१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भूमे नाचका २२ वर्ष

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका १ स्थित सहिद मैदान अबको एक महिनासम्म व्यस्त हुनेछ । मैदानका चारैतर्फ दर्शक हुन्छन् भने घेरा पारेर नाच्नेगाउनेको ताँती हुन्छ । आफ्नै वेशभूषामा सजिएका महिलापुरुष सहिद मैदानमा नाच्छन् ।

भूमे नाचका २२ वर्ष

बाजागाजा र गीसहित परम्परागत भेषमा नाचिने नाचले यतिबेला सहिद मैदान रमाइलो बनेको छ । चोली, गादा, लुङ्गी र पछ्यौराका साथमा महिला नाच्छन् भने चौबन्दी चोली, स्टकोट, भांग्रा, पटुका, खादीमा पुरुष नाच्छन् ।


मगर समुदायको ठूलो पर्व भूमे अर्थात् बल पूजाको अवसरमा आइतबारदेखि नाचगान सुरु भएको हो । बर्सेनि यही सहिद मैदानमा नाचगान हुँदै आएको छ । २२ वर्षअघि केही महिलाले सहिद मैदानलाई भूमे नाच्ने थलो बनाएका थिए । मगर बाहुल्य क्षेत्रका बासिन्दाको बसोबास बढेसँगै सहिद मैदानमा भूमे नाच्न थालिएको मगर अगुवा राजकुमार पुनमगरले बताए ।


साबिक रुकुमको सदरमुकाम रहेका ठाउँमा मगर समुदाय बढै गएपछि मात्रै सहिद मैदान भूमे नाच्ने थलोका रूपमा रहेको उनको भनाइ छ । उनका अनुसार २०५४ मा पहिलोपल्ट केही महिलाले खलंगामा भूमे नाच्न सुरु गरेका थिए ।


अहिले खलंगाका विभिन्न ठाउँमा भन्डै २ सय घरधुरी मगर समुदायको बसोबास छ । उनीहरू हरेक वर्ष यसरी नै सहिद मैदानमा भूमे नाच्ने गर्छन् । पुनका अनुसार लेक र बेंसी अर्थात भूमि पुज्ने पर्व बल पूजा अर्थात् भूमे नाच हो ।


वर्षातका समयमा लेकबाट बाढी, पहिरो नझरोस्, बेंसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस् भन्ने जनविश्वाससाथ बल पूजा गरिँदै आइएको हो । त्यसका लागि लेक र गाउँका देउतालाई पुजिन्छ । यस पर्वको मुख्य उद्देश्य पन्थ्यौली र भूमि देउतालाई पुज्नु हो ।


वर्षाको समयभर पन्थ र भूमिले बाढी, पहिरो र भूक्षय रोकोस्, धनजन र बालीनाली क्षति हुनबाट बचोस् भनेर बल पूजा गर्ने गरेको खलंगामै बसोबास गर्दै आएका तेजेन्द्र खाममगरले बताए ।


जेठ १ गते सामान्य विधि गरेर बल पूजा नाचको शुभारम्भ गरिन्छ । त्यसपछि चौतारामा पुगेर हरेक दिन आफ्नै वेशभूषामा भुम्या नाचिन्छ । केटाकेटी, युवायुवती र वृद्धवृद्धा एउटै तालमा एउटै बाजामा नाच्ने गर्छन् ।


यसरी नाच्दा देउता खुसी हुने र अनिष्ट हुनबाट जोगिने जनविश्वास छ । जेठ मसान्तको दिन लेकको देउता अर्थात् पन्थ्यौलीको पूजाआजा गर्न पन्थ (लेक) पुग्ने गरिएको उनी बताउँछन् । त्यहाँ पुगेर पन्थ्यौली देउतालाई धार, धूप, ध्वजा, अक्षताले पुजिन्छ । पूजासँगै भेडाको बलि दिने प्रचलनसमेत छ ।

प्रकाशित : असार २, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?