बल्ल सिक्दै संगीतको भाषा

सुम्निमा चाम्लिङ

इटहरी — प्रविधिले संगीतलाई सहज बनाएको मात्रै हैन, साधकहरूलाई उत्तिकै अल्छी पनि बनाइदिएको छ । सुसेल्दै स्टुडियो पुग्ने र एरेन्जरको भरमा लय रेकर्ड गराएर संगीतकार बन्ने क्रम बढदो छ । गीत चर्चित भए पनि त्यसलाई संगीतको भाषा (स्टाफ नोटेसन) मा उतार्न सक्ने संगीतकारहरू थोरै नै भेटिन्छन् ।

बल्ल सिक्दै संगीतको भाषा

यस्तोमा पूर्वका संगीतकर्मीहरू यति बेला इटहरीमा भेला भएका छन् र धमाधम ‘स्टाफ नोटेसन’ सिकिरहेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर संगीत साधना प्रतिष्ठान इटहरीले महिना दिन लामो प्रशिक्षण थालेको हो ।


अघिल्लो साताबाट सुरु भएको निःशुल्क प्रशिक्षणमा प्रदेश १ का ४० जना संगीतकर्मीहरू सहभागी छन् । बिहान र दिउँसो गरी दुई सिफ्टमा सिकाइ चलिरहेको छ । पूर्वी नेपालका संगीतकर्मीको ज्ञान तिखार्न प्रशिक्षण कार्यशालाले सघाउने संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले दाबी गरे । अन्तर्राष्ट्रिय संगीतको स्वर लिपिको विधि हो ‘स्टाफ नोटेसन’ ।


पूर्वीय संगीत परम्पराको सरगम जस्तै पश्चिमा परम्परामा स्टाफ नोटेसनको विशेष महत्त्व छ । विश्वका उत्कृष्ट कम्पोजिसनहरूसमेत स्टाफ नोटेसनमा लेखिएका हुन्छन् । विश्वसंगीतका चर्चित हस्तीहरू मोजार्ट, विथोविनदेखि चर्चित अंग्रेजी रक ब्यान्ड विटल्ससम्मका स्टाफ नोटेसन अहिले गुगल सर्चमै भेटिन्छन् ।


हाम्रै छिमेकी भारतको रवीन्द्र संगीतको स्टाफ नोटेससनमा पनि सहजै भेट्टाउन सकिन्छ । नेपाली संगीतका चर्चित सिर्जनाहरू भने भेटाउनै मुस्किल । ‘स्टाफ नोटेसन भनेको संगीतको वर्णमाला हो, हाम्रोमा लेख्य परम्परा नै स्थापित हुन सकेन,’ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले भने ।


प्रतिष्ठानका संगीत विभाग प्रमुख एवं प्राज्ञ अशोक राईले ‘स्टाफ नोटेसन पश्चिमा संगीत पद्धति’ भए पनि नेपाली संगीतलाई अभिलेखीकरण गरी राख्न यो अपरिहार्य छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?