३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पनौतीमा भगवान लीला

काभ्रे — प्रत्येक वर्ष जेठ पूर्णिमाका दिन हुने पनौतीको ‘ज्या पुन्ही’ जात्रामा अनौठो परम्परा छ । जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबिच सम्भोग गराइन्छ ।

पनौतीमा भगवान लीला

स्थानीय सूर्यप्रसाद लाकोजूका अनुसार, परापूर्वकालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनीमध्येबाट एक दिन आग्रह गरेका थिए । कृष्णले आफू नभएको कोठाबाट लैजान भने पनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बताउँदा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् ।


पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन् । उक्त रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसेको पावर्तीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतीक्षा गरिरहिन् । त्यसै बेला महादेव पनि उन्मत्त भैरवको रूप धारण गरी बाहिर निस्के ।


भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनी रूपी पार्वती भद्रकालीको रूप बदलेर रोशी खोलाको किनारैकिनार भागेकी थिइन् । भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्त भैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको विश्वास गरिन्छ । यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरेपछि महादेव वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेका थिए ।


लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटीनजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिस एकआपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ ।


उन्मत्त भैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ । रथ जुधाउँदा अबिर एक–आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढाटाढाबाट मानिस आउने गरेका छन् ।


लाकोजूका अनुसार जात्रा १४ सय २८ वर्ष पुरानो हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने उनले बताए । प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित जात्रा भएकाले पहिला बेलुका मात्रै सञ्चालन गर्ने गरिएको स्थानीय धनबहादुर जंगम बताउँछन् ।


‘पहिला महिला र बालबालिकाले हेर्न हुन्न भन्ने मान्यता थियो, रातको समयमा सुरु भएर झिसमिसैमा सकिने गर्थ्यो,’ उनले भने, ‘समय बदलिएकाले अहिले दिउँसो नै देखाउने गरिएको हो ।’ ज्या पुन्हीपछि पनौतीमा यो वर्षका जात्रा सकिन्छन् । अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुरदेखिका मानिस जात्रा हेर्न आउने गरेका छन् ।

प्रकाशित : असार ३, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?