लाेकसभामा कलाकार विजयी

काठमाडौँ — लोकसभा चुनावमा यसपटक बलिउडका केही हस्तीहरूसमेत उम्मेदवारका रूपमा सहभागी छन् । चुनावमा भारतीय जनता पार्टी (भाजपा) बाट उत्तरप्रदेशको मथुरामा अभिनेत्री हेमा मालिनी उम्मेदवार थिइन् ।

लाेकसभामा कलाकार विजयी

यसअघिको चुनावमा विजयी हेमा मालिनी यसपटक पनि प्रतिद्वन्द्वीभन्दा बढी मतान्तरले विजयी भएकी छन् ।

उनी दोस्रो पटक पनि निर्वाचित भएकी हुन् । बलिउडमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भाजपाको प्रभाव ठूलो देखिँदै आएको छ । चुनावको मुखमा आएर भाजपाले गोरखपुरमा उम्मेदवारका रूपमा भोजपुरी अभिनेता रवि किसनलाई उठायो ।


रवि किसनको यति बेला समाजवादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसूदन त्रिपाठीसँग चर्को प्रतिस्पर्धा देखिए पनि तीन लाखभन्दा बढी मतसहित उनी नै अघि छन् । भाजपाले आजमगढमा पनि निरहुआका नामले भोजपुरी फिल्मका दर्शकमा चर्चित अभिनेता दिनेशलाल यादवलाई उठाएको थियो । यति बेला निरहुआ पनि डेढ लाखभन्दा बढी मतले अघि लागेका छन् ।


हेमा मालिनीका सौतेला छोरा सनी देओल पनि यसपटक भाजपाकै लागि पन्जाबको गुरुदासपुरबाट उम्मेदवार बने । यसअघि उक्त क्षेत्रबाट बलिउडकै अर्का अभिनेता विनोद खन्नाले भाजपाकै लागि राजनीति गर्दै आएका थिए । सन् १९९८ मा पहिलो पटक लोकसभामा विजयी खन्ना नै बलिउडबाट सर्वाधिक चार पटक लोकसभा जित्नेमा पर्छन् ।


२०१७ को अप्रिलमा विनोद खन्नाको निधनपछि भाजपाले यसपटक उक्त स्थानका लागि सन्नी देओललाई उठाएको हो । उनी पनि जारी मतगणनामा अघि देखिएका छन् । भाजपाबाटै गायक हंसराज हंस पनि दिल्लीको उत्तर पश्चिमबाट उठेका छन् । उनी पनि पाँच लाख बढी मतसहित प्रतिद्वन्द्वीभन्दा अघि देखिएका छन् ।


भोजपुरी फिल्मकै अर्का अभिनेता मनोज तिवारी यसपटक पनि उत्तर पूर्वी दिल्लीबाट सिट पाए । तिवारी भाजपाबाटै सन् २०१४ मा सांसद बनिसकेका थिए भने यसपटक पनि कंग्रेसकी शिला दीक्षितभन्दा झन्डै चार लाख बढी मतले अघि लागेका छन् ।


तर समाजवादी पार्टी छोडेर यसपटक भाजपाका लागि रामपुरबाट उठेकी जया प्रदाका लागि भने समाजवादी पार्टीका आजम खान तगारो बनेका छन् । जया प्रदा एक लाख ३० हजार मतले पछि परेकी छन् ।


उर्मिला माताेंडकर


त्यसैगरी, भाजपाबाटै अघिल्लो लोकसभा जितिसकेका गायक, अभिनेता बाबुल सुप्रियो यसपटक पनि पश्चिम बंगालबाट जितको नजिक पुगेका छन् । उनको प्रतिस्पर्धा अभिनेत्री मुनमुन सेनसँग चलेको छ । बलिउडकी कुनै बेलाकी चर्चित अभिनेत्री उर्मिला मातोंडकर भने यसपटक उत्तरी मुम्बईबाट कंग्रेसका लागि उम्मेदवार उठेकी थिइन् । चुनावी प्रचारमा विवादमा समेत परेकी उनी मत गणनामा भाजपाकै उम्मेदवारभन्दा निकै पछि छन् ।


भाजपाबाट सांसद बनिसकेका अभिनेता शत्रुघ्न सिन्हा यसपटक पार्टीले टिकट नदिएको झोंकमा कंग्रेसमा प्रवेश गरी चुनाव लडे । तर उनको यस निर्णयलाई भने भाजपाकै उम्मेदवार रविशंकर प्रसादले गलत सावित गर्ने स्थितिबाट नजिक छन् ।


मत गणना जारी नै रहेकाले पूर्ववत् अग्रतामा फेरबदल हुन भने सक्नेछ । तर अहिलेकै स्थितिमा भने भाजपाले बलिउड कलाकारको प्रयोगलाई लगभग शतप्रतिशत उपयोगीसिद्ध गर्ने अवस्थामा पुगेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?