ब्युँतिँदै पुर्ख्यौली नाच

बिना थापा

कास्की — बूढापाका बितेर गएपछि नाच हरायो । १४ वर्षसम्म नाच्ने कोही भएन । कुनै बेला लोकप्रिय मगर संस्कृतिको पुर्ख्यौली नाच लोप हुँदै गएपछि जर्गेना गर्न म्याग्दीका युवा लागिपरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका युवा नाच संरक्षणमा जुटेका हुन् । वडाध्यक्ष चन्द्रप्रसाद फगामी पुनमगरको पहलमा केही समययता युवापुस्तालाई नाचमा आकर्षित गरी नाच ब्युँझाउन लागिएको हो । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पुर्ख्यौली नाच नाच्दै स्थानीय । तस्बिर : विना/कान्तिपुर

‘जिल्लाका विभिन्न गाउँका पुर्ख्यौली नाचको प्रतिस्पर्धा हुन्थ्यो । तर बीचमा यो नाचै हरायो,’ उनले भने, ‘संस्कृति लोप हुनु भनेको संस्कार पनि हराउनु हो । यही भएर अब नाचलाई ब्युँझाएर युवालाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका हौँ ।’ उनले विगतको अनुभव र विभिन्न स्थानमा हुने प्रतियोगिताबाट नाच सिकेर गाउँमा पनि युवालाई सिकाउन लागिएको बताए । ४ वर्षदेखि नाच सिकाएको र अझै पूरा नभएको उनकोभनाइ थियो ।

‘सुरुमा चन्दा संकलन गरी नाचका लागि आवश्यक मादल, गरगहनालगायत सामग्री जुटायौं र युवालाई सिकाउन थाल्यौँ,’ उनले भने । नाचमा १९ जनाको समूह हुने भएकाले धेरैजना पुरुष चाहिन्छ । गीत गाउने महिला भए पनि नृत्यका लागि पूरै पुरुष हुन्छन् । महिलाको कपडा पुरुषले लगाउनुपर्ने हुन्छ, र जुन पुरुषलाई मारुनी भनिन्छ ।

साथमा मारुनीसँग नाच्ने पुरुष पनि उनीहरूको संख्या बराबर चाहिन्छ । जसलाई मादले भनिन्छ । गीतमा पूरै देवीदेवताको नाम लिने भएकाले महिनाबारी भएको महिला नाच्न नहुने धार्मिक विश्वासले महिला नाच्दैनन । नाचमा मारुनी ५, मादले ५ र ९ जनाले गाउँछन् ।

मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् भने मादलेले कछाड, सर्ट, पेटी, भांग्रा, टोपीलगायत कपडा लगाएर नाच्ने गछन् । ‘यो नाच विवाह, पास्नीजस्ता शुभकार्यमा सरस्वती जगाउने र दान दिएपछि अन्तिममा सबै दिशाका देवीदेउताको नाम लिई आशीर्वाद लिने गरिन्छ,’ पुनमगरले भने । विदेश जाने उमेरका युवालाई भन्दा पनि स्कुल पढदै गरेका विद्यार्थीलाई नाच सिकाइएको छ ।

अर्का प्रशिक्षक लोकबहादुर फगामी पुनमगरले म्याग्दीबाट बसाइँ सरेर पोखरा र चितवन पुगेका बूढापाकामार्फत आफूले सिकेर अरूलाई सिकाएको बताए । ‘नयाँ पुस्तामा नाच आइसकेको छ,’ उनले भने । आफ्नो संस्कृतिको पुर्ख्यौली नाच सिक्न पाउँदा खुसी लागेको विद्यार्थी भविन पुनले बताए । ८ कक्षामा अध्ययनरत उनी पढाइसँगसगै संस्कृति संरक्षणमा लागेका हुन् ।

‘यो मेरा लागि ठूलो अवसर हो,’ उनले भने, ‘त्यसैले पढाइसँगै नाचका लागि समय व्यवस्थापन गर्दै आएका छौं ।’ आफूजस्ता अरू दुई विद्यार्थी पनि नाच सिकिरहेको उनले बताए । सुरुमा सिक्दा गाह्रो लागेको थियो तर नाच्दै गएपछि सजिलो भएको उनले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा दुई देशका स्रष्टा 

कान्तिपुर संवाददाता

धनकुटा — नेपाल र भारतका साहित्यकारबिच धनकुटामा पहिलो पटक संयुक्त साहित्यिक सभा गरिएको छ । सल्लेरी साहित्य संगम धनकुटाले गरेको सभामा भारतका विभिन्न प्रान्त र नेपालका विभिन्न जिल्लाबाट साहित्यकारको जमघट रहेको थियो ।

भारतबाट कोलकातास्थित साहित्य त्रिवेणीका सम्पादक कुँवरवीरसिंह मार्तण्डको नेतृत्वमा ९ जना कवि सहभागी थिए ।

टोलीमा गायत्री साहित्य संस्थान नयाँदिल्लीका अध्यक्ष बब्ली वशिष्ठ, उत्तर भारत साहित्य परिषदका संस्थापक अशोक भाटी, साहित्यकार तथा इन्डियन रेल्वे स्टेसनका प्रमुख सुशील शेली, वरिष्ठ कवि राज ख्यायिला, साहित्यकार योगेश समदर्शी, साग डनिया र मधु सिंह थिए ।

नेपालबाट विवश पोखेरेल, गंगा सुवेदी, गोपाल भण्डारी, राजेन्द्र गुरागाईं, रमेश पौडेल, राधिका गुरागार्इं, गोकुल अधिकारी, खगेन्द्र गिरी कोपिला, राधा भट्टराईलगायत सहभागी थिए । धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णगोविन्द अधिकारीले ‘नेपाल भारतबिचको भाषिक तथा साहित्यिक स्थिति विषयक’ कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमा टिपप्णी गर्दै भारतका साहित्यकार कुँवरवीरसिंह मार्तण्डले भारत र नेपालको साहित्यको अन्तरसम्बन्ध परापूर्वकालदेखि भएकोले साहित्यकारलाई दुवै देशकै साहित्यबारे जानकारी हुनु आवश्यक रहेको बताए । कार्यपत्रले दुवै देशको भाषा, साहित्यको विगत, वर्तमान र भविष्यलाई समेत उजागर गरेको टिप्पणी गरे ।

योगेश समदर्शीले नेपालको पौराणिक सम्बन्ध, साहित्यिक सम्बन्ध र नेपाल भारतबिचको साहित्यिक सभ्यताको चित्रण गरे । गोष्ठीमा दुवै देशका २० भन्दा बढी कविले कविता वाचन गरेका थिए । गोष्ठीमा धनकुटा, मोरङ सुनसरी, झापा, धनकुटा, नेपालगन्ज, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका साहित्यकारले पनि रचना वाचन गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्