नीतु मिस नेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको मिस नेवाः को उपाधि नीतु डंगोलले जितेकी छन् । १६ प्रतिस्पर्धीलाई पछि पार्दै नीतुले शीर्ष ताज पहिरेकी हुन् । उनलाई पछ्याउँदै सञ्जिता महर्जन फस्ट रनर्स अप र स्केना कोजु सेकेन्ड रनर्स अप भइन् ।

विजेताहरूलाई लतिलपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगद तथा विभिन्न उपहार हस्तान्तरण गरे । नयाँ पुस्तामा मौलिक संस्कृति र ज्ञान हस्तान्तरणका ध्येयले हुँदै आएको मिस नेवाको यो १४ औं संस्करण हो । यसपटककी विजेता नीतुलाई १३ औं संस्करणकी विजेता रीजु मानन्धरले ताज पहि×र्‍याइदिएकी थिइन् ।

प्रतियोगितामा युनिषा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको अवार्ड जित्न सफल भइन् । त्यसै गरी पल्सा महर्जनले मिस पब्लिक च्वाइसका साथै सोसल वेलफेयर एम्बेसडरतर्फको फस्ट रनर्स अपको उपाधि जितिन् भने रोजी शाक्यले बेस्ट हेयरको उपाधि जितिन् ।

त्यस्तै कृतिका प्रजापतिले बेस्ट स्किन, कृषा गैंजुले बेस्ट स्माइल, बिदिशा श्रेष्ठले मिस डिसिप्लिन, अजुमी शाहीले मिस फोटोजेनिक, संगीता महर्जनले मिस फ्रेन्डसप, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्ट, ईशा श्रेष्ठले बेस्ट ड्रेस र रेफिना श्रेष्ठले सोसल वेलफेयर एम्बेसडरतर्फको सेकेन्ड रनर्स अपको उपाधि जिते । सजिना श्रेष्ठले मिस ट्यालेन्टको उपाधि जित्दा रोशनी कुम्पाखाले उत्कृष्ट नेपाल भाषाको उपाधि हात पारिन् ।

प्रतियोगिताका क्रममा विभिन्न पहिरनको फेसन शोसमेत प्रस्तुत गरिएको थियो । निर्णायक मण्डलमा भने गायक प्रवेशमान शाक्य, बैंकर भाइराजा तुलाधर, नेपाल क्युकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डे थिए ।

प्रतियोगिताले नेवार कला, संस्कृति, गीत, संगीत, नृत्य, रीतिरिवाज, रहनसहन, खानपिन प्रवर्धन गर्दै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

प्रकाशित : असार २, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

थाङ्का कलामा आधुनिकता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली पम्परागत कला विधामा पर्छ थाङ्का । चित्रमार्फत बौद्ध दर्शनको विस्तारका क्रममा कलाको यो शैली विकास भएको मानिन्छ । तामाङ, शेर्पा, ह्योल्मोलगायत समुदायमा गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म थाङ्का कलाको प्रयोग हुन्छ ।

यसलाई फ्युजन गरी समसामयिक बनाउँदा कस्तो हुन्छ होला ? राजधानीमा बहस चल्यो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न ‘कलामा तामाङ सौन्दर्यको खोजी’ शीर्षकको चित्रकला एवं परम्परागत मूर्तिकला प्रदर्शनी क्रममा यस्तो बहस चलेको हो । पछिल्लो समय केही चित्रकारहरूले थाङ्काको प्रभाव ग्रहण गरेर मौलिक कलाकृति बनाइरहेको सन्दर्भ जोड्दै पूर्वप्राज्ञ एवं थाङ्काविद् निमा ग्याम्जो लामाले भने, ‘बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित नै राख्नुपर्छ ।’

सहरका ग्यालरीहरूमा पछिल्लो समय मिथिला चित्रमा पनि आधुनिकता भित्रिँदै गइरहेको भेटिन्छ । प्रभाव मात्रै मिथिलाको राखेर चित्रकारहरूले मौलिकता मिसाएर बनाएका कलाकृतिको व्यापार पनि राम्रै भइरहेको छ । यही सन्दर्भ जोडे थाङ्का कला समीक्षक म्हेन्दो लामाले । उनलेथाङ्कामा प्रयोग हुँदै आइरहेको बुद्ध, हरित तारा (भृकुटी), गुरु रिम्पोछे(पद्मसम्भव), ह्वाइट तारा (स्रङचङ गम्पोकी जेठी बुढी), आर्य अवलोकितेश्वरजस्ता फिगरहरूका ठाउँमा समसामयिक फिगर राखेर कोरे कलामा समसामयिक समाज र विषय आउने तर्क गरे ।

‘अहिले थाङ्कामा जुन परम्परा चलिरहेको छ, त्यसलाई नबिगारीकनै आधुनिक शैली भित्र्याउन सकिन्छ,’ उनले भने, ‘यसो भयो भने दुईवटा धार निर्माण गर्न सकिन्छ । परम्परागत र समसामयिक ।’ यसका लागि थाङ्का कलामै काम गरिरहेका हस्तीहरू अघि बढ्नुपर्ने उनले बताए ।

बहसमा प्रमुख अतिथि बनेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मुलुकका बौद्ध सम्प्रदायमा प्रचलित थाङ्का कलाको व्यापार अहिले अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गइरहेको बताउँदै यसमा नयाँ र सिर्जनशील कार्य गर्न सकिने औंल्याए ।

‘छिमेकी चीनमै थाङ्काको ठूलो बजार छ,’ उनले भने, ‘सिर्जनशीलता ल्याउन सकियो भने थाङ्काको आयाम झन् फराकिलो हुनेछ ।’ अर्काथाङ्का कलाकार एवं प्राज्ञ मानबहादुर दोङले पनि थाङ्का कला तामाङ समुदायको सांस्कृतिक चिनारी भएकाले यसको परम्परागत शैली नबिगारीकन आधुनिकतामा जान सकिने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र परम्परागत शिल्पकला विभागसँगको सहकार्यमा सेलो फाउन्डेसनले गरेको प्रदर्शनीमा तामाङ समुदायमा प्रचलित परम्परागत मूर्तिकला पनि राखिएको थियो । लामो समयदेखि काष्ठकलामा काम गर्दै आएका सिन्धुपाल्चोक लिसंखुका पासाङ दोण्डुप लामा गाउँमै निर्मित मुकुन्डोकला लिएर आइपुगेका थिए । उनका अनुसार ‘पहिले पहिले गाउँमा गुम्बा सजाउन, लामा नृत्य गर्न र जात्रा निकाल्न मात्रै मुकुन्डो प्रयोग हुन्थ्यो ।’

अहिले यो बजारमा राम्रो पैसामा बिक्री हुन्छ । विशेष गरी बौद्ध, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर र ठमेलमा यसको ठूलो बजार छ । ‘मनग्गे आम्दानी भए पनि नयाँ पुस्ता यतातिर तानिन सकेको छैन,’ उनले भने, ‘सरकारी क्षेत्रबाट पनि यतातिर ध्यान पुर्‍याउनुपर्छ ।’

तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्मफेस्टिभलको समेत सन्दर्भ बनाइएको प्रदर्शनीमा पेमा ग्याम्जो लामा, अजय लामा, वाङ दोर्जे मिप्चन, कुन्छाङ लामा, मुन्ना लामा र प्रदीप पाख्रिनले ढलौट, माटो र काठ माध्यमका मूर्तिकला राखेका थिए भने टुल्कु मोक्तान, कर्म लामा, कान्छामान लामा, ज्ञानबहादुर तामाङ, रमिता तामाङ, दीपक योञ्जन, कुमार घिसिङ, पदम लामा, राजेन्द्र लामा र राजु लामाले थाङ्का चित्र राखेका थिए ।

प्रकाशित : असार २, २०७६ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्