कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइजोलका अभिनेता

पर्वत पोर्तेल

आइजोल, मिजोरम — पुर्वोत्तर भारतको पहाडी राज्य मिजोरममा नेपालीभाषी (गोर्खा) को जनसंख्या पुगनपुग १२ हाराहारी छ । यहाँका नेपालीहरू खासगरी राजधानी आइजोल क्षेत्रमा बढी केन्द्रित छन् । विभिन्न पेसा र व्यवसायमा सक्रिय छन् । आइजोलका एक नेपाली गुनू घर्ती जो मिजोरम राज्यकै एक्ला नेपालीभाषी अभिनेता हुन् । 

आइजोलका अभिनेता

सुदूरपूर्वको यो भारतीय राज्यमा ६ दशकअघि जन्मिएका गुनूले जीवनको आधाभन्दा बढी समय गीतसंगीत, भाषा, साहित्य र फिल्म क्षेत्रमा दिइसकेका छन् । तीन दशकअघि वैरागी संगीत परिवार नामक संस्था खोलेरै गीतसंगीत क्षेत्रमा प्रवेश गरेका उनको परिचय पछिल्लो समय थप फराकिलो वनेको छ । उनी गायक, संगीत सर्जक त थिए नै अब अभिनेता पनि बनेका छन् ।


विगतमा आधा दर्जन जति नेपाली गीतमा अभिनयको अनुभव त उनीसँग छँदै थियो । पछिल्लो समय नेपाली फिल्मको अभिनेताको रूपमा समेत उनी उदाए । गत वर्ष रिलिज नेपाली फिल्म ‘गोरे’ मा उनको दमदार अभिनय देख्न सकिन्छ । उनले फिल्ममा खलनायकको भूमिका निभाए ।


‘गोरेपछि पनि मलाई तीनवटा जति फिल्म खेल्ने अवसर थियो,’ मिजोरमको राजधानी आइजोलस्थित घरमा उनले भने, ‘तर, समय उपलब्ध गर्न सकिन्न कि भन्ने त्रासले अनुरोध नकारेँ ।’ घर्ती मिजो समुदायको कथामा आधारित धारावाहिक फिल्म ‘लालथेरी’ मा भर्खरै अनुबन्धित छन्। मिजोरममा हत्तपत्त हिन्दी भाषा नै बोलिन्न ।


हिन्दी फिल्म चल्ने त कुरै भएन । मिजो भाषाकै फिल्म पनि फाट्टफुट्ट मात्रै बन्छन् । र, चल्छन् । नेपाली फिल्मको त कुनै गुन्जायस नै छैन । त्यही भएर नेपाली कलाकारहरू पनि छँदै छैनन् । यो भेगका घर्ती मात्रै एक्ला कलाकार हुन् । भन्छन्, ‘यहाँका नेपालीले नेपाली फिल्म त मन पराउँछन् तर अहिलेसम्म बनाउन सक्ने अवस्था नै बनेको छैन ।’


पूर्वोत्तरका अन्य राज्यहरू अरुणाचल, मेघालय, असम, मणिपुरमा पनि नेपाली फिल्म बनाउन सक्ने अवस्था छैन । मणिपुरका कलाकार राहुल राईले केही समयअघि तीनवटा म्युजिक भिडियोको सुटिङ मणिपुरमा गरेका थिए । उनले राई संस्कृतिसम्बन्धी ठूलो पर्दाको फिल्म पनि खेलेका छन् । तर, त्यो मणिपुरमा सुटिड नभएर नेपालमै भएको थियो ।


‘सम्भवतः मणिपुरमा पहिलो पटक नेपाली गीतको म्युजिक भिडियो हामीले नै बनायौँ यसपटक,’ उनले भने, ‘पहिला यसरी बनेको थिएन, बनाउन पनि डराउनुपर्ने अवस्था थियो ।’ मिजोरम राज्यमै उनी एक्ला कलाकार हुन् । अरू नेपालीभाषीहरू यो क्षेत्रमा आउनै मान्दैनन् । मिजोरमका अगुवा नेपालीभाषी उदयकुमार जोशीका अनुसार नेपाली कलाकार नै छैनन् । कलाकार उत्पादनमा नेपालीको लगानी पनि छैन । उनी थप्छन्, ‘फिल्ममा लगानी गरेपछि कम्तीमा रिटर्न पाउनुपर्छ, यहाँ त्यो स्थिति छैन ।’


घर्ती निकट भविष्यमा मिजोरममा नेपाली फिल्म बनाउने योजनामा छन् । त्यही भएर उनी कलाकारितामा नयाँ पुस्ता उत्पादनमा पनि लागेका छन् । कविता दर्नाल, जिन्नी घर्तीजस्ता नयाँ पुस्ता यो क्षेत्रमा आउन थालेका छन् । ‘मिजोरममा एउटा नेपाली फिल्म बनाएर मात्रै मर्ने इच्छा छ,’ घर्ती भन्छन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?