१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोपाइँ छाडेर जात्रा 

प्रशान्त माली

(ललितपुर) — यतिबेला उपत्यकाका किसानलाई रोपाइँको चटारो छ । रोपाहार, बाउसे, हली, ब्याडदेखि आवश्यक सबै तयारी भइसकेको भए पनि आइतबार उपत्यकाका कुनै पनि खेतमा रोपाइँ भएन । बरु किसान वर्षभरि जमिनमा उब्जेका खाद्यवस्तु लिएर मन्स्येन्द्रनाथलाई चढाउन भोटो जात्रामा पुगे ।

रोपाइँ छाडेर जात्रा 

यस दिन जमिनमा घाउ बनाउन नहुने मान्यता रहेकाले त्यसैअनुरूप उपत्यकाका तीनै जिल्लाका स्थानीय किसान जावलाखेलस्थित मत्स्येन्द्रनाथको भोटो जात्रामा सहभागी भएका हुन् । जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचीन भोटो देखाउँदै गर्दा किसानहरू अन्न चढाउँदै थिए ।


‘यो जात्राका बेला रोपाइँ मात्र नभई ताम्रकला, मूर्तिकला, प्रस्तरकला, चित्रकलालगायत हस्तकलाको काम गर्न पनि नहुने मान्याता छ,’ जात्रामा भेटिएका कीर्तिपुरका श्यामबहादुर प्रधानले भने, ‘मत्स्येन्द्रनाथको कदरस्वरूप यस्तो नियम बनाइएको हुन सक्छ ।’ यस पटकको भोटो जात्राको सुरुवात गुठी संस्थान ललितपुर शाखा कार्यालय प्रमुख शैलेन्द्र पौडेलले पचिम्हिचाः (कपडाको थैली) मा सिल तोडेर गरेका थिए । उनले मत्स्येन्द्रनाथ र त्यसपछि राष्ट्रका विशिष्ट व्यक्तिहरूलाई भोटो देखाए । त्यसपछि रथको विमानमा चढेर दाहिनेबाट क्रमशः तीन पटक घुम्दै भोटो देखाइएको थियो । यसरी देखाउनुमा आफ्नै सांस्कृतिक अर्थ रहेका मत्स्येन्द्रनाथका ज्योतिष कीर्तिमदन जोशीको मत छ । ‘सुरुमा देव, मनुष्य र नागलोकलाई लक्षित गरेर देखाउनुपर्ने चलन छ,’ उनले भने, ‘दोस्रो पटक कान्तिपुर, ललितपुर, भक्तपुर र टौदहलाई र तेस्रो पटक निर्वाण भएका गुरु बन्धुदत्त, राजा नरेन्द्रदेव, भरिया रथचक्र, कर्कोटक नागराजा, वैद्य किसान, भूतगणसहित यक्ष लोकका सबैलाई लक्षित गरेर देखाइन्छ ।’


भोटो कसको हो ?

भोटो देखाउँदा इन्द्रबाजा बजाइन्छ । बाजा सुनेपछि स्वर्गका राजा इन्द्र स्वयं जात्रामा उपस्थित हुन्छन् भन्ने जनविश्वास छ । किंवदन्तीअनुसार भोटो कर्कोटक नागराजाको हो । जति उपचार गरे पनि उनकी श्रीमतीको आँखाको रोग निको हुँदैन । नागराजा आफ्नी श्रीमतीको उपचार गराउन ब्राह्मण भेषमा वैद्य खोज्दै हिँड्न थाले । ‘वैद्य खोज्दै जाने क्रममा ख्वपः (भक्तपुर) का एक जना किसानसँग भेट भएछ,’ ज्योतिष जोशीले भने, ‘नागराजाले ती किसानलाई आँखाको उपचार गर्ने वैद्य ठानेछन् र आफ्नी श्रीमतीको उपचार गरिदिन अनुरोध गरेछन् ।’ कथाअनुसार आफू वैद्य नभए पनि ब्राह्मणको आग्रहअनुरूप किसान तयार भए । उनी ब्राह्मणको पछिपछि लागे । काठमाडौंको टौदहको किनारमा पुगेपछि ब्राह्मणले आफ्नो सक्कली नागको रूप धारणा गरे र दहभित्रको दरबारमा किसानलाई लिएर गए ।


दरबारभित्र देवताका रूपमा विराजमान नागराज र रानीलाई देखेपछि आफू वैद्य नभएकामा किसान डराए । उनले गुरु भैषज्य तथागतलाई सम्झिँदै दायाँ कानको पछाडिको मैलो पानीमा मिसाई नागरानीका आँखामा हालिदिए । ‘संयोगले रोग निको भएछ,’ जोशीले कथा सुनाए, ‘यसपछि नागराजा खुसी भएर पारिश्रमिकस्वरूप आफूले लगाएको रत्नमय भोटो किसानलाई दिएछन् र जलमार्गबाट जमिनमा ल्याई बिदा गरेछन् ।’


एकदिन किसानले उक्त भोटो खेतमा फुकालेर काम गरिरहेका बेला भूतले चोरेर लगे अनि त्यही भोटो लगाएर मानिसको भेषमा जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आए । त्यही बेला भोटोका मालिक किसानसँग नक्कली भेषधारी भूतको जम्काभेट हुन्छ । ‘तेरो र मेरो’ विवाद चल्छ । जात्रा हेर्न मान्छेका रूपमा आएका ककोर्टक नागराजा पनि त्यहीँ आइपुग्छन् । ‘विवाद बढदै गएपछि तीनै जनाको सहमतिमा उक्त भोटो करुणामयलाई चढाएछन्,’ जोशीले भने, ‘यो सुनेर ललितपुरका तत्कालीन राजा वरदेव पनि त्यहाँ आइपुग्छन् । त्यसपछि मनुष्यरूपी कर्कोटक नागराजाले त्यहाँ उपस्थित राजाप्रजा सबैका सामु नागलोकबाट ल्याइएको सुवर्णमय हिरामोती जडित भोटो हरेक वर्ष जात्राका दिन राजाको सवारी भएपछि देखाउनु भन्दै आग्रह गरे अनि जात्राको चलन बस्यो ।’


त्यही समयदेखि राष्ट्रप्रमुख जात्रामा सवारी हुने चलन बसेको विश्वास गरिन्छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति समारोहमा उपस्थित थिए । गुठी संस्थान ललितपुर शाखा प्रमुख पौडेलले वर्षौंसम्म थैलीमा राख्दा पनि नकुच्चिएको प्राचीन मखमलको कपडाबाट निर्मित भोटोमा हिरामोती जडित भएको बताए । ‘छुँदा एकदम नरमखालको छ,’ उनले भने । जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिएको थियो । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानसाथ समारोहस्थलमा ल्याउने गरिन्छ ।


भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली बाजागाजासाथ बुङगमतीस्थित मन्दिरमा र मत्स्येन्द्रनाथका बुबा मानिने मीननाथलाई रथमै राखेर चक्रबहिलमा पुर्‍याइयो ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?