कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिम्मतवाली योगमाया

जहानियाँ राणा शासनको बेला मुलुक अँध्यारोमा थियो  । सतिप्रथा, दासप्रथा, जातीय छुवाछुत, भेदभाव, नारीमाथिको शोषण जस्ता तिरस्कारमा जेलिएको त्यही अँध्यारो समय पूर्वबाट उदाइन् योगमाया न्यौपाने  ।

हिम्मतवाली योगमाया

समाज सुधारकको रूपमा त्यतिबेलै राणाविरोधी विद्रोह गरेकी उनीमाथि उपन्यास लेखेकी थिइन् गतवर्ष निलम कार्की निहारिकाले । मदन पुरस्कार पाउन सफल यही उपन्यासमाथि तयार पारिएको नाटकमा यति बेला ‘जिउँदो’ योगमाया भेट्न सकिन्छ । नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।

टंक चौलागाईंले निर्देशन तथा नाट्य रूपान्तरण गरेको नाटकमा कट्टर राणाशासनविरुद्ध भोजपुर दिङ्लाकी योगमाया न्यौपानेले चालेको पाइला र त्यो बेलाको समाजमा उनले गरेको संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । रंगमञ्चबाट नै कलामा उदाएर नेपाली फिल्मी क्षेत्रमा प्रसिद्धि कमाएकी मिथिला शर्मा नाटकमा योगमायाको चरित्रमा छिन् ।

विद्रोही, सामाजिक एवं धार्मिक सुधार अभियन्ताका रूपमा निभाएको योगमायाको भूमिकालाई मिथिलाले अब्बल ढंगले अभिनयमा उतारेकी छन् । तत्कालीन सामाजिक थिचोमिचो र अन्यायलाई सहन नसकेर अग्नि–समाधि गर्न खोजेकी योगमाया र उनका अन्य अनुयायीहरूलाई राणाहरूको निर्देशनमा पक्राउ गरी कैदी बनाएर अनेक यातना दिएको दृश्यले दर्शकलाई झड्का दिन्छ ।

तत्कालीन सामाजिक कुरीति र त्यसप्रति सत्ताले गरेको संरक्षणविरुद्ध योगमाया कति दृढ भएर लागेकी थिइन् भन्ने नाटकले बताउँछ । भोजपुर मझुवाबेंसीको आश्रमबाट विद्रोह गरेकी विधवा योगमायाले सामाजिक समानता, छुवाछुत र नारी विभेदको अन्त्यसँगै धर्मराज्य स्थापनाका लागि भन्दै काठमाडौं यात्रा गर्दाको दृश्यले दर्शकलाई पनि जोसिलो बनाइदिन्छ । तर ‘हिम्मतवाली’ योगमाया अन्त्य भने जल समाधिबाट हुन्छ ।

अन्यायले सीमा नाघेपछि सहन नसकेको भन्दै विसं १९४१ मा २ सय ४० जना चेलीसहित उनले अरुण नदीमा हाम फालेकी थिइन् । श्री ३ जुद्धशमशेरका पालामा भएको यो विद्रोह सामाजिक र राजनीतिक सुधारमा ऐतिहासिक मानिए पनि उनको निराशापूर्ण अन्त्यले दर्शकलाई पनि निराश बनाउँछ । निर्देशक टंक चौंलागाईं भने योगमायाको जीवनका यी उतारचढाव र निराशाजनक अन्त्यलाई निकै मिहिनेतसाथ देखाउने कोसिस गरेका छन् ।

कथित तल्लो जातको बिहे गरेको कारण समाजबाट बहिष्कृत मात्र नभई कालोमोसो दली अपमानजनक रूपमा गाउँ निकाला गरेको दृश्य, मन्दिरदेखि पँधेरोसम्म हुने जातीय विभेद बालविवाहजस्ता सन्दर्भमार्फत त्यति बेलाको समाज नाटकमा जिउँदो रूपमा भेटिन्छ ।

‘योगमायाले छोडेको इतिहासप्रतिको सम्मान गर्न उपन्यासलाई नाट्य रूपान्तरण गरिएको निर्देशक चौलागाईंले बताए । दुई दर्जनभन्दा बढी कलाकारहरूलाई उनले मञ्चमा उतारेका छन् ।
असार १६ गतेसम्म नियमित मञ्चन हुने नाटकमा मिथिलासँगै साथै प्रल्हाद खरेल, प्रभाकर न्यौपाने, श्याम खडा, सुमन कुइँकेल, सुवास क्षेत्री, सुरज तमुलगायतले अभिनय गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?