सारेगमप लिल च्याम्प्स : प्रितम सेकेन्ड रनर अप

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिल च्याम्प्स’ मा सुनरी, इटहरी ५ का प्रितम आचार्य सेकेन्ड रनर अप बन्दै दुई लाख भारु जिते । आइतबार सम्पन्न ग्रायन्ड फिनालेमा उनी तेस्रो बन्दा अर्का नेपाली प्रतिस्पर्धी आयुष केसी चौथो बनेका थिए ।

भारतीय टेलिभिजन जीटीभीको सारेगमप प्रतियोगितामा सेकेन्ड रनर अप उपाधि विजेता प्रितम आचार्यलाई झापामा स्वागत गरिँदै । तस्बिर : पर्वत/कान्तिपुर

नागपुर भारतकी सुगन्धा दाते सारेगामापा लिल च्याम्प्स विजेता बनिन् । उनले ५ लाख भारु पुरस्कार पाइन् । फाइनल राउन्डमा सुगन्धा, प्रितम, मोहम्मदसँगै आयुश, आस्था दास र अनुष्का पात्राले प्रतिस्पर्धागरेका थिए ।

प्रितम र आयुष दुवै सोमबार घर फर्किएका छन् । मुम्बईबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थलवाट ओर्लिएका उनलाई स्वागत गर्न समर्थक तथा आफन्तको बाक्लो भीड थियो, पूर्वी नाका काँकडभिट्टामा । उनले आफूलाई समर्थन गरेर भोट दिने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

सारेगामापाका निर्णायकले ११ वर्षीय प्रितमको गायकी क्षमता निक्कै परिपक्व रहेको बताउँदै आएका थिए । सुरिलो स्वरका धनी उनले भारतीय रियालिटी सोमा उत्कृष्ट प्रदर्शनगर्दै तेस्र्रो उपाधि जितेका हुन्,त्यो पनि सयौं अब्बल प्रतिस्पर्धीलाई पाखा लगाउँदै ।
यी बाल प्रतिभाले सारेगामापा लिल च्याम्पमा आफ्नाे स्वरको जादू देखाउँदा निर्णायकहरू पटकपटक चकित पर्ने गर्थे । ‘प्रितमसँग भरपुर आत्मविश्वास थियो । त्यही आत्मविश्वासले उनलाई सफलता दिलाएको हो,’ संगीत साधन प्र्रतिष्ठान इटहरीका संस्थापक राजु केसीले भने ।

इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन् प्रितम । ७ वर्षकै उमेरमा स्कुल आइडल जितेका उनी ९ वर्ष छँदा सुरशाला गायन प्रतियोगितामा फस्ट रनर अप भएका थिए । संयोग कस्तो भने, अहिले चौथो बनेका आयुष सुरशालामा पहिलो बनेका थिए । यी दुवै नेपाली बाल गायकले सारेगामापाको यो सिजनमा तहल्का मच्चाएका थिए ।

प्रितमका धेरै गीत तथा कभर गीतहरू युट्युबमा भाइरल नै छन् । उनलाई मेन्टरिङसमेत गरिरहेका फिल्म निर्माता राजेश घतानीले उनको गायकी उत्कृष्ट रहेकै कारण निर्णायकहरूको नजरमा परेको र तेस्रो स्थान प्राप्त गर्न सकेको बताए ।

सारेगामापामा उनले सुरुमा डिजिटल अडिसन दिएका थिए । निर्णायकले स्वर मन पराएपछि दिल्ली बोलाइएको बुबा काशीनाथले बताए । दिल्लीका तीनवटा अडिसनमा सफल भएपछि प्रितम मुम्बईको मेगा अडिसनमा छानिएका थिए । ‘गायनमा प्रितमको मिहिनेत राम्रो थियो,’ बुवा काशीनाथ भन्छन्, ‘त्यही कारण रिजल्ट पनि राम्रो आयो ।’

प्रितम दैनिक २ घण्टा नियमित रियाज गर्छन् । संगीतसँगै पढाइमा पनि उनी अब्बल छन् । उनका संगीत शिक्षक भूपेन्द्र राई भन्छन्, ‘प्रितमसँग गाउन सक्ने पृृथक् क्षमता छ ।’ आधुनिक, शास्त्रीय दुवै किसिमका गीत गाउन सक्ने क्षमता उनमा रहेको शिक्षक राईले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हङकङमा सुपुर्दगी विधेयकको विरोध –'विदेशी शक्तिको हात’

एजेन्सी

हङकङ — चीनले हङकङमा प्रस्तावित सुपुर्दगीसम्बन्धी कानुनको विरोधमा आइतबार गरिएको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको दाबी गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले विदेशी शक्तिले चीनमाथि प्रहार गर्न हङकङमा विध्वंश निम्त्याउने प्रयास गरेको दाबी गरेको छ । 

सुपुर्दगी विधेयकको विरोधमा सोमबार बिहान हङकङमा गरिएको प्रदर्शनमाथि हस्तक्षेप गर्दै प्रहरी । तस्बिर : एपी

चिनियाँ भाषाको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ ले लेखेको छ, ‘यो निश्चित छ कि केही अन्तर्राष्ट्रिय शक्तिले पछिल्ला महिनामा हङकङसँगको अन्तरक्रिया बढाउँदै लगेका छन् ।’ अखबारको सम्पादकीयमा हङकङका विपक्षी नेता र अमेरिकी विदेशमन्त्री माइक पोम्पियो तथा सभामुख नान्सी पेलोसीबीचको भेटवार्तालाई समेत उल्लेख गरिएको छ । त्यसैगरी अंग्रेजी भाषाको अखबार ‘चाइना डेली’ ले पनि कानुनको समर्थन गरेको छ ।

प्रस्तावित कानुनअनुसार चीनले हङकङस्थित राजनीतिक विपक्षीलाई निसाना बनाउने भन्दै सर्वसाधारणहरू विरोधमा उत्रेका हुन् । प्रदर्शनमा व्यवसायी, कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधरहरूको सहभागिता थियो । सहरका कतिपय स्थानमा सोमबार बिहानैदेखि नै विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीलाई भगाउन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको समाचार संस्था एएफपीले जनाएको छ । कतिपय प्रदर्शनकारीलाई प्रहरीले लछारपछार पारेको सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर तथा दृश्यहरूमा देखिएको छ ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विरोधका बाबजुद सुपुर्दगी विधेयक फिर्ता नहुने बताएकी छन् । संवाददाताहरूसँग सोमबार कुराकानी गर्दै लामले ‘देशको आवश्यकताअनुसार नै कानुन ल्याइएको’ दाबी गरिन् । उनले हङकङमा मानवाधिकार रक्षा हुनेमा कसैले शंका गर्नु नपर्ने बताइन् ।

आइतबार सेतो पोसाकमा सडकमा उत्रेका लाखौं मानिस घण्टौं लामो प्रदर्शनमा उत्रेका थिए । विरोधका क्रममा प्रहरी र प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भए ।

मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारी प्रहरीले खडा गरेको अवरोध पन्छाएर विधान परिषदको भवनमा प्रवेश गर्न खोजेपछि झडप भएको हो । बीबीसीका अनुसार झडपका क्रममा एक पत्रकारसहित ३ अधिकारी घाइते छन् । हङकङका प्रहरी प्रमुखले ‘शान्तिपूर्ण प्रदर्शन हुने देशको परम्परा तोडिएको’ दाबी गरे ।

हङकङको स्वतन्त्रतापछिकै ठूलो मानिएको प्रदर्शनमा १० लाख सहभागी भएको आयोजकको दाबी छ । तर प्रहरीले २ लाख ४० हजार सहभागी भएको दाबी गरेका छ । आयोजकहरूले बुधबार फेरि अर्को विरोध प्रदर्शन गरिने जनाएका छन् । सुपुर्दगीसम्बन्धी प्रस्तावित कानुनको प्रावधानअनुसार हङकङमा अपराध तथा बलात्कारमा आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्छन् । तर सुपुर्दगी गर्ने/नगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने जनाइएको छ ।

हङकङका १९ वर्षीय युवाले गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरी देश फर्केपछि सुपुर्दगी कानुनबारे बहस सुरु भएको हो । ताइवानी अधिकारीले ती युवकलाई सुम्पन हङकङसँग आग्रह गरे पनि कानुनी जटिलता देखिएको थियो । सन् १९९७ मा बेलायतबाट स्वतन्त्र भएयाता हङकङ ‘एक देश दुई व्यवस्था’ अन्तर्गत अर्ध–शासित छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT