१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रतिष्ठा ‘पब्लिसिटी क्विन’

लन्डन — प्रतिष्ठा ‘तृष’ राउत बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिस्पर्धा ‘मिस इंग्ल्यान्ड’ को फाइनल प्रवेश गरेकी छन् । बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार लेस्टर टाइगर स्टेडियममा भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । 

प्रतिष्ठा ‘पब्लिसिटी क्विन’

प्रतिस्पर्धामा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउन्ड, लिटल ब्ल्याक ड्रेस राउन्ड र ब्युटी विथ पर्पोज गरी ३ राउन्ड भएको थियो । पब्लिक भोटले उनलाई ‘पब्लिसिटी क्विन’ उपाधि दिलाएको छ । ‘सबैको भोटले उपाधि जितेकामा ज्यादै प्रसन्न छु,’ उनले भनिन्, ‘ती सहयोगी र प्रायोजकप्रति म कृतज्ञ छु ।’


प्रतिष्ठाले यस खालका प्रतियोगिताले महिलाको आत्मविश्वास अभिवृद्धिसाथै समुदायमा एक रोल मोडल भूमिका, च्यारिटी एवं महिला सशक्तीकरणमा लाग्न उत्प्रेरित गर्ने बताइन् । प्रतिष्ठाले यही सिलसिलामा एक च्यारिटीका लागि १४ सय पाउन्डसमेत संकलन गरेकी छन् र उठ्ने क्रम जारी छ । हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायत बस्छिन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मीना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन् ।


युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेसाले प्लोर प्लान आर्किटेक्ट हुन् । उनले गत वर्ष बेलायतको चर्चित फार्नबोरो एयर शोको फलोर प्लान गरेकी थिइन् । छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङ पनि एकसाथ अगाडि बढाउने सोच उनको छ ।


मिस इंग्ल्यान्ड विजेताले टाइटिलसहित २५ हजार पाउन्ड पुरस्कार, मिस वर्ल्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुन मौका पाउने आयोजकले जनाएका छन् । अन्तिम प्रतिस्पर्धा समरमा हुने बताइए पनि विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?