मीतज्यू अब कता ?

महोत्सवमा मैथिली नाटक
कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै समय मैथिली रंगकर्मी राम भजन कामत घरमा पाकेको रोटी लिएर छिमेकीको घर जान्थे तरकारी माग्न । पहाडिया छिमेकीले उनको रोटीमा साग हालेर दिन्थे । विराटनगर पोखरियाका कामत यसरी नै छिमेक चहार्दै हुर्के । लोकतान्त्रिक आन्दोलनपछि भने तराईको परिवेश बदलियो ।

पहाडिया र मधेसी मनोविज्ञानले घर गर्‍यो । साग र रोटी साट्ने अवस्था बन्द भयो । भर्खरै रंगकर्ममा लागेका राम भजनलाई यो निको लागेन र नाटकमार्फत सद्भाव र सहअस्तित्वको वकालत गर्न थाले ।

राष्ट्रिय नाटक महोत्सवको अन्तिम दिन आइतबार दिउँसो राजधानीको सर्वनाम थिएटरमा उनी एउटा नाटकको रिहर्सलमा थिए । मैथिली भाषाको नाटकको नाम थियो ‘मिता आब कोना चलब’ । अर्थात ‘मीतज्यू अब कता जाने ?’ ‘यो नाटक मेरो सानैदेखिको प्रभाव हो,’ शो हुनुभन्दा ठीक अगाडि उनले भने, ‘मेरो आफ्नै भोगाइभन्दा पनि हुन्छ ।’

खासमा उनले पछिल्लो दशक मधेसमा बढ्दै गएको द्वन्द्व, त्यसले बुहसांस्कृतिक समाजमा पारेको असर र शक्तिकेन्द्रहरूको चलखेललाई नाटकमार्फत देखाउन चाहेका हुन् । यसलाई उनले नेपालीहरूको मीत लाउने संस्कृतिलाई आधार बनाएका छन् । तराईको राजनीतिक विकासक्रमसँगै दुई मीतज्यूको सम्बन्धमा आउने उतारचढावमार्फत उनले प्रतीकात्मक रूपमा तराई समाजका अप्ठ्यारालाई पस्केका छन् ।

कस्तो छ त अहिलेको तराई ? ‘पहिलेको अवस्था जस्तो तठ्याक्कै छैन,’ निर्देशक कामतले भने, ‘विभाजित मानसिकताको अप्रत्यक्ष प्रभावबाट नयाँ पुस्ता हुर्किरहेको छ । यो पुस्तालाई पुरानो पुस्ताको अन्तर्घुलन उतिसारो महसुस हुँदैन । त्यही भएर अब पहिलेको जस्तो साग र रोटी साट्ने तहको सम्बन्ध निर्माण गर्न कठिन छ ।’ तैपनि रंगकर्ममार्फत उनी प्रयासरत छन् ।

‘महाकन्जुस’, ‘धोको’, ‘मिता आब...’ जस्ता मैथिली नाटकको निर्देशन, ‘मृत सडक, जीवित आत्मा,’ ‘प्रारब्ध’, ‘एक रात’ जस्ता नेपाली नाटकको सहनिर्देशन गरेका राम भजनले यो नाटकमार्फत सद्भाव बिथोल्ने अदृश्य शक्तिको पनि कुरा गरेका छन् । जस्तो नाटकमा पहाडिया र मधेसी दुई मीत मिल्नै खोज्दा अदृश्य शक्तिले भाँडिदिन्छ । उनलाई तराईको राजनीतिपनि उस्तै लाग्छ । ‘मिलेरैआ–आफ्नो पहिचान र अधिकारको कुरा गर्दा भइहाल्छ नि,’ उनको मत छ, ‘तर, राजनीतिमा त्यस्तोभइरहेको देख्दिनँ ।’

मैथिली नाटकको दुःख
केही महिनाअघि मात्रै यही नाटकलाई उनले मैथिली भाषामै मञ्चन गरेका थिए अनामनगरस्थित मण्डला थिएटरमा । यसपटकको राष्ट्रिय नाटक महोत्सवमा यो नै एक मात्र मैथिली भाषाको नाटक हो । यद्यपि यो नाटक महोत्सवमा ‘सट्टामा’ मञ्चन गरिएको थियो, त्यही भएर आइतबार दिनभर कामतले हतारोको रिहर्सल खेप्नुपर्‍यो ।

खासमा एमआर्ट थिएटरको प्रस्तुतिमा वीरेन्द्र हमालको नाटक ‘कजरी’ महोत्सवका लागि छानिएको थियो । यो नाटक तयार नभएपछि आयोजक संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले राम भजनको नाटकलाई सट्टामा मञ्चन गरेको हो ।

महोत्सवको समापन नाटक बनेको ‘मिता आब कोना चलब’ हेर्न दर्शक खचाखच पुगेका थिए । राम भजन खुसी नहुने कुरै भएन तर मैथिली भाषाको नाटकलाई ‘सट्टा’मा मञ्चन गर्नुपर्दाको दुःख भने उनले व्यक्त गरेनन् । उनी मक्ख नै थिए ।

हाल राष्ट्रिय नाचघरको जागिरे समेत बनेका उनी राजधानीमा मैथिली रंगकर्म गर्ने पछिल्लो पुस्ताका प्रतिनिधि पात्र हुन् । नेपाली रंगमञ्चले नयाँ विषय र प्रस्तुति खोजी गरिरहेको बेला उनको अनुभव भने मिश्रित छ । मिथिला नाट्य कला परिषद् (मिनाप) र लोक सञ्चारपछि राजधानीमा मैथिली भाषी नाटक भित्र्याउने जस उनैलाई जान्छ । हालै मण्डलामा मैथिली नाटक मञ्चनको अनुभव कस्तो रह्यो त ?

‘धेरैले प्रचार प्रसारकै कमी भयो भने’, उनले भने, ‘त्यही भएर दर्शक कम आए । नाटक नाफामा जान सकेन ।’ यद्यपि जति दर्शक आए, तिनले नाटकको खुलेर प्रशंसा गरेको उनले बताए ।

विषयवस्तु, प्रस्तुतिदेखि सामयिक प्रभावको पाटोबाट समेत नाटकको धेरैले प्रशंसा गरेको उनको अनुभव छ तर आर्थिक हिसाबले भने नाटक घाटामा गयो । ‘सहरमा मातृभाषी रंगकर्म पैसा कमाउने तहमा पुग्न सकेको छैन’, उनले भने ।

प्रकाशित : असार ९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट नेपालमा आएर मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति दिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एकसय १४ जना कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ । 

बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।

करार अवधिभित्र बिरामी भइ स्वदेश फर्किएर उपचारको क्रममा मृत्यु भएका तथा विदामा स्वदेश फर्किएको अवस्थामा बिरामी भै उपचारको क्रममा मृत्यु भएकालाई क्षतिपूर्ति दिने बाटो खुलेको बोर्डका कार्यकारी अधिकृत राजन श्रेष्ठले बताए ।

बोर्डले करार अवधिभित्र कोमामा उपचाररत तथा पक्षघातबाट हिडडुल गर्न नसक्ने अवस्थामा रहेकालाई नेपालमा ल्याई उपचार गर्नको थप अध्ययन गर्नको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ ।

कार्यदलमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियनका तर्फबाट सदस्य र बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गरेको छ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भिर प्रकृतिका बिरामीहरुको संकलित तथ्यांकहरु माथि छानबिन गरी नेपाल ल्याउने प्रक्रिया/मापदण्ड, नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्नेछ ।

दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, युएई लगायतका मुलुकका विभिन्न अस्पतालमा २८ जना नेपाली कामदार उपचाररत छन् ।

बैठकले साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका बाग्लुङका तेजेन्द्र भण्डारीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । तेजेन्द्रको शव परिवारले पाएको थिएन ।

उनको शवलाई मोरङका सुवास तामाङ भनी पठाइएको थियो । तेजेन्द्रको शवलाई सुवासको ठान्दै सुवासको परिवारले तामाङ संस्कार अनुसार अन्त्येष्टि गरि बोर्डबाट राहत रकम लिएका थिए । आर्थिक सहायता समेत प्राप्त गरिसके पश्चात् साउदीमै उपचार सकेपछि सुवास तामाङ जीवितै नेपाल फर्केका थिए ।

बैठकले मृतक तेजेन्द्र भण्डारीको हकमा निजको वृद्धआमा र नाबालकलाई क्षतिपूर्तिवाफत आर्थिक सहायता उपलब्ध गराउने र सोही घटनामा अर्को पीडित सुवास तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताको सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत् सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार ९, २०७६ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्