१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घरका भित्तामा प्रकृति

ठाकुरसिंह थारू

बर्दिया — जिल्लाको ठाकुरद्वारा पुग्नुहोस् या सतकलुवा । थारू होमस्टे पस्नासाथ घरको भित्तामा वन्यजन्तु र चराचुरुंगीको आकृति देख्न पाइन्छ । माटोले बनाइएका ती मूर्तिले थारू लोककलामात्रै दर्साउँदैनन् उनीहरूको जीवनसँगै जगतको पनि चित्रण गर्छ ।

घरका भित्तामा प्रकृति

घरको भित्तामा वन्यजन्तु र चराचुरुंगीको आकृति बनाउनुको कारण के हुन सक्छ ? थारू संस्कृति तथा कला अध्येताहरू भन्छन्– ‘उनीहरू प्रकृतिप्रेमी समुदाय हुन् । प्रकृतिसँग उनीहरूको साईनो पुस्तौंदेखि जोडिएको छ ।’


हुन त कुनै समय थारू समुदाय फिरन्ते थियो भनिन्छ । थारू संस्कृतिकर्मी सोम डेमनरौराका अनुसार ‘उनीहरूले वनजंगल फँडानी गरेर बन्जड भूमिलाई गुल्जार बनाए । जंगली जनावरसंग पौठेजोडी खेले । बाघ, भालुलगायतका जंगली जनावरसंग लडे । सर्प, बिच्छीसँग संघर्ष गरे । जंगलमै कैयौं पुस्ता बिते ।’ त्यसैले उक्त समुदायलाई प्रकृतिप्रेमी मानिएको हो । ‘घरको भित्तामा बाघ, भालु, घोडा, हात्ती, चित्तललगायतका वन्यजन्तुको आकृति बनाउने चलनले पनि यही बताउँछ,’ उनले भने ।


यस्ता चित्रमा मयूरलगायतका चराचुरुंगीलाई पनि स्थान दिइन्छ । घरपलुवा चौपायाको पनि आकृति देख्न सकिन्छ । ‘वन्यजन्तुलाई घरको भित्तामा स्थान दिनु भनेको थारू समुदाय र जंगलबिचको साइनो हो,’ डेमनरौरा भन्छन्, ‘कहिलेबाट भन्ने छैन, परम्पराको हिसाबले चल्दै आएको हुनाले यो पुर्खाबाटै मूर्ति बनाउने परम्परा हस्तान्तरण हुँदै आएको मान्न सकिन्छ । यस कारण यी कलाले थारू पुर्खाको पनि जीवन कथा बोल्छ ।’


वन, नदी, खोलानाला छेउमा बस्न रुचाउने थारू समुदायको जीवन प्रकृतिमा निर्भर हुनु स्वाभाविक पनि छ । घाँस, दाउरा मात्रै होइन, थारू हस्ताकला सामग्री पनि जंगलमै निर्भर छ । जंगलमा पाइने खर, झारबाट थारू समुदायले बेना, ढकिया, गोंरी, फेरवा, डिलियालगायतका समान बनाउँछन् । नदी, खोलामा माछा मार्छन् ।


‘थारूको जीवन प्रकृतिमै निर्भर छ । त्यही भएर भित्ते चित्रमा पनि प्रकृति र वन्यजन्तु आएको हो,’ अर्का संस्कृतिकर्मी शिवराम चौधरी भन्छन्, ‘थारू समुदायले वन्यजन्तुदेखि चराचुरुंगीको समेत सम्मान गर्छ भन्ने पुष्टि कलाले पनि गर्छ ।’ घरहरूमा निजी ढंगले बनाइने मूर्तिको स्याहार सम्भारसम्बन्धी आफ्नै परम्परा पनि छ ।


खासगरी थारू समुदायमा चैत या वैशाखमा घर बनाउने चलन हुन्छ । बनाइसकेपछि भित्ता सजावटको रूपमा माटोको माध्यमबाट मूर्ति बनाइन्छ । यस्ता मूर्तिकलाहरूमा बेलाबेला लिपपोत गरिरहनुपर्ने हुन्छ ।

प्रकाशित : असार ११, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?