नाटकमा दर्शकको लर्को

काठमाडौँ — कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिबार साँझ रामबाबु रेग्मीको नाटक ‘विकास भर्सेज निकास’ मञ्चन हुनै लाग्दा दर्शक नअटेर चकटी ओछ्याउनुपर्‍यो । 

नाटकमा दर्शकको लर्को

नाटकको सो सुरु हुनुभन्दा एक घण्टाअघिदेखि नै दर्शक थिएटर अघिल्तिरको बाटोको सिँढीमा लाम लागेका थिए । दिउँसो उस्तै भीड थियो बत्तिसपुतलीस्थित शिल्पीको गोठाले थिएटरमा । शनिबार दुई सो हुने भएकाले साँझ नभ्याउनेहरू दिउँसो नै पुगेका थिए नाटक ‘योगमाया’ हेर्न । आफैले लेखेको उपन्यासमाथि बनेको नाटक हेर्न अमेरिकावासी लेखिका निलम कार्की निहारिका पनि आइपुगेकी थिइन् ।


‘रंगमञ्चका दर्शक साँच्चिकै बढेछन्,’ कलाकारले अभिनय गर्ने स्पेस छुने गरी अघिल्तिर चकटीमा बसेका दर्शक देखेपछि निलमले भनिन्, ‘नाटक हेर्ने संस्कृतिले साहित्यिक आयाम फराकिलो पार्छ ।’ राणा प्रधानमन्त्री जुद्धशमशेरका पालाका सामाजिक बेथितिकविरुद्ध विद्रोह गर्ने योगमाया न्यौपानेको संघर्षमा आधारित उपन्यास ‘योगमाया’ ले गतवर्षको मदन पुरस्कार पाएको थियो ।


पछिल्लो समय दर्शकको संख्या मात्र नभई रंगमञ्चप्रतिको बुझाइ पनि बढेकाले ‘योगमाया’ नाटक गर्न आँट गरेको निर्देशक टंक चौलागाईंले बताए । उता राष्ट्रिय नाटक महोत्सवअन्तर्गत सर्वनाम थिएटरमा हरेक दिन नयाँ नाटक मञ्चन भइरहेको छ । हरेक सोमा दर्शकको उपस्थिति निकै भएपछि अतिरिक्त स्थानको जोहो गर्नुपरेको छ । सर्वनामका राज शाहका अनुसार दर्शक सहभागिता ‘सोचेभन्दा राम्रो’ छ ।


यसको मूल कारण दर्शकमा बढदै गइरहेको ‘थिएटर लिटरेसी’ मान्छन् ‘योगमाया’ निर्देशक चौंलागाईं । सहरमा थिएटर समूहको योगदानसँगै स्कुल/कलेजले देखाएको चासोले पनि ‘थिएटर लिटरेसी’ बढेको हो ।


घरभित्रको कथा

पछिल्लो समय रंगमञ्चमा आधुनिकताले समस्यामा पार्दै गइरहेको जीवन र समाजको कथा तीव्ररूपमा उठिरहेको छ । केहीअघि शिल्पी थिएटरमै मञ्चन गरिएको घिमिरे युवराजको नाटक ‘आँधीको मनोरम नृत्य’ मा अभिभावक र केटाकेटीबिच बढ्दै गइरहेको दूरीलाई प्रस्तुत गरिएको थियो ।


राष्ट्रिय नाटक महोत्सवअन्तर्गत मञ्चनमा आएको नाटक ‘घरभित्रको अर्को घर’ मा आधुनिक जीवनशैली निम्त्याएको यस्तै अर्को दर्दनाक कथा पस्किएको थियो ।


बाबुआमा आआफ्नै काममा व्यस्त, छोरी मोबाइलका पब्जी गेम खेल्दै । पतिपत्नीबीच फेसबुककै कारण झगडा बढदै छ । सहकार्य, सामूहिकता र विश्वास भत्किँदै छ । एकअर्काको निजी कुराकानी पासवर्डमा कैद छन्, शंका बढ्दै जाँदा सम्बन्धहरूबीच संकट पैदा हुँदै छन् ।


बदलिँदो जीवनशैलीले निम्त्याएका यस्ता समस्याको पोकोलाई ‘घरभित्रको अर्को घर’ ले प्रस्तुत गरेको थियो । क्षितिज नाट्य समूहको प्रस्तुति र जीवन बरालको निर्देशन रहेको नाटकमा बढदो आधुनिकीकरणले निम्त्याएको परिवार विखण्डनको कथा थियो । वैदेशिक रोजगारी, बसाइँसराइ, सहरीकरणजस्ता सामाजिक/आर्थिक परिवर्तनले हाम्रो जीवनमा ल्याइरहेको बदलाब नाटकले प्रस्तुत गरेको थियो ।


वैवाहिक जीवन र प्रेमप्रतिको बदिलिँदो मनोविज्ञान, छोराछोरी र अभिभावकबीच बन्दै गइरहेको खाडल र मर्दै गइरहेको संवेदनाजस्ता पाटोले नाटकलाई मनछुने बनाएको थियो । सहरमा हाकिम बनेको छोराको सल्लाहमा गाउँको जग्गा बेचेर सहर जान लागेको एउटा बुद्ध दम्पतीलाई मूलकथा बनाइएको नाटकले सामाजिक सञ्जालकै कारण सम्बन्ध टुंग्याउने दिशातिर अघि बढिरहेको युवा दम्पतीको पनि कथा भन्छ ।


सम्पत्ति हत्याएर बाबुआमालाई सहरको वृद्धाश्रममा थन्क्याउने असंवेदशील सन्तानको प्रवृत्तिमार्फत नाटकले मर्दै गइरहेको मानवीय संवेदनाप्रति व्यंग्य गर्थ्यो ।


भरत गुरागाईंको लेखन रहेको नाटकमा निर्देशक बरालकै मञ्च परिकल्पना, सुरज माझीको प्रकाश, प्रज्वल काफ्लेको ध्वनि संयोजन रहेको छ । शुक्रबार मञ्चन गरिएको उज्वल शर्मा भण्डारीको प्रस्तुति ‘अमरसिंहको खोजीमा’ ले भने देशभक्ति र राष्ट्रियताको कथा पस्किएको थियो ।

प्रकाशित : असार ८, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?