राष्ट्रिय नाटक महोत्सव : कर्णाली बोकेर राजधानी

फूलमान वल

काठमाडौँ — केही महिनाअघि मात्रै कर्णालीका रंगकर्मीहरूले राजधानीमा ‘गर्भ छिटा’ नाटकमा सुदूरपश्चिमको लोककथा पस्केको थियो । सोमबार राजधानीमा फेरि कर्णाली थिएटर ‘कलापुञ्ज’ का कलाकर्मीहरूले नयाँ लोककथा प्रस्तुत गरे । 

सम्पत्तिको लोभमा बर्बाद भएको एउटा परिवारको कथा बोकेको खस भाषाको नाटक ‘पम्पाफूल’ मञ्चनसँगै सर्वनाम थिएटरमा राष्ट्रिय नाट्क महोत्सव–२०६७ सुरु भएको छ । रंगमञ्चमार्फत कर्णालीको लोककथा प्रवर्द्धनमा लागिपरेको कलापुञ्जका कलाकारले ‘पम्पाफूल’ को लोककथा मुगुको स्कुलमा भेटेका थिए । गाउँको आधारभूत स्कुलहरूमा लोककथा वाचन शृंखला चलाउँदै गर्दा भेटिएको ‘पम्पाफूल’ को कथाले लोभ, मोह र बदलाको भावले विनाश मात्रै निम्त्याउँछ भन्ने सन्देश दिन्छ ।

दाइजोसहित ज्वाइँको घरमा पुर्‍याउँदै गर्दा बाटोमा पर्ने खोलाको दहमा देखिएको जुनलाई ‘पम्पाफूल’ भनेर झुक्याउँदै आफ्नै दाइले बहिनीलाई हत्या गर्छ । सम्पत्ति हत्याउँछ । लोभमै फसेर घरबाट उसले स्वास्नी र आमाबुबा पनि निकाल्छ । जब उमेर घर्किंदै गएपछि जीवनमा एक्लो महसुस हुन्छ, पश्चतापमा जलेर ऊ आफैं बहिनी मारिएको दहमा हाम फाल्छ ।

कथा ‘युनिभर्सल’ भए पनि स्थानीयपनको आभास दिन निर्देशक हीरा बिजुलीले डेउडा गीत, नृत्य र भेषभूषामार्फत कोसिस गरेका छन् । पुरानो पुरुषप्रधान समाजमा नारीमाथि गरिने हिंसाको पाटो पनि नाटकले खोतल्छ । छोरीलाई गरगहना र सम्पत्तिले झपक्क पारिराख्नुपर्छ भन्ने पुरातन मान्यता पनि कथानकभित्र भेटिन्छ ।

मुगुमा नाटकघर बनाउने सपनासहित काम गरिरहेका कलापुञ्जका कलाकारहरूको नाट्य प्रयासलाई सकारात्मक मान्न सकिन्छ । उनीहरूलाई प्रोत्साहनको खाँचो छ । तर, नाटकको गति भने एकदम धीमा महसुस हुन्छ । कथावाचनको शैली सिर्जनशील र चुस्त हुन सकेको छैन । दृश्य निर्माण छरितो बनाउने प्रशस्त ठाउँहरू छन् ।

संगीत र ध्वनिमा खासै काम हुन सकेको छैन । बेलाबेला निर्देशक हीरा स्वयंले आफ्नै स्वरमा गरेको पार्श्व वाचनले पनि नाटकलाई गति प्रदान गर्न सघाएको छैन । दर्शकले बुझिसक्दा पनि चरित्र स्टेजमा अल्मलिरहन्छन् । यो निर्देशकीय कमजोरी हो । ‘गर्भ छिटा’ मा अब्बल काम गरेका हीरा यसपटक मिहिनेतमा चुकेका छन् । मुख्य गरी नाटकको कथ्य संरचना, बनोट र यसको बहावमा निर्देशक अल्मलिएका छन् ।

वस्तुहरूसितको माइम (नक्कल) मा पनि कलाकार चुकेका छन् । गिलासभरि दुध लिएर आएका कलाकारले त्यही गिलास हल्लाउँदै संवाद गर्छन् र पछि त्यही गिलासलाई दुध भएको मान्दै पिलाउँछन् । खोलाबाट ढुंगा उचालेर हानेको दृश्यमा पनि माइमको तालमेल मिल्दैन । लास उठाउने बेला कलाकारहरूले पानीसित कुनै पनि प्रतिक्रिया देखाउँदैनन् ।

डेउडा गीतमार्फत गरिएको कथावाचन भने प्रशंसनीय लाग्छ, यद्यपि नाटकको बीचतिर निर्देशक हीरासहितको कोरसले प्रस्तुत गरेको डेउडा नृत्य लामो लाग्छ । यस्ता थुप्रै आधारभूत कमजोरी रहेको भए पनि कर्णालीबाट काठमाडौंमा नाटक आइपुग्नुलाई सकारात्मक मान्नुपर्छ । कलाकारलेआआफ्नो ठाउँबाट मिहिनेत गरेकै छन् ।

बैदेवी बूढा, विष्णुमाया परियार, देवेन्द्र कार्की, राज मल्ल, रामु विक, निशाखड्का, जन्मलक्ष्मी हमाल, सुशीला रावल, खामु विक, गणेश खड्का, गोविन्द सुनार, दीपेन्द्र नेपालीलगायतको अभिनय छ नाटकमा । मञ्चन सकेपछि निर्देशक हीराले सरकारी तवरबाट आयोजित महोत्सवमा आफूहरूले पहिलोपटक भाग लिएको बताए ।

आफूहरू रंगमञ्चमार्फत नयाँ पुस्तामा कर्णालीको स्थानीय लोक सांस्कृतिक ज्ञान हस्तान्तरणमा लागि परेको बताउँदै यही क्रममा ‘चम्पाफूल’ तयार भएको पनि उनले बताए । नेपाली भाषाको मुहान मानिने खस भाषामा निकै कम नाटक लेखिन्छन्, मञ्चन गरिन्छन् । पछिल्लो समय खस भाषाको नाटक मञ्चनलाई निरन्तरता दिइरहेको हीरा बिजुलीको समूहको अभियानलाई भने प्रशंसनीय मान्नुपर्छ । संस्कृतिविद् तुलसी दिवस र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनले उद्घाटन गरेको महोत्सव एक साता जारी रहने छ ।

प्रकाशित : असार ३, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

हार्नेको कथामा “कीर्तिपुर”

कान्तिपुर संवाददाता

काठमाडौँ — इतिहास जित्नेको लेखिन्छ । त्यसैले पनि प्रायः इतिहास शासकको आँखाबाट व्यक्त हुन्छ भनिन्छ । के इतिहासमा हार्नेको आजाव सुनिएला ? इतिहासमा के होला, तर फिल्म ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ ले भने यति बेला हार्नेहरूको कथा पस्कन खोजेको छ । 

नेपाल एकीकरणका क्रममा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले तीन पटकको हमलापछि मात्र कीर्तिपुरमाथि विजय हासिल गरेका थिए । तर ‘कीर्तिपुर’ ले विजयी गोरखा राज्यको नभई हारेको कीर्तिपुरको आवाज उठाउन खोजेको बताइएको छ । निर्माण क्रमको पाँच वर्षपछि असार १३ देखि उक्त फिल्म प्रदर्शनमा आउँदै छ ।

निर्देशक प्रदीप खड्गीले ९० प्रतिशतभन्दा बढी भीएफएक्सको काम गर्नुपरेकाले पनि निर्माणमा लामो समय लागेको उल्लेख गर्दै चलचित्र जाँचपास (सेन्सर बोर्ड) बाट पनि समयमै प्रदर्शन अनुमति नपाएका कारण प्रदर्शन मिति थप लम्बिएको खुलाए ।
‘इतिहासमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रूपमा चिनाइएको छ ।

उनको गोरखा फौजले गरेको कीर्तिपुर आक्रमणलाई वीरता र चतुरताका रूपमा प्रशंसा गरिन्छ । तर कीर्तिपुरवासीको आवाज कतै सुनिएको छैन । बरु विजयपछि पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेको अफवाह फैलाइएको छ,’ निर्देशक खड्गीले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे प्रस्ट्याउँदै भने, ‘यो फिल्मले कीर्तिपुरे फौज र कीर्तिलक्ष्मीको वीरताको कथा बोकेको छ भने धेरै नयाँ तथ्यको उजागर पनि गर्नेछ ।’ उक्त फिल्म साहित्यकार वासु पासाद्वारा लिखित उपन्यास ‘भैरवसिंह’ मा आधारित भनिएको छ ।

फिल्ममा अभिनेता यशराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् भने हिसिला महर्जनले कीर्तिलक्ष्मीको मुख्य भूमिकामा अभिनय गरेकी छन् । त्यसैगरी फिल्ममा मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित, विनेश श्रेष्ठलगायत कलाकारहरू पनि रहेका छन् ।

अभिनेता गराचले ऐतिहासिक विषयमा आधारित फिल्मको एउटा महत्त्वपूर्ण अंग हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै भने, ‘एउटा वीर योद्धाको भूमिका निर्वाह गर्नु मेरा लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छु ।’
उनले ‘कीर्तिपुर’ लाई लिएर निकै उत्साहित रहेको बताए ।

कीर्तिलक्ष्मीको भूमिकामा रहेकी अभिनेत्री महर्जनले भने उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि नै सुन्दै आएको बताइन् । भनिन्, ‘एक दिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको थिएँ ।

यस फिल्मले पूरा गरिदियो ।’ पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन् । फोकस पिक्चर्सको व्यानरमा अनन्तकुमार श्रेष्ठले निर्माण गरेको ‘कीर्तिपुर’ को छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोरखामा गरिएको हो । शंकर महर्जन र नविन जोशीले फिल्मको छायांकन गरेका हुन् ।

प्रकाशित : असार ३, २०७६ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्