कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरानीमा हँसिला आदिवासी

सुशीला तामा‌ङ

काठमाडौँ — व्यस्त ठमेल बजारकै आडमा छ दलाइ–ला आर्ट स्पेस । भित्तामा सिरानी अनि सिरानीमा उज्याला अनुहारहरू । मुलुकका विभिन्न आदिवासी आकृति नियाल्दै गर्दा कलापारखीहरू छक्क पर्छन् । 

सिरानीमा हँसिला आदिवासी

चित्रकार मनीषलाल श्रेष्ठको काम नै यस्तो छ । उनले क्यानभास हैन, सिरानी रोजे । कलर हैन, रंगचंगी धागो खोजे । तिनै धागोलाई सम्बन्धका अनेक आयाममा व्याख्या गर्दै कलाकृति बनाए । दुई सातादेखि जारी प्रदर्शनी मनीषले साँच्चिकै सिर्जनशील काम गरेका छन् । दिवंगत आमालाई समर्पित गर्दै करिब एक वर्षअगाडि सिरानी सिरिजमा उनले कलाकृति बनाउन थालेका थिए । ब्ल्याक एन्ड हाइट रंगमा धागोको माध्यमद्वारा तयार पारिएको कलाकृतिको धेरैले प्रशंसा गरे । त्यतिबेला उनले आमाको सम्झनास्वरूप सादा रंग मात्रै चलाएका थिए ।


यति बेला भने उनकी रंगीचंगी सिरानी सिरिजतिर लिएर आएका हुन् । उनले सर्वसाधारणलाई समर्पित गर्दै विभिन्न रंगका धागोलाई कलामा प्रस्तुत गरेका छन् । प्रदर्शनीमा राखिएका १ सय चौध कलाकृतिहरूमा १ सय ८ वटा इन्स्टलेसन र ६ वटा धागोका क्यानभासहरू छन् ।


सिरानी पोट्रेट आर्टमा देशभित्र छरिएर बसेका विभिन्न जनजातिहरूका संघर्षको कथालाई बुझेर र तिनीहरूको मुखाकृतिलाई प्रस्तुत गरेको उनले जनाए । प्रदर्शनीमा रहेको ऊनले बनाएको धागोको कलामा भने दुई वर्षअघि उनले गरेरको ‘प्रोजेक्ट १३३६’ बाटै प्रभावित देखिन्छ । त्यति बेला उनले तयार गरेको १ हजार ३ सय ३६ मिटर लामो इन्स्टलेसन धागोको कलालाई लगभग ४ सय जनाले बोकेर काठमाडौंको बौद्ध महाचैत्यलाई परिक्रमा गरेका थिए ।


‘समाज धागोजस्तै रंगीचंगी देखेँ, मेरा कला हेर्न आउनेहरू पनि रंगीचंगी नै देखें,’ उनले अनुभव बताए, ‘तिनै मानिसबिचका सम्बन्ध धागोमार्फत फेरि पस्किन चाहेको हुँ । किनभने धागोले सम्बन्ध जोड्छ ।’ यसका लागि मेचीदेखि महाकालीसम्मको यात्रामा भेटिएको पात्रहरूको पोट्रेट लिएर सिरानी सिरिजमै सजाएको उनले बताए । उनका अनुसार सिरानीमा रहेको पोट्रेटहरू विभिन्न उमेर, लिंग, जात, पेसा र धर्मका छन् । प्रायः सबैजनाको मुहारमा उमंगको हाँसो छ ।


‘जुनसुकै स्थान र पेसामा भए पनि आफ्नो देशमै रहेर उनीहरू आफ्नै इलम गरिरहेका छन्,’ उनी भन्छन्, ‘उनीहरूलाई विदेशी भूमिमा गएर कमाउने कुनै लोभलालच छैन । आफ्नो जे छ, त्यसैमा सन्तुष्ट छन् ।’ स्वदेशमै बसेर पनि थुप्रै मानिस खुसी र सन्तोषको जीवन जिइरहेको देखाउनु आफ्नो कलाको उद्देश्य रहेको श्रेष्ठ बताउँछन् । यात्राकै क्रममा उनले धेरै ठाउँमा घरमा नै बसेर ऊनको धागो बनाई आयआर्जन गरिरहेको महिलाहरू देखे । उनीहरूको कामले प्रभावित भएर नै उनले त्यसलाई कलामा उतारेको बताए ।

प्रकाशित : असार १३, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?