१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भजनको तालले तन्नेरी

प्रमिता ढकाल

भरतपुर — ठाडो भाकामा शिव भजन सुरु हुँदै गर्दा रत्ननगर १६ का ८० वर्षीय प्रेमप्रसाद पन्त भजनको तालमा नाच्न थाले । भाका र बाजाको ताल बढ्दै जाँदा उफ्रिँदै र कम्मर मर्काउँदै उनले लय पछ्याए । समूहमा सबैभन्दा राम्रो नाच्ने उनी नै थिए । १७ वर्षको उमेरदेखि रामलीलामा नाच्न थालेका उनी भजनमा नाच्दै गर्दा अनुहार खुसीले चम्किएको थियो । 

भजनको तालले तन्नेरी

उनलाई यस्तो मौका दिलाएको हो, बहुभाषिक लोकगीत उत्सवले । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको उत्सवमा खस भाषाको प्रतिनिधित्व गर्दै उनको भद्रकाली समूहले शिव भजन प्रस्तुत गरेको हो । ठाडो भाका आधारित भजनको मिठास बेग्लै थियो ।


पन्तका अनुसार भजन समूहमा १० जना महिला सदस्यसहित २५ जना छन् । कोही गीत गाउन त कोही वाद्यवादनमा पोख्त । मादल, झुर्मा, खैंजडी, करतालको तालमा उनीहरू ठाडो भाका, चुड्का, लोक भजनकीर्तन र झाँकी प्रस्तुत गर्दछन् । ‘गाउँटोलमा मात्र नभई आसपासका जिल्लामा हुने पूजा, भागवत तथा सप्ताहमा हाम्रो समूहले भजन गाउँदै आएको छ,’ प्रस्तुतिपछि उनले भने ।


मौलिक लोकभाका संरक्षणका लागि स्थानीय युवाहरूलाई यो समूहले प्रशिक्षण दिनसमेत थालेको समूहका सदस्य अनुप बुढाथोकीले बताए । समूहका कान्छा सदस्य अनुप अन्य युवाको प्रेरणाको स्रोतसमेत बनेका छन् । एक दशकअघि स्थापना भएको समूहमा अहिले लोकभाका प्रवर्द्धनमा सक्रिय बनेको छ ।


उत्सवमा दराई समूहले भने तिहारमा गाउने गीत प्रस्तुत गर्‍यो । दराई उत्थान समितिअन्तर्गतको सांस्कृतिक समूहको प्रतिनिधित्व गर्दै यो समूहले दाजुभाइ र दिदीबहिनी मिलेर गाउने गीत प्रस्तुत गरेको हो । समितिका संयोजक बाबुराम दराईले स्थानयी रूपमा मिल्ने यस्ता अवसरहरूले लोकभाका तथा संस्कृति संरक्षणमा टेवा पुग्ने दाबी गरे । ‘अरू बेला पनि हामी लोकभाका गाउँदै आएकै हौं,’ उनले भने, ‘यस पटक राम्रो मौका मिल्यो । अरूलाई पनि सुनाउन पायौं ।’


उत्सवमा मगर, माझी, थारू, तामाङ, नेवार, कुमाल, गुरुङ र चेपाङ गरी जम्मा १० विभिन्न जातिको सांस्कृतिक लोकभाका प्रस्तुत गरिएको थियो । चेपाङ समुदायको प्रतिनिधित्व गर्दै गामबेसीको चेपाङ संरक्षण केन्द्रका बालबालिकाले ‘मारु सरर...’ बोलको गीत गाए । गीतमार्फत चेपाङ समुदायले भोग्नुपरेको दुःखकष्ट प्रस्तुत गरिएको समूहका सिम्रन चेपाङले बताइन् ।


संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले उत्सवमार्फत संस्कृति संरक्षणका लागि केही प्रयासको थालनी गरेको दाबी गरे । नेपालमा १ सय २५ वटा बोलीचालीका भाषा छन् । प्रदेश नम्बर ३ मा मात्रै २५ जातजातिले विभिन्न भाषा प्रयोगमा रहेको उनले बताए । कार्यक्रम संयोजक हरिदेवी कोइरालाले पश्चिमा संस्कृतिको प्रभावले गर्दा नेपाली मौलिक लोक संस्कृति ओझेल परेको तर्क गरिन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?