३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सधैँ आरोप–प्रत्यारोप

फिल्मकर्मी—समीक्षक
सुशील पौडेल

काठमाडौँ — फिल्म समीक्षाकै कारण बेलाबखत फिल्मकर्मी र समीक्षक/पत्रकारबीच विवाद चल्दै आएको छ । मिडिया हाउसमै आएर पत्रकार थर्काएका घटना पुराना भइसके ।

सधैँ आरोप–प्रत्यारोप

फिल्म ‘ब्रेकफेल’ को समीक्षा नकारात्मक आएकै कारण उक्त फिल्मकी अभिनेत्री ऋचा घिमिरेले समीक्षक मनोज पण्डितविरुद्ध प्रहरीमा उजुरी नै हालेकी थिइन् । पछि सहमति भएपछि कुरा अघि बढाइएन । प्रायः फिल्मकर्मीमा आलोचना पचाउन सक्ने खुबी देखिँदैन । समीक्षाले विदेशी बजारमा प्रत्यक्ष असर गर्ने भएकाले पनि आलोचनात्मक समीक्षक प्रायः फिल्मकर्मीको आँखी बनिरहेको अवस्था छ । ‘हामी फिल्मकर्मी सर्जक कम, व्यापारी बढी भइरहेका छौं ।’


फिल्मको नाफा र घाटामा बढी ध्यान केन्द्रित भइरहेका बेला पछिल्ला समीक्षाले फिल्मको व्यापारलाई प्रत्यक्ष असर पार्न थालेको छ । यसले गर्दा पनि व्यापारिक मनोवृत्तिका फिल्मकर्मी चट्पटाएका छन्,’ समीक्षक तथा निर्देशक मनोज पण्डित कान्तिपुरसँग भन्छन्, ‘त्यसबाहेक फिल्मकर्मी बढी अहंकारी हुन्छ । उसले आफ्नो सृजनामा शतप्रतिशत मिहिनेत खर्चेको हुन्छ । त्यही सृजनामाथि कसैले औंला ठड्याउँदा उसको अहम्तामा ठेस पुग्छ ।’ उनले व्यापारिक मनोवृत्ति र अहम्ता दुई तत्त्वका कारण फिल्मकर्मी र पत्रकार/समीक्षकबीच प्रायः द्वन्द्व र दूरी बढिरहने गरेको बताए ।


यति बेला द्वन्द्व ‘वीर विक्रम २’ को मिम नेपाल च्यालनमा गरिएको भिडियो समीक्षामा आएर बल्झिएको छ । उक्त पीजी भिडियो रिभ्युप्रति आपत्ति जनाउँदै फिल्मका निर्देशक, निर्माता मिलन चाम्सले दुई हप्ताअघि प्रस्तोता प्रनेश गौतमसहित मिम नेपालका विरुद्धमा अपराध अनुसन्धान महाशाखामा उजुरी हाले, एक करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै । चाम्सले समीक्षामा प्रयोग गरिएका अश्लील शब्द, हर्कत र रंगभेदी कुराले व्यक्तिगत रूपमा आँच पुर्‍याएको आरोप लगाएका छन् ।


सोही उजुरीका आधारमा प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि प्रक्रिया अघि बढाएकोमा काठमाडौं जिल्ला अदालतले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि गौतम अघिल्लो शुक्रबार नै पक्राउ परेका हुन् । घटनाको चार दिनपछि नेपाली कांग्रेसका नेता गगन थापाले ट्वीट गर्दै प्रनेशको पक्राउ दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भनी आवाज उठाएपछि घटना यति बेला राष्ट्रिय मुद्दा बनेको छ ।


‘फिल्म समीक्षासँग मेरो आपत्ति हुँदै होइन । रचनात्मक आलोचना गर्न जसले पनि पाउँछ । तर उक्त भिडियोमा व्यक्त गालीगलौज, अपशब्द र रंगभेदी कुरामा असहमति हो,’ निर्देशक चाम्सले कान्तिपुरसँग भने, ‘आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरूको मानमर्दन गर्ने काम फेरि भविष्यमा नहोस् भनेर सबक सिकाउन मात्रै खोजिएको थियो । तर घटनाले यस्तो रूप लिन्छ भन्ने लागेको थिएन । अझै पनि सहमतिमा नै जान पहल गरिरहेको छु ।’


निर्देशक पण्डित भने समीक्षकका कारण पनि फिल्मकर्मीको अहम्तामा ठेस पुग्ने अर्को तर्क सुनाउँदै भन्छन्, ‘क्षमतावान् र विधा बुझेको समीक्षकले भनेका कुराले एउटा सर्जकलाई दबाब महसुस हुन्छ । तर भर्खर भर्खर फिल्म बुझ्न खोजेको वा क्षेत्रसँग नै सम्बन्धित नभएको व्यक्तिले आफ्नो सृजनामाथि प्रश्न उठाउँदा उसले अपमानबोध पनि गरेको हुन्छ ।’ उनले यो पनि द्वन्द्वको मुख्य कारण हुने जिकिर गर्छन् ।


तर यति बेला प्रनेशको पक्राउ भने विशुद्ध अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विरोध भएको छ । बिहीबार चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले विज्ञप्ति जारी गर्दै विद्युतीय कारोबार ऐन लगाएर थुनिएका प्रनेश गौतमको तुरुन्त रिहाइको माग गर्दै भनेको छ, ‘चलचित्र समीक्षा गर्ने शैली विविध हुन सक्छन्, गौतमले प्रस्तुत गरेको भिडियो ‘एर्ब्सडिस्ट ह्युमर’ शैलीमा बनाइएको कमेडी भिडियोमा पर्ने देखिन्छ । अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्य कलाकारको मात्रै नभई चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरूको स्वतन्त्रता हो ।’ समाजले अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतमाथि कुनै पनि बहानामा हुने प्रहार र दमित बनाउने प्रयास स्वीकार्य नहुने जिकिर गरेको छ । साथै, फिक्सनले मिम नेपालको भिडियोमा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा कुनै जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणीसमेत भएको पाइएको बताउँदै यस्ता कामको पनि समर्थन नगर्ने जनाएको छ ।


त्यसैगरी, बुधबार चलचित्र क्षेत्रसम्बद्ध नौ संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मिम नेपाल च्यानलबाट सम्प्रेषित वीर विक्रम २ को विषयवस्तु र कलाकारहरूको विषयमा गरिएको टीकाटिप्पणी र अभिव्यक्तिबाट र यसले उत्पन्न गराएको परिस्थितिले समग्र चलचित्र क्षेत्रमा पर्न सक्ने असर र प्रभावले गम्भीर बनाएको उल्लेख गरिएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी चलचित्र उपर कुदृष्टि, वैरभाव एवं पूर्वाग्रही भई पत्रकारिताको धर्म, मर्म, मूल्यमान्यता र नैतिक धरातललाई बिर्सेर ‘वीर विक्रम २’ माथि भएको/गरिएको कार्यको घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्यकार संघ र आदिवासी जनजाति चलचित्र महासंघ नेतृत्वको हस्ताक्षर रहेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?