसक्यो । अब धेरै केही गर्ने साहस उनमा छैन । तर, केही त गरौं भन्ने हुटहुटीले उनलाई बचाइराखेको छ । अहिले पनि २, ४ घण्टा लेख्ने पढ्ने गरिरहेकै छन् । लेख्नेभन्दा पनि पढाइमा जोड छ । धेरै पढ्ने र थोरै मात्रै लेख्ने बानी उनको पुरानै हो रे । ‘लेख्ने पढ्ने बानीकै कारण म बाँचिरहेको छु,’ उनी भावुक बन्छन्, ‘अरू नै पेसा व्यवसाय थियो भने लीलबहादुर क्षेत्री पहिल्यै मरिसक्थ्यो ।’


लीलबहादुर भारतको प्रसिद्ध साहित्य एकाडेमी पुरस्कार विजेता पनि हुन् । असममा एकाडेमी पुरस्कार पाउने

उनी पहिलो र गीत उपाध्याय दोस्रो सर्जक हुन् । उनले तेस्रो उपन्यास ‘ब्रहृमपुत्रको छेउछाउ’ का लागि सन् १९८६ मै एकाडेमी पुरस्कार जितेका थिए । ‘एकाडेमी पुरस्कार नै पाउने खालका कृति असममा रचना भएकै छैनन्,’ लीलबहादुरलाई लाग्छ, ‘त्यही भएर अहिलेसम्म दुइटा कृतिले मात्रै पाएका हुन् ।’


करिब ६ दशकभन्दा लामो समयदेखि साहित्यमा अनवरत सेवा गरेका लीलबहादुर २०७२ मा प्रतिष्ठित जगदम्बाश्री पुरस्कारबाट विभूषित भए । त्यसयता उनी नेपाल गएका छैनन् । चितवनको एक संस्थाले बोलाइरहेको छ । तर, उनलाई जान सक्छु भन्ने आँटै छैन । ‘चितवन जान मन त छ,’ भन्छन्, ‘तर, सक्दिनँ होला ।’


असममा जन्मिएर नेपाली भाषा र साहित्यमा अहोरात्र खटेका लीलबहादुरलाई असमेली नेपाली साहित्यको अवस्था देख्दा भने दुःख लाग्दो रहेछ । असममा नेपाली भाषा फस्टाउन नपाएको जस्तो लाग्छ उनलाई । आफैँमाथि प्रश्न तेर्स्याउँछन्, ‘फस्टाओस् पनि कसरी ? न यहाँ नेपाली पढाइ हुन्छ, न त नेपाली पुस्तकहरू नै पढ्न पाइन्छ ।’


उनी आफैं पनि नेपालबाट मगाएर पुस्तक पढ्छन् । नेपाली साहित्यिक संघसंस्था पर्याप्त छन् । तर, एउटा गतिलो पुस्तकालय छैन । नेपाली पुस्तक किन्न सक्ने पसल छैन । थप्छन्, ‘हाम्रातिर लेखक धेरै भए । पाठक चै शिला खोज्नुपर्छ ।’


उनी बारम्बार दोहोर्‍याउँछन् । पूर्वोत्तर भारतमा नेपाली भाषा र साहित्य लेखन गुणात्मक छैन । गतिलो सिर्जना जन्मिएकै छैन यो भेगमा । ‘नत्र बर्सेनि एकाडेमी पुरस्कार पाइहाल्थे नि यहाँका स्रष्टाले,’ भन्छन्, ‘दार्जिलिड–सिक्किमले मात्रै पुरस्कार कुम्ल्याउँछ सधैं ?’


कुनै समय साहित्य, कला, संगीतका क्षेत्रमा दार्जिलिड अब्बल थियो । भलै अहिले पनि दार्जिलिङले धेरै काम गरेको छ । तर, त्यो समय दार्जिलिङलाई नेपालले अनुसरण गर्थ्यो । करिब एक घण्टा गफिएका उनले बिट मार्दै थपे, ‘आज साहित्य, कला र संगीत सबै गतिविधि नेपालमा केन्द्रित छ । नेपालले जे गर्दै छ, त्यो हामीले कहिल्यै गर्न सक्दैनौँ ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?