नानालाई क्लिन चिट

तनुश्री असन्तुष्ट

काठमाडौँ — संसारभर महिला यौन हिंसाविरुद्ध मीटू ह्यासट्याग चलिरहेका बेला बलिउडमा पनि अभिनेत्री तनुश्री दत्ताले आफूमााथि अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । उक्त आरोपपछि बलिउडमा मीटूले झन् व्यापकता पायो ।

नानालाई क्लिन चिट

पक्ष र विपक्षमा पूरा उद्योग नै देखियो । तनुश्रीले एक फिल्मको सुटिङका दौरान नानाले आफूलाई अनावश्यक हर्कतमार्फत यौन दुर्व्यवहार गरेको भन्दै उजुरीसमेत हालिन् । तर यति बेला भने प्रहरीले नानालाई क्लिन चिट दिएको छ ।


तनुश्रीले भने क्लिन चिटप्रति चर्को असन्तुष्टि देखाउँदै पुलिस र कानुनी प्रणालीलाई नै भ्रष्ट भनी टिप्पणी गरेकी छन् । ‘भ्रष्ट पुलिस बल र कानुनी प्रणालीले आफूभन्दा पनि भ्रष्ट नाना पाटेकरलाई क्लिन चिट दिएको छ । नाना त्यस्ता व्यक्ति हुन्, जसले बलिउडका धेरै महिलालाई धम्काउने, डराउने र प्रताडित गर्ने मामिलामा सामेल छ,’ तनुश्रीले आफ्नो मुद्दा कमजोर बनाउन नानाले नक्कली साक्षी खडा गर्नेदेखि विपक्षी साक्षीलाई डर देखाएर तर्साउने गरेको पनि आरोप लगाइन् ।


तर तनुश्रीले अझै पनि आफ्ना कतिपय साक्षीहरूले बयान दिई नसकेको कारण पनि जीत आफ्नै पक्षमा रहने विश्वास व्यक्त गरेकी छन् । ‘यदि बलात्कार आरोपी आलोक नाथको क्लिन चिट मिल्दा फेरि फिल्ममा फर्किएजस्तै नानाका लागि पनि अब फेरि काममा फर्किन मुस्किल काम हुने छैन । तर म पीडक, गुन्डा अनि भ्रष्टतन्त्रविरुद्ध एक्लै लडदा लडदै थाकेकी भए पनि हार मान्दिनँ । मलाई अझै पनि न्याय मिल्नेमा विश्वास छ । जित मेरै हुन्छ । कहिले र कसरी त समयले नै बताउला,’ अभिनेत्री दत्ताले भनेकी छन् ।


हाल अमेरिकामा रहेकी तनुश्रीले आफ्ना दस जना साक्षी भए पनि प्रहरीले एक जनाको मात्रै बयान लिएको र पर्याप्त प्रमाण नभेटिएको आरोप लगाएकी छन् । त्यसो त नायिकाले दुर्व्यवहार भएको समय उक्त सेटमा आफ्ना कोही पनि साथी नभएको र देख्ने जति सबै नानाकै मात्र भएकोले पनि सबै अभिनेतालाई बचाउनका लागि बोलिरहेको बताएकी छन् ।


तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को गीतको सुटिङ दौरान अभिनेताले डान्स स्टेप सिकाउने नाममा बारम्बार आफूलाई गलत तरिकाले छोएको आरोप लगाएकी थिइन् । तनुश्रीको आरोपपछि नानाले आरोपलाई झूटो सावित नगर्दासम्म फिल्म नखेल्ने प्रण गर्दै ‘हाउसफुल ४’ बाट समेत आफ्नो नाम झिकेका थिए ।

प्रकाशित : असार १, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?