ग्रेटवालमा ताम्बा गीत

बेइजिङ — डम्फु उत्पत्तिसम्बन्धी तामाङ समुदायमा एउटा चर्चित मिथ छ । उहिल्यै पेङदोर्जेले सिकार खेल्ने क्रममा घोरल मारे । यो देखेर उनकी पत्नी रिसाइन् । फकाउने क्रममा घोरलकै छालाबाट पेङदोर्जेले डम्फु बनाए अनि गीत गाउँदै नाचे । यो कथा तामाङ समुदायमा गीति माध्यमबाट सुनाउने प्रचलन अझै छ । 

ग्रेटवालमा ताम्बा गीत

गाउँघरतिर ताम्बा (तामाङ संस्कृतिविद्) ले गाउने यही गीतलाई गायक एवं संगीतकार सुसन लामाले चीनको ग्रेटवालमा प्रस्तुत गरे । बेइजिङमा सम्पन्न ‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ अन्तर्गत उनले डम्फु बजाउँदै गो गीत गाएका हुन् ।

सेलो थिएटरको तर्फबाट तामाङ सेलो प्रस्तुत गर्न वर्ल्ड कल्चर नेटको टोलीसँगै ग्रेटवाल पुगेका उनले गीत ‘आम्मैले होई आम्मैले....’ प्रस्तुत गर्दै गर्दा भारत, जोर्डन, टर्की, लाओसलगायत मुलुकबाट आएका कलाकर्मीहरूबाट उनी घेरिएका थिए ।

कार्यक्रमको नियमित सूचीभन्दा बाहिर सडक नाट्य प्रस्तुतिको रूपमा उनले गीत प्रस्तुत गरेका हुन् । ग्रेटवाल भ्रमणका क्रममा विभिन्न १७ मुलुकका कलाकर्मीहरूले उनको आकस्मिक प्रस्तुतिबाट मनोरञ्जन मात्रै लिएनन्, धेरैले चाहिँ एकातिर मात्रै छाला मोरेर बनाइने डम्फुबारे चासो प्रकट गरे । सेल्फी खिचे ।

थुप्रै नेपाली सेलो गीतमा संगीत भरेका उनले ग्रेटवालमा दुइटा ‘ताम्बा व्हाई (गीत)’ को भिडियो समेत खिचे । ‘आम्मैले होई आम्मैले...’ र ‘ए होई मैच्याङ होई मैच्याङ...’ दुवै गीत सेलो थिएटरले ३ वर्षअघि राष्ट्रिय नाटक महोत्सवमा मञ्चन गरेको नाटक ‘पेङदोर्जे’ मा समेटिएको छ  भने गीत र नाटक शान्ति वाइबाले लेखेकी हुन् । वाइबाले नै निर्देशन गरेको यही नाटक मार्फत दोलखामा सम्पन्न राष्ट्रिय नाटक महोत्सव–२०७४ को उदघाटन गरिएको थियो । सुसनसँगै ग्रेटवाल पुगेकी वाइबाले डम्फु उत्पत्तिको गीतले तामाङ समुदायमा ठुलो सांस्कृतिक अर्थ राख्ने बताइन् ।

गीतमा संगीत सुसन आफैंले गरेका हुन् । ‘नाटकमा पनि यो गीत डम्फुको मात्रै संगीत दिएर प्रस्तुत गरिएको थियो,’ सुसनले भने, ‘रेकर्डिङ पनि त्यहीअनुसार नै गरिएको छ । हराउँदै गएको नेपाली लोकबाजा र संगीतको प्रवर्द्धनका लागि यसो गरेका हौं ।’

उनले तामाङ समुदाय भोट बर्मेली सभ्यतासँग जोडिएको र यसको सम्बन्ध ग्रेटवालसँग पनि भएको कारण ‘एसियन सिभिलाइजेसन परेड’ को सन्दर्भ पारेर ग्रेटवालमा ताम्बा व्हाई प्रस्तुत गरिएको बताए । ‘यहाँ खिचिएको भिडियो पनि तामाङ सेलोको टिपिकल स्टेपमा मात्रै आधारित हुने छ,’ उनले भने, ‘लोक संगीतको जरा खोतल्ने प्रयास हो यो ।’ सेलोको टोलीले बेइजिङस्थित वर्ड नेस्ट ओलम्पिक पार्कमा आयोजित सांस्कृतिक परेडमा पनि अन्य नेपाली लोकनृत्यसँगै सेलो नृत्यको स्टेप प्रस्तुत गरेको थियो ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?