१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहरमा आदिवासी फिल्म

काठमाडौँ — राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृह यति बेला आदिवासी संस्कृतिमय बनेको छ । मुलुकका विभिन्न आदिवासी जनजाति समुदाय आधारित नृत्य, भेषभूषासँगै फिल्मको स्वाद एकसाथ चाख्न पाइन्छ ।

सहरमा आदिवासी फिल्म

शुक्रबारदेखि सुरु तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको हो । पहिलो दिन देखाइएको गुरुङ भाषाको फिल्म ‘म्ले क्यु’ र नेवार भाषाको फिल्म ‘कृषा गौतमी’ हेर्न दर्शकको भीड लागेको थियो ।


जसु गुरुङको निर्देशन रहेको ‘म्ले क्यु’ गुरुङ समुदायमा प्रचलित मिथक ‘बिर्साउने पानी’ मा आधारित थियो । मानिस मरिसकेपछि स्वर्ग जाने बाटोमा उसको आत्माले बिर्साउने पानी पिउनुपर्ने र उक्त पानी पिएपछि आफन्तसितको उसको लोभ, मोह, राग र सबै खालका लगाव मत्थर हुने विश्वासलाई फिल्मले उतारेको थियो । नेपाली फिल्ममा समेत राम्रो स्पेस बनाएका माओत्से गुरुङले यो फिल्ममा राम्रो अभिनय गरेका छन् । शुक्रबारै देखाइएको रामकृष्ण खड्गीको निर्देशन रहेको फिल्म ‘कृषा गौतमी’ मा पुरानी नायिका मेलिना मानन्धरको अभिनय मनछुने थियो । यो फिल्म बुद्धकालीन जातक कथामा आधारित थियो ।


त्यस्तै, पहिलो दिन नै प्रवलदीप विश्वासको निर्देशन रहेको राजवंशी फिल्म ‘पुल्टी’, नेवार समुदायबाटै रामकृष्ण श्रेष्ठको निर्देशन रहेको ‘नौलिन भद्रकाली जात्रा’, लोकेन सावाँ निर्देशित लिम्बू भाषाको फिल्म ‘केसाङला’ पनि देखाइए । शनिबार बिहान कृष्णजित राईको निर्देशन रहेको ‘वाम्बुले राई संस्कार’ बाट सुरु भएको फिल्म सो दीपक तामाङ लामाको निर्देशन रहेको तामाङ फिल्म ‘साङ्गेल घ्रान’, अमृतबहादुर सुनुवारको निर्देशन रहेको तामाङ फिल्म ‘आङा थेवा’, सुन्जीत माझीको ‘मोङो डोङो’, विश्वास मगरको ‘खुर्पेटो’, युकी आलेको ‘तीनपाने’, सागर केरुङको लिम्बू फिल्म ‘के च्याब्रुङ’ हुँदै कमल भुजेलको फिल्म ‘निप्हुगाल’ मा टुंगिएको थियो ।


आदिवासी मातृभाषी फिल्म प्रवर्द्धन गर्न महोत्सव गरिएको आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले बताए । महोत्सवमा आदिवासी जनजाति समुदायमा आधारित फिचर, डकुमेन्ट्री र छोटा गरी २० वटा फिल्म देखाइने महासंघका उपाध्यक्ष बिकु थोकरले जनाए ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?