२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यसकारण अत्यधिक रुचाइयो ‘गलबन्दी’

काठमाडौँ — ठीक एक वर्षअघि गायक प्रकाश सपूतले ल्याएको गीत ‘बोल माया’ ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्यायो । परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो । नारायण रायमाझी, शान्तिश्री परियारका साथमा प्रकाश सपूतकै गायन रहेको उक्त गीतको रचना तथा संगीत पनि प्रकाशले नै गरेका थिए भने आफ्नै निर्देशनमा भिडियोमा अभिनय पनि गरेका थिए । 

यसकारण अत्यधिक रुचाइयो ‘गलबन्दी’

सर्वोत्कृष्ट लोकगीत संकलनको इमेज अवार्ड जितेको उक्त गीतले एक वर्षमा युट्युबमा मात्रै १ करोड १५ लाखमाथिको भ्युज पाएको छ । १६ हजार बढी कमेन्टमा अधिकांशले गीतलाई रुचाएको प्रतिक्रिया दिएका छन् । उक्त गीत त्यसताक युट्युबको पहिलो नम्बरमा समेत लामो समय ट्रेन्डिङमा रह्यो । उनै प्रकाशले दुई महिनाअघि पनि अर्को गीत ‘दोहोरी ब्याटल’ ल्याएका थिए ।


भिडियोको सुरुवातमै लेखिएको थियो, ‘यो लोक दोहोरी गीत होइन । लोकदोहोरीको जस्तो थेगो र बाजाहरूको प्रयोग नगरिएकोले यसलाई दोहोरी ब्याटल नभनिएको हो । यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला ।’


लोकदोहोरीको राम्रो बजार रहेका बेला प्रकाश सपूतको ब्याटल र लोकदोहोरीलाई संयोजनमा गरिएको प्रयोगलाई अधिकांशले नयाँपनका रूपमा रुचाए । केहीले भने उच्शृंखल बढी भएको टिप्पणी पनि गरेका थिए ।


‘सेन्सरपछि’ दोस्रो पटक युट्युबमा राखिएको यस गीतले पनि ६८ लाख भ्युज बटुलिसकेको छ । उक्त ब्याटल दोहोरीको दुई महिनापछि नै गायक सपूतले एकाएक ‘बोल माया’ ल्याएर आफ्नो सांगीतिक फ्यानमाझ बनेको छवि नै बदलिदिएका थिए । त्यसपछि फेरि ल्याए, ‘दोहोरी ब्याटल २’ ।


पछिल्लो दुई महिनाभित्रै उक्त गीतले पनि युट्युबमा ९० लाख बढी भ्युज पाइसकेको छ भने ११ हजार बढी कमेन्टस् । शब्द र भाका त पृथक् थियो नै, यसको म्युजिक भिडियोले पनि राम्रै चर्चा बटुल्यो । ‘दोहोरी ब्याटल २’ ले पनि युट्युबमा ट्रेन्डिङको ब्याटललाई जितिदियो ।


प्रीति आलेसँगको युगल गायनमा देखिएका प्रकाश सपूतकै रचना तथा संगीत रहेको यस गीतले पनि लामो समय एक नम्बरमा कब्जा जमायो । डेढ महिना बित्न नपाउँदै उनै प्रकाशले यति बेला फेरि अर्को तहल्का मच्चाएका छन्, ‘गलबन्दी’ मार्फत । ‘बोल माया’ कै टिम यसमा आबद्ध छन् ।


शान्तिश्री परियार र प्रकाशकै गायन रहेको यस गीतको भिडियोमा पनि उनै प्रकाश र अञ्जली अधिकारी फिचरिङ छन् । भिडियोलाई ‘बोल माया’ कै कथाको प्रिक्वेलका रूपमा पनि ‘गलबन्दी’ को कथालाई रिलेट गरेर हेरेका छन् । ‘गलबन्दी’ बाटै प्रकाशले आफ्ना फ्यानलाई यसको सिक्वेलको पर्खाइमा पनि राखेका छन् ।


‘गलबन्दी’ भिडियो युट्युबमा राखिएको दस दिनमा ६५ लाख बढी भ्युज आइसकेको छ । केही दिनदेखि निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहन सफल यस गीतलाई २१ हजार बढीले राम्रो लागेको प्रतिक्रिया दिएका छन् । ‘नेपालको इतिहासमा बाजी मार्ने गायक, नेपाली सपूत प्रकाश सपूत’ देवदास बूढा नामक युजर्सले कमेन्टमा लेखेका छन् । क्रिस भाइ लेख्छन्, ‘र्‍याप, पप मात्रै सुन्ने गर्थें तर यो गीत सुनेपछि चाहिँ अब केटो लोकदोहोरीमा लाग्यो ।’


रमाइलो त के भने, यसपटक प्रकाश र उनको गीत मात्रै चलेन, भिडियोमा मोडलिङ गरेकी अञ्जली अधिकारी पनि भाइरल बनिन् । उनको लजालु प्रस्तुतिलाई खुबै रुचाइएको छ । भूपेन्द्र ठकुरी लेख्छन्, ‘अञ्जली लास्टै मन पर्‍यो । जति सिम्पल त्यति ब्युटिफुल । एक्सप्रेसन लोभ लाग्दो ।’ गीतमा बीचबीचमा दोहोरीका रमितेले बोल्ने संवादसमेत यति बेला भाइरल भइरहेको छ ।


‘ढिलो आयो कडा आयो’, ‘हल्का ग्यास्ट्री’ जस्ता संवाद केही उदाहरण हुन् । प्रकाश सपूतको सांगीतिक प्रतिभाबाट प्रभावित भई घनश्याम भण्डारीले ‘एउटा मान्छेमा कति धेरै खुबी । कहिले नचाएको छ, कहिले रुने बनाएको छ, कहिले सुनिरहूँजस्तो’ भनी टिप्पणी गरेका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?